सिड्नी । प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहि मार्च ४ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नी शहरमा आयोजित दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ ।
‘सदभावका लागि महिला साहित्य’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
गैरआवासीय नेपाली संघ पछिको ठूलो र बिस्तृत सन्जालको रुपमा स्थापित साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित तीनदिने सम्मेलनलाई अनेसास अस्ट्रेलियाले ब्यवस्थापन गरेको थियो ।
महोत्सवको पहिलो दिन गत शुक्रबार विश्वका विभिन्न ठाउँबाट र अष्ट्रेलियाकै विभिन्न राज्यहरुबाट आएका अतिथिहरुलाई स्वागतस्वरूप रात्रिभोज आयोजना गरिएको थियो । उक्त अवसरमा अनेसास अस्ट्रेलियाले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेको थियो ।
अनेसासका केन्द्रीय उपाध्यक्ष साहित्यकार भीमसेन सापकोटा तथा भिक्टोरियाबाट प्रतिनिधित्व गरेका साहित्यकार तथा गायक दिक्पाल देव पंगेनीले संयुक्तरुपमा सञ्चालन गरेको रात्रिभोजमा सिड्नीका स्थापित हाँस्यकलाकार भुपेन्द्र चुडालले दर्शकहरुलाई पेट मिचिमिची हँसाएका थिए ।
यसैगरी चर्चित नेपिन्डो ग्रुपबाट नृत्य प्रस्तुत भएको थियो । अनेसास अस्ट्रेलियाका महासचिव तथा ‘हलचल’ गायक विकाश उप्रेतीले गायनबाट मनोञ्जन दिएका थिए । पहिलो दिनको उक्त रात्रि भोजमा सम्मेलनको प्रमुख अतिथी डा. गाग्री शर्मा तथा अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले अनेसास अस्ट्रेलियालाई धन्यवाद ज्ञापन गरेका थिए ।
दोस्रो दिनको कार्यक्रम
सम्मेलनको दोस्रो दिन बिशेष समारोहबीच नेपालकी चर्चित समालोचक तथा प्राध्यापक डा. गाग्री शर्माले पानसमा बत्ती बालेर सम्मेलनको औपचारिक उदघाटन गरेकि थिइन् । सिड्नीको मुटुमा रहेको मेट्रो होटेलमा आयोजित उक्त समारोहमा अनेसासका संस्थापक अध्यक्ष डा. होमनाथ सुवेदी, अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल, सिक्किम विश्व विद्यालयका प्राध्यापक तथा साहित्यकार डा. कबिता लामा सहभागी थिए ।
यसैगरी अनेसास सिक्किमका अध्यक्ष डा. पुस्पा शर्मा, दार्जिलिङ्गकि प्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बा, अनेसास सिलिगुढीकि अध्यक्ष तथा चर्चित साहित्यकार लातिका जोशी, हंगकंगका चर्चित साहित्यकार देश सुब्बा, एनआरएन प्याट्रन इन्द्रा बन, एनआरएन ग्लोबल कि प्रवक्ता रन्जु थापा, एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन एनएसडब्ल्युका संयोजक दिनेश पोख्रेललगायत अन्य विभिन्न देशका प्रतिनिधि तथा अस्ट्रेलियाका नेपाली समुदायका प्रतिनिधिहरुको पनि समारोहमा उपथिति थियो ।
उदघाटन कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले अनेसास अस्ट्रेलियालाई प्रशंशा पत्र प्रदान गरेका थिए । गत बर्ष घोषणा गरिएको अनेसास उत्कृस्ट बर्ष पुरस्कार अन्तर्गत कबितातर्फ अनेसास सर्वोत्कृष्ट डायास्पोरिक पुरस्कार साहित्यकार सानु घिमिरेलाई अनेसासका संस्थापक अध्यक्ष्य होमनाथ सुवेदीले प्रदान गरेका थिए ।
त्यस्तै अनेसास केन्द्रले सिक्किमका साहित्यकार डा. कबिता लामालाई अनेसास बिशेष सम्मान तथा इजरायलका साहित्यकार निशा अर्याल र अस्ट्रेलियाका जानकी ढकाललाई अनेसास डायस्पोरा सम्मान प्रदान गरेको थियो ।
सोहि कार्यक्रममा अनेसास अस्ट्रेलियाले अस्ट्रेलियाको नेपाली समुदायमा योगदान गरेका महिलाहरु एनआरएन प्याट्रन इन्द्रा बन, एनआरएन ग्लोबल प्रवक्ता रन्जु थापा, एनआरएन अस्ट्रेलिया संयोजक तथा साहित्यकार सुमित्रा बिस्ट, भिक्टोरियाकि साहित्यकार निरु त्रिपाठी, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकि अध्यक्ष सुजाता केसीका साथै अस्ट्रेलियामा नेपाली भाषा र साहित्यको स्थापाना तथा प्रबर्द्धन गर्न लागीपरेका साहित्यकार कुमार गिरीलाई बिशेष समान गरिएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भानु द्विशत वार्षिकी समारोहका अवसरमा अस्ट्रेलियाका साहित्यकारहरु भीमसेन सापकोटा, महेन्द्र पौडेल, सानु घिमिरे, सुरेन्द्र दवाडी तथा हेमन्ता आचार्यलाई प्रदान गरेको भानु स्वर्णपदक नेपाल सरकारको तर्फबाट अस्ट्रेलियाका राजदूत रुद्र नेपालले प्रदान गरेका थिए ।
सम्मेलनको उदघाटन कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल, एनआरएनबाट इन्द्रा बनलगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
सोही समारोहमा अनेसास केन्द्रीय उपाध्यक्ष राधेश्याम लेकालीको मुक्तक संग्रह ‘समयका घोडाहरु’, देश सुब्बा र माइकल फिसरको ‘फिलोसोफी अफ फियरिज्म’, अनेसास क्षेत्रीय उपाध्यक्ष भीमसेन सापकोटाको कविता संग्रह ‘प्रश्नमा ईश्वर’, सिलिगुढीकि साहित्यकार लतिका जोशीको कविता संग्रह ‘भुटभुटी’, आसामकी साहित्यकार उषा शर्माको कथा संग्रह ‘अज्ञात यात्रा’, अमित श्रेष्ठको नेपालमा गएको महाभूकम्प सम्बन्धि अनुभव संगालिएको ‘द फल्ट’, सिड्नीका अभिभावक हिमालय शमशेर थापाको सकारात्मक सोच सम्बन्धि पुस्तकको प्रमुख अतिथि तथा बिशिस्ट अतिथीद्वारा लोकार्पण गरिएको थियो । ति पुस्तकहरु माथि चर्चित साहित्यकार नबराज कार्कीले सटिक टिप्पणी गरेका थिए ।

अपरान्ह विश्व कवि गोष्ठी आयोजना गरिएको थियो । बिभिन्न देशबाट आएका प्रतिनिधि, साहित्यकारहरु तथा अस्ट्रेलियाका साहित्यकारहरु गरी करीब दुई दर्जनले सो सेसनमा कविता, गजल तथा मुक्तकहरु बाचन गरेका थिए ।
साँझको सेसनमा सुप्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बाले ‘नेपाली साहित्य र महिला साहित्यकारहरुको भूमिका’ बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनको कार्यपत्रमाथि खुला छलफल गरिएको थियो ।
तेस्रो दिनको कार्यक्रम
तेस्रो दिनको कार्यक्रम रक्डेलको हिमालय पाक रेस्टुरेन्टमा आयोजना भएको थियो । तेस्रो दिनको सत्र ‘साहित्य र लैंगिक विभेद’ शिर्षकमा डा. कविता लामाको कार्यपत्रसहित आरम्भ भएको थियो ।
साहित्यमा महिलाले लैंगिक विभेदलाई कसरी उतारेका छन् र लैंगिक विभेदरहित साहित्य कस्तो हुनुपर्छ भनि सो कार्यपत्रले स्पष्ट पारेको थियो । त्यस्तै दोस्रो कार्यपत्र- ‘डायस्पोरामा नेपाली महिला साहित्यकारहरुको भूमिका’ शिर्षकमा नेपालबाट आएकी सुप्रसिद्ध साहित्यकार लीला लुइंटेलले प्रस्तुत गरेकी थिइन् । सात वटा महादेशमा नेपाली महिला साहित्यकारहरुको उपस्थितिलाई उनले रोचक ढंगले वर्णन गरेकी थिइन् ।
यसैगरी अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले ‘नेपाली साहित्यको डायास्पोरिक अध्ययन’ बिषयमा मन्तब्य राखेका थिए । अनेसासले डायास्पोरिक साहित्यमा खेलेको भूमिकाबारे उनले प्रकाश पारेका थिए ।
सोहिदिन ‘नेपाली साहित्यको विश्वव्यापिकरणमा महिला साहित्यकारहरुको भूमिका’ नामक कार्यपत्र समालोचक डा. खगेन्द्र लुइंटेलले प्रस्तुत गरेका थिए । उनले डायास्पोरिक साहित्य र दर्शनबारे प्रकाश पारेका थिए ।
हंगकंगमा बसोबास गर्दै आएका साहित्यकार देश सुब्बाले ‘भयवाद र साहित्य’ बिषयमा बोल्दै भयले मान्छेलाई कसरी प्रभावित परेको हुन्छ भन्ने कुरामाथि चर्चा गरे ।
त्यस्तै अनेसास अस्ट्रेलियाकि उपाध्यक्ष सानु घिमिरेले ‘अस्ट्रेलियामा नारी लेखनको शुभारम्भ’ बिषयमा कार्यपत्र पेश गरेकी थिइन् । अस्ट्रेलियामा नेपाली साहित्यको विस्तारको बारेमा बोल्दै उनले महिला साहित्यकारहरुको चर्चा गरेकी थिइन् ।
सोहि दिन रचना वाचनको सत्रमा अघिल्लो दिन वाचन नगरेका करिब २ दर्जन साहित्यकारहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए । रचना वाचन सेसनको सभापतित्व डा. पुस्पा शर्माले गरेकी थिइन् ।
रचना वाचनको कार्यक्रमपछि समापन सत्र आयोजना गरिएको थियो । जसको सभापतित्व अनेसास अध्यक्ष्य पदम विश्वकर्माले गरेका थिए । सो सत्रमा अनेसासका आजीबन सदस्यहरुलाई होमनाथ सुवेदीले ब्याच वितरण गरेका थिए भने विदेशबाट आएका अतिथि साहित्यकारहरुलाई अनेसास अस्ट्रेलियाले मायाको चिनो प्रदान गरेको थियो ।
बिन्ध्या सुब्बा अध्यक्ष रहेको ५ सदस्यीय घोषणा पत्र कमिटीले ६ बुँदे घोषणा जारी गर्दै कार्यक्रम समापन भएको थियो । एक्स्पर्ट एजुकेसन मुख्य प्रायोजक रहेको सो सम्मेलनलाई अस्ट्रेलियाका बिभिन्न ब्यबसायीहरुले प्रायोजन गरेका थिए ।




प्रतिक्रिया 4