Comments Add Comment

‘चर्चित’ हुँदैमा बेलायतले भिसा दिँदैन

london

कमल कँडेल

१४ माघ, काठमाडौं । नेपालमा विभिन्न पेशा-व्यवसायमा रही नाम चलेका र सरकारका उच्चपदस्थ व्यक्तिहरुले सामान्यतया भन्नेबित्तिकै बेलायतको भिसा पाउने गरेको देखिन्छ । तर, पनि यस्ता ‘मै हुँ’ भन्नेहरुलाई पनि बेलायतले भिसा दिन इन्कार गरेका उदाहरण पनि थुप्रै छन् ।

बेलायतको भिसा नपाएपछि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदिप नेपालले आजीवन बेलायत नजाने प्रण नै गरेका छन् । विगतमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालादेखि पत्रकार किशोर श्रेष्ठ सम्मका व्यक्तिहरुका भिसा आवेदनलाई पनि बेलायतले इन्कार गरेको खबर आएका थिए ।

बेलायतको भिसा पाउनबाट वञ्चित सेलिबि्रटीहरु पनि थुप्रै छन् । केही समयअघि नेपाली गायिका ज्योती मगरलाई बेलायतले भिसा दिन अस्वीकार गर्‍यो । त्यसअघि चर्चित गायिका अञ्जु पन्तले पनि बेलायतको भिसा नपाएका उदाहरण छन् ।

किन बेलायतले ‘ठुलाबडा र चर्चित’हरुको भिसा आवेदन पनि इन्कार गर्छ त ?

बेलायती अध्यागमन कानुनअनुसार भिसाका लागि सामान्यता मुख्य दुई कुरामा अध्यागमन अधिकारीहरु सन्तुष्ट हुनैपर्छ ।

· पहिलोः आवेदकले बेलायत यात्राका लागि खर्चको व्यवस्था आफैंले वा आमन्त्रण गर्नेले सजिलै बेहोर्न सक्छ ।

· दोस्रोः आवेदक बेलायत भ्रमण सकिएपछि तोकिएको समयमै नेपाल र्फकन्छ ।

पहिलो शर्त पुरा गर्न गाह्रो नभएपनि दोस्रो शर्त अमुर्त भएको कारण पुरा गर्न अलि अप्ठेरो हुन्छ । धेरै आवेदन यसै कारण अस्वीकार गरिएको देखिन्छ । यसकालागि दुतावास अधिकारीले आवेदकको आफ्नो देशसँगको निकटता हेर्ने गर्दछन् । सम्पत्ति, प्रतिष्ठा र परिवारजनलाई पनि ध्यान दिन्छन् ।

यी दुई बाहेक भिसा आवेदन स्वीकृत गर्नुअघि बेलायती दुतावासका अधिकारीले विचार पुर्‍याउने कुराहरु यी हुन् ः

कः आवेदकले शरणार्थीको आवेदन गर्ला भन्ने आशंका

सामान्य नागरिकले मात्र होइन अति विशिष्ट मानिएका नेपालीहरुले पनि शरणार्थीको आवेदन गरेका कारण दुतावासका अधिकारीले शंकाको दृष्टिले हेर्ने गर्दछन् । बेलायतकालागि नेपाली पूर्व राजदुत मुरारीराज शर्मालाई उपेन्द्र यादवले परराष्ट्रमन्त्री हुँदा बर्खास्त गरेपछि शर्मा नेपाल नफर्की शरणार्थीको रुपमा बेलायतमै बसेका थिए ।

खः आंफैसँग लगेकालाई जहाँ लग्यो त्यहीँ छोडेर फर्किनु

Kamal-kandel
लेखक

यदि कोही कलाकार तथा नेताले पहिला आफुसँगै लगेका नक्कली तथा सक्कली कलाकार तथा कार्यकर्ताहरुलाई लण्डनको चिसोमा छोडेर हिँडेका रहेछन् भने उनीहरुको भिसा अस्वीकार हुने सम्भावना धेरै हुन्छ ।

गः पहिला गरिएको यात्रामा तोकिएको समयभन्दा बढी बस्नु

विगतमा आवेदनमा लेखिएको समयभन्दा बढी बस्नाले पनि आवेदन अस्वीकार हुने सम्भावना बढी हुन्छ । भिजिट भिसा सामान्यतया न्युनतम ६ महिना हुने भए पनि आवेदन भर्दा बेलायतमा बस्ने समय थोरै लेख्ने तर फर्किने बेलामा धेरै समय बिताएर फर्किनेहरुको भिसा अस्वीकार हुन सक्छ ।

घः निमन्त्रणा गर्ने मानिसको पृष्ठभुमि

बेलायतको भिसा लिने क्रममा निमन्त्रणापत्र कसले पठायो भन्ने कुरा पनि महत्वपुर्ण हुन्छ । दुतावासका अधिकारीहरुले निमन्त्रणा गर्नेको व्यक्तिगत, पारिवारीक तथा सामाजिक पृष्ठभुमीलाई पनि मध्यनजर गर्ने गर्दछन् ।

ङः दूतावासका अधिकारीहरुको गल्ती

सबै प्रक्रिया पुराएर राम्रोसँग तयार गरिएको आवेदन पनि दूतावासका कर्मचारीहरुको लापरवाही तथा गल्तीका कारण अस्वीकार हुन सक्छ । यस्तो अवस्थामा सामान्य इमेल तथा फ्याक्स पठाएर पनि निर्णय उल्टाउन सकिन्छ ।

चः चाहिने कागजपत्र नबुझाउनु

भिसा आवेदनका बेला कतिपयले मलाइ नचिन्ने को छ र भन्ने दम्भ पनि देखाउने गरेका छन् । उनीहरुले आवश्यक कागजपत्रहरु आवेदनसँगै नबुझाउने गरेका कारण भिसा अस्वीकृत हुने गर्दछ । सामान्यतया दुतावासका कर्मचारीले वहाल रहेको अध्यागमन नियम-कानुनको अधिनमा रही सबै आवेदन हेर्ने हुँदा आवश्यक कागजपत्र सबैले बुझाउनैपर्ने हुन्छ ।

छः आपराधिक, आतंककारी तथा शंकास्पद क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न देखिनु

आपराधिक मात्र होइन, शंकास्पद पृष्ठभूमि भएका संघ-संगठनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिनाले पनि भिसा अस्वीकार हुन सक्छ । पूर्वमन्त्री तथा साहित्यकार प्रदिप नेपालले भिसा अस्वीकार हुनुको कारण आफ्ना प्रकाशित लेखहरु हुनसक्ने बताएका थिए । उनले यसअघि पनि दुईपटक बेलायत भ्रमण गरिसकेका थिए । बेलायतको गृहमन्त्रालयले घोषित तथा अघोषित रुपमा निश्चत व्यक्तिहरुलाई देश प्रवेशमा रोक लगाएको हुन्छ ।

कोइरालाको औंठाछाप नहुँदा

सन् २०१२ मा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शुसील कोइरालाको भिसा आवेदन बेलायती दूतावासले अस्वीकार गरेको थियो । दूतावासका अधिकारीहरुले कोइरालालाई भिसा नदिनुको कारण भिसा आवेदनको क्रममा औंठा छाप नहुनु थियो ।

(भूल सुधार: यो लेख सम्पादनका क्रममा भूलबस महजोडीले समेत बेलायत जाने भिसा नपाएको भन्ने पर्न गएकाले क्षमाप्रार्थीसहित सच्याएका छौं-स.)

 लेखक कमल कँडेल बेलयतमा अध्यगमन कानुन ब्यवसायीका रुपमा काम गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment