अधिवक्ता बसन्त गौतम
माघ १६ अर्थात सहिद दिवस । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै छ । सहिद दिवसका अवसरमा देश र जनताको लागि जिवनकै आहुती दिने ति महान सहिदहरुलाई सम्झिने र उनीहरुले देखाएको सतमार्गको अनुशरण गर्ने प्रतिवद्धता जनाइन्छ । तर ब्यवहारमा सहिदले देखाएको मार्ग अनुशरण नगर्ने तर देखाउनैका लागि बर्षमा एकपटक सम्झेजस्तो गर्ने प्रवृत्तीले सहिद दिवस औपचारिकताका सीमित हुने गर्दछ । देश र जनताको सुन्दर भबिश्यको कामना गर्दै नेपालमा सयौं ब्यक्तिले ज्यानको आहुती दिएता पनि सहिदका कैयौ सपना पूरा भएका छैनन् ।
सामान्यतयाः देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर नेपालमा अपराधिक समुहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई राजनैतिक दवावमा सहिद धोषणा गरेको देख्दा देशको लागि बलिदानी दिने ब्यक्ति सहिद हुन् वा दलप्रतिको वफादार राजनैतिक कार्यकर्ता भन्ने भ्रम सृजना गरेको छ । देशको स्वार्थका लागि लड्दालड्दै ज्यानको आहुती दिने ब्यक्तिलाई राज्यले सहिदको सम्मान दिन मृतकको देश र जनता प्रतिको त्याग र समर्पण हुनु पर्दछ । तर कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य हो ।
बिसं १९९७ सालमा तत्कालिन राणा शासनको बिरोधमा उत्रने क्रममा ज्यानको आहुती दिन तयार भएका शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल सहिद हुन् । त्यस पछिका लोकतात्न्त्रिक आन्दोलनहरुमा देश र जनताको पक्षमा निर्भयताका साथ ज्यानको बाजी लगाएर लोकतन्त्रको स्थापमा मद्दत पुर्याउनेहरु सहिद हुन् । देश र जनताको लागि ज्यानको आहुती दिने ब्यक्तिहरु सहिद हुन् ।
सहिदको हुन् त भन्ने प्रसङ्गमा छलफल गर्नु पर्दा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत शब्दकोषमा ‘आफ्नो देश संस्कृती र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तीका निम्ति बलिदान भएर लोक हितमा लाग्ने अमर ब्यक्ति’ सहिद हुन् भनेको छ । यस्तै नेपाली शब्द सागरले ‘कुनै पनि शुभ परिणामका निम्ति लाग्दा लाग्दै प्राण गुमाउने तथा देश जाती र जनताको सुखको निम्ति संघर्ष गर्दा मरेको ब्यक्तिलाई सहिद’ मानेको छ ।
सरकारले सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरिनु पर्दछ
२०६२/६३ सालको जनआन्दोलन पछि दलको सिफारिसका आधारमा धेरै ब्यक्तिलाई सहिदको बनाउन थालिएपछि सहिद परिवारका १२ जना सदस्यले सहिदको अपमान गरेको भन्दै सरकार समक्ष सामूहिक आत्मदाहको चेतावनी दिएका थिए । दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन राज्य र बिद्रोही माओवादी पक्षबाट मारिएका सबैलाई सहिद बनाउने घोषणा पछि यस्तो सहिद परिवारले यस्तो आक्रोस पोखेका थिए । त्यस पश्चात यस बिषयलाई सम्बोधन गर्न भन्दै साहित्यकार मोदनाथ प्रश्रतिको अध्यक्षतामा एक समिति बनाईएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा झण्डै आठ हजार पाँच सय जनालाई सहिद घोषणा गरी एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको थियो । त्यसमा अचम्मको कुरा त के थियो भने उक्त संख्यामा करिव दुई हजारको त नाम थर समेत खुल्न सकेको थिएन । त्यसबेला उक्त कार्यको बिशेषगरी नेपाली कांग्रेसले चर्को बिरोध गरेको थियो । तर उसको बिरोध पनि धैरै समयसम्म टिक्न सकेन । कांग्रेसले पनि आफू सत्तामा भएकाबेला निश्चित मापदण्डबिना सहिद घोषणा गर्ने कार्यलाई साथ दिनपर्यो । कांग्रेस समेतको समर्थनमा बनेको माधवकुमार नेपालको सरकारले सत्ता साझेदार २२ दलको समर्थनमा युद्ध र अन्यबेला मारिएका सुरक्षाकर्मी, राजनैतिक कार्यकर्ता र अन्यगरी झण्डै चार हजार ब्यक्तिलाई सहिद घोषणा गरेको थियो ।
मापदण्डका आधारमा सहिदको घोषणा गर्ने भन्दा पनि दलहरुले आफ्ना कार्यकर्ता समर्थक मारिएको अवस्थामा सहिद घोषणा गर्ने परिपाटी बसाएका छन् । पहिलो संविधान सभाको निर्वाचन अघि भएको मधेस आन्दोलनका क्रममा मारिएका ५३ जनालाई मधेसवादी दलहरुले सहिद माने । तिमध्ये केहीलाई सरकारले मधेसी सहिदको घोषणा गरिसकेको छ । कार्य क्षेत्रमा खटिएर मारिएका निजामति कर्मचारीलाई निजामति सहिद मानियो भने सेना र प्रहरीको कार्यक्षेत्रमा मृत्यु हुनेलाई पनि सहिद मानेको देखियो । फरक बिचार राखेर आन्दोलनमा उत्रेका ब्यक्तिलाई आन्दोलन दवाउने नाममा सत्तापक्षले हत्या गरेको अवस्थामा त्यस्ता ब्यक्तिलाई सहिदको घोषणा गरिनुलाई अन्यथा भन्न सकिदैन तर नेपालमा निश्चित मापदण्ड अपनाई सहिदको घोषणा गर्ने परिपाटी बसाउन भने सकेको देखिदैन ।
कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य हो ।
हाम्रा राजनैतिक दलहरुको राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिना जथाभावी सहिद घोषणा गर्ने प्रवृतीले सहिदको परिभाषा सस्तो बनेको भान हुन थालेको छ । सहिद भन्नासाथ शिर निहुरिने, हृदयदेखि श्रद्धाभाव जाग्नु पर्नेमा फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका, तोडफोड र हिंसात्मक गतिबिधिमा उत्रदा वा कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा मात्र सहिद घोषणा गर्ने कार्यले वास्तविक सहिदको योगदानलाई समेत फिका बनाउनमा मद्दत पुर्याएको छ । राजनैतिक दलहरुले आफ्ना समर्थक भएकै आधारमा निश्चित मापदण्ड बिना सहिद घोषणा गरेपछि सर्वसाधारणले त्यसको सिको गरी दवावमा सहिद घोषणा गराउन खोज्ने कुरालाई अन्यथा मान्न सकिन्न । यसको लागि सरकारले सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरिनु पर्दछ ।
अन्तमा औपचारिकताका लागि मात्र सहिद दिवस मनाउनु भन्दा उनीहरुले देखाएको सतमार्ग हिँड्नु र उनीहरुको योगदानको उचित कदर गर्नु नै सहिद प्रतिको सच्चा सम्मान हो । जुन उद्देश्य र लक्ष्यका साथ सहिदहरुले सहादत प्राप्त गरेका थिए त्यहि उद्देश्य र लक्ष्य हासिल गर्न प्रतिबद्ध भै लागेमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ ।
देशमा देखिएको बर्तमान संकटपुर्ण घडीलाई सहिदहरुले देखाएको मार्गको माध्यमबाट निकाश पहिल्याई शान्ति कायम गर्ने मार्गमा लाग्न अब ढिला गरिनु हुदैन । सरकार र आन्दोलनरत मधेसी मोर्चा आ-आफ्ना हठ र दलीय स्वार्थभन्दा माथी उठेर सहिदले देखाएको बाटो पहिल्याउँदै देश र जनताको हितमा काम गर्न सकेको खण्डमा नै सहिद प्रतिको सच्चा सम्मान गरेको ठहर्नेछ । भो अव त अति भयो जनता अझै हत्या हिंसाको मार सहन गर्नसक्ने स्थितिमा छैनन् । यसो भएको हुनाले प्रमुख राजनैतिक दलहरुले देश र जनताको सर्वोत्तम हितमा काम गर्न अनि सहिदले देखाएको बाटोमा लाग्न सहिद दिवसले सबैमा प्रेरणा दियोस् भन्ने कामना । देश र जनताका लागि आफ्नो जिवनको आहुती दिने ति तमाम महान सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली ।
(लेखक अधिवक्ता हुन्)
प्रतिक्रिया 4