+
+
Shares

भारतले विमानस्थलबाटै दियो प्रधानमन्त्री ओलीलाई ‘सरप्राइज’

७ फागुन, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण दललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्न भारतीय राज्यमन्त्री आउने चर्चा थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ७ गते २०:२४

SushmaSwaraj-welcome-Kp-oli

चिरञ्जीवी पौडेल/ सामाचार टिप्पणी

७ फागुन, नयाँ दिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण दललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्न भारतीय राज्यमन्त्री आउने चर्चा थियो ।

भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले पत्रकारहरुसँग ओलीलाई राज्यमन्त्रीले स्वागत गर्ने सूचना आएको बताएका थिए । तर, उपाध्याय र पत्रकारलाई एकैचोटी जिल्याउदै विमानस्थलमा आइन् विदेशमन्त्री सुश्मा स्वराज ।

भारतले नेपाली टोलीलाई रिसिभ गर्न विदेशमन्त्री सुष्मा स्वराजलाई पठाउनु एक प्रकारले अनपेक्षित देखियो । र, यो विमानस्थलबाटै भारतले दिएको पहिलो ‘सरप्राइज’ पनि हो नेपालका लागि । हेरौं अबको ६ दिनमा भारतले यसैगरी के-कस्तो सरप्राइज दिएर फिर्ता पठाउने हो नेपाली टोलीलाई ।

विगतमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको स्वागतमा पनि भारतले यसैगरी विदेशमन्त्रीलाई पठाएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पछिल्लो भ्रमणमा भने उनलाई लिन तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह नै विमानस्थलमा आएका थिए ।

यस्ता अपवादवाहेक नेपालका प्रधानमन्त्रीलाई रिसिभ गर्न प्रायः राज्यमन्त्री वा सचिवहरुलाई पठाउने गरेको भारत सरकारले शुक्रबार केपी ओलीलाई स्वागत गर्न विदेशमन्त्रीलाई पठाएर फरक सन्देश दिन खोजेको छ । सम्भवतः उसले नाकाबन्दीपछि चित्त दुखाएको नेपाललाई खुशी पार्न र विगतलाई बिर्साउन यो शैली अपनाएको हो ।

शुक्रबार अपरान्ह दिल्ली उत्रिएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भ्रमण दलका साथ राष्ट्रपति भवनतर्फ लागेका छन् । त्यहाँ केहीबेर आराम गरेपछि उनी नेपाली दूतावासमा आयोजित ‘प्रजातन्त्र दिवस’ मा सहभागी हुँदैछन् । र, भ्रमण अवािधमा उनको बास राष्ट्रपति भवनमै हुनेछ । ओलीलाई दिइएको यो अर्को विशेष सम्मान हो ।

त्यसो त भारतीय राष्ट्रपति प्रणव मुखर्जीकै चाहनामा केपी ओलीलाई खुशी बनाएर पठाउन ध्याउन्नमा दिल्ली रहेको चर्चा चलिरेहेको छ । सद्भावना भ्रमण भनिएको यो यात्रामा भारतले नेपाली टोलीलाई राम्रो ‘खातिरदारी’ गर्‍यो भने त्यसले दुई देशको सम्बन्धमा देखिएका दरारहरु धेरै हदसम्म निस्तेज हुने अनुमानका आधारमा भारतीय राष्ट्रपतिले यस्तो इच्छा व्यक्त गरेका हुन सक्छन् ।

कूटनीतिमा फ्याक्ट मात्र होइन, ‘फ्याक्टर’ हरुको पनि भूमिका रहन्छ । भावनात्मक एवं स-साना विषयले पनि यहाँ महत्व राख्छन् । यो कुरा बुझेरै हुनुपर्छ भारतले विमानस्थलमा नेपाली टोलीको स्वागत गर्न राज्यमन्त्रीलाई पठाएन । यो भारतको चिप्लो कूटनीति पनि हो ।

नेपालका प्रधानमन्त्रीलाई न्यायो स्वागतबाट मख्ख बनाएर उसले भविष्यमा आफ्ना ठूलो स्वार्थपूर्तिका निम्तो दाउ हेरिरहेको छैन भन्न सकिन्न । यो खातिरदारीबाट गदगद भएर ओली भारतीय एजेन्डामा आफूलाई ढल्काएर फर्किन्छन् कि चिप्लोघसाइलाई बुझेर आप\mनो एजेन्डामा दृढ रहन्छन् भन्ने परिक्षण अबका केहि दिनमै हुनेछ ।

नेपालमा आएका बेला जनकपुर जान नपाई फर्किएका राम जानकीका भक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलीको सत्कारमा कुनै कमी आउन नदिई ‘भगवान राम’ को आदर्शवादी नीति प्रदर्शन गर्न खोजेका हुन सक्छन् । मोदीलाई पक्कै पनि थाहा हुनुपर्छ, उनले केपी ओलीलाई प्रशन्न एवं सम्मानित महसुस गराएर पठाए भने नेपाल भारतवीच बढेको चिसोपनमा अहिलेको परिवर्तित मौसमसँगै न्यानोपन सुरु हुनेछ ।

हारेको भारत, थाकेको नेपाल

पाँच महिनासम्म नेपालमाथि नाकाबन्दी लगाएर भित्रभित्रै आत्मग्लानीमा परेको भारत साग फुटबल हारेका खेलाडीजस्तै बनेको छ । नेपाल भने नाकाबन्दीको मारमा परेर थिल्थिलो बने पनि जितेको ‘मुड’मा छ ।

विगतमा बलभद्र कुँवरलाई अंग्रेजहरुले नालापानी किल्लामा पानीको मुहानसमेत थुनेर नाकाबन्दी गरेका थिए । तर, उनीहरु बाहिर निस्कँदा अंग्रेजले हारेको महसुस गरे । त्यसैका आधारमा अहिलेसम्म अंग्रेजहरुले नेपालीलाई वीर गोर्खाली जाति मान्दै आएका छन् । र, मोदीले पनि नेपाल भ्रमणका बेला गोरखालीका बारेमा यसै भनेका थिए ।

भारतले केही दिनमै नाकाबन्दी लगाएर नेपाललाई तबाह बनाउने सोचेको थियो । तर, सकेन । नेपालीहरुले नाकाबन्दी पचाइदिए । भुटानलाई जस्तो काठमाडौंलाई ठप्प पार्ने भारतीय प्रयास असफल भयो । र, अहिले भारत आफ्नै कुनियतका कारण हारेजस्तो, लजाएजस्तो मुद्रामा छ । र, नेपालचाँहि आफूले कुनै गल्ती नगरेका कारण नाकाबन्दीबाट थाकेर पनि प्रसन्न छ ।

र, सँगै कालो पनि

त्यसो त इन्दिरा गान्धी विमानस्थलमा सुष्मा स्वराजले स्वागत गरेलगत्तै विमानस्थल बाहिर जेएनयुका केही विद्यार्थीले मधेसको मुद्दामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने प्रयास गरे । यसले नेपाल-भारत सम्बन्धमा अझै कालो छ भन्ने देखाएको छ ।

तर, प्रधानमन्त्री केपी ओलीले अब दिल्लीलाई भन्न सक्नुपर्छ कि उसले मधेसको कुरा उठायो भने ओलीले कन्हैयाको कुरा सोधे हुन्छ । हार्दिक पटेलको कुरो सोधे हुन्छ । ६० वर्ष पुरानो लोकतन्त्रको अभ्यास गरेको भारतमा वाक स्वतन्त्रता भएन भनेर जेएनयुका विद्यार्थीले दिल्लीमा प्रदर्शन गरिरहेका छन् । यो प्रदर्शनबाट नेपाली भ्रमण दलको सवारीमा समेत असर पर्ने अवस्था छ ।

बोलेकै आधारमा विद्यार्थीलाई गिरफ्तार गरिएको र अदालतमै पिटिएको घटनाले दिल्ली तातिरहेको छ । यो अवस्थामा भारतले नेपालको संविधानमा मधेसीलाई अधिकार किन दिइएन भन्ने प्रश्न उठाएको अवस्थामा प्रधानमन्त्री ओलीले उनीहरुलाई मुखभरिको जवाफ देलान् कि नदेलान् ? भारतले नेपालको लोकतन्त्रका सिक्नुपर्छ भन्न सक्लान् ? नेपालको संविधान भारतको भन्दा समावेशी र लोकतान्त्रिक छ भनेर सम्झाउन नेपालका प्रधानमन्त्रीले सक्लान् ? या भारतीयहरुको खातिरदारीको प्रभावमा परी उपदेश सुनेर र्फकलान् ? नेपालको इज्जत र प्रतिष्ठा यसैमा निर्भर रहनेछ ।

र, प्रधानमन्त्रीले भारतलाई यति सिकाउन सके भने सरप्राइज दिन खोजिरहेको दिल्ली आफैं सरप्राइजमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?