+
+
Shares

चीनसँगको ‘विप्पा’ सम्झौता अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २८ गते १६:००

nepal china-1

२८ फागुन, काठमाडौं । चीनसँग हुने भनिएको दुई पक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (विप्पा) अन्योलमा परेको छ ।

नेपालले एक वर्षअघि पठाएको ड्राफ्टमा चीनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएपछि विप्पा सम्झौता अनिश्चित बनेको हो । प्रधानमन्त्री ओलीको भ्रमणमा चीनसँग विप्पा सम्झौता हुने अपेक्षा गरिएको थियो ।

‘चीनबाट केही प्रतिक्रिया नआएपछि हामीले परराष्ट्र मन्त्रालयमार्फत दुई पटक विप्पाको फ्लो गर्‍यौं, तर उताबाट केही जवाफ आएको छैन’ उद्योग मन्त्रालयकी सहसचिव यमकुमारी खतिवडाले भनिन्- ‘अहिले पुनः विप्पाको बारेमा के भइरहेको छ, बुझिदिन परराष्ट्रलाई पत्रचार गरेका छौं ।’

परराष्ट्र मन्त्रालयले ताकेता गर्दासमेत अहिलेसम्म विप्पाको बारेमा चीनले कुनै प्रतिक्रिया नदिएको बतायो । चीनबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएपछि प्रधानमन्त्रीको भ्रमणमा विप्पा एजेन्डा नबन्ने परराष्ट्र स्रोतले भन्यो ।

‘अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री ज्यूको चीन भ्रमणमा विप्पा सम्झौता हुँदैन, सायद चीनले हामीले पठाएको ड्राफ्टमा चित्त नबुझाएको हुनसक्छ’ स्रोतले भन्यो- ‘ड्राफ्टप्रति चीन सकरात्मक भएको भए अहिलेसम्म जवाफ आइसक्थ्यो ।’

चीनले पठाएको विप्पाको पहिलो ड्राफ्टमा उद्योग मन्त्रालयले आवश्यक परिमार्जन गरेर एक वर्षअघि पठाएको थियो । परराष्ट्र मन्त्रालयमार्फत परिमार्जित ड्राफ्ट एक वर्षअघि नै चीन पुगेको सहसचिव खतिवडा बताउँछिन् ।

‘अहिलेसम्म प्रतिक्रिया नआएपछि प्रधानमन्त्री ज्यूको भ्रमणमा सम्झौता भइहाल्छ जस्तो लाग्दैन, हामीले ड्राफ्ट परिमार्जन गरेर पठाएका हौं, यदि त्यसमा चीन सकरात्मक भए पनि एकपटक टेक्निकल रुपमा त्यो ड्राफ्ट हेरिनुपर्छ’ खतिवडाले भनिन्- ‘हामीले पनि हस्ताक्षर गर्नका लागि विभिन्न निकायको सहमति लिनुपर्छ ।’

उद्योग मन्त्रालयले ड्राफ्टमा फेरबदल गरेका कुराहरुको कारणसहित खुलाएर चीन पठाएको थियो ।

अहिलेसम्म उताबाट ‘एस अर नो’ कुनै प्रतिक्रिया नआएको र टेक्निकल स्तरमा दुई देशबीच एउटा पनि मिटिङ नबसेको हुँदा तत्कालै सिग्नेचर गर्ने अवस्था नरहेको परराष्ट्र स्रोत बताउँछ ।

के हो विप्पा ?

कुनै पनि राष्ट्रको लगानी अर्को राष्ट्रको इलाकाभित्र फस्टाउने अनुकूल अवस्था सिर्जना गर्नका लागि विप्पा सम्झौता गरिन्छ ।

कुनै पनि मुलुकको लगानी प्रोत्साहन र पारस्परिक प्रवर्द्धन एवं संरक्षण गर्नका लागि विप्पा सम्झौताले महत्वपूर्ण भूमिका खेल्छ । विप्पा सम्झौताले लगानी सुनिश्चित गरिदिने विश्वास दिलाउँछ ।

नेपालमा वैदेशिक लगानी भित्राउने मुलुकमा चीन पहिलो नम्बरमा पर्छ । चीनबाट पूर्वाधार, हाइड्रो, सेवा, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी आइरहेको छ । त्यही भएर लगानी सुरक्षाका लागि पनि चीनले नेपालसँग विप्पा सम्झौता गर्दा राम्रो हुन्छ ।

कस्तो छ विप्पाको ड्राफ्ट ?

एक अर्को देशका लगानीकर्ताको लगानी प्रवर्द्धन र संरक्षण गर्ने, लगानीलाई प्रोत्साहन गर्ने, लगानीका लागि अनुकूल वातावरण सृजना गर्ने, आफ्नो नीति, नियम, कानून वमोजिम त्यस्तो लगानी स्वीकार गर्ने र अर्को पक्षको लगानीलाई उचित व्यवहार गरिने छ ।

प्रत्येक संविदाकारी पक्षका लगानीकर्ताको लगानी एवं प्रतिफलहरुलाई अर्को संविधाकारी पक्षको इलाकामा सधै उचित र सामन्यायिक व्यवहार गरिने छ ।

एक पक्षले अर्को पक्षको लगानीकर्ताहरुको लगानीलाई आफ्नो देशको लगानी वा कुनै तेस्रो राष्ट्रको लगानीलाई प्रदान गरिएको व्यवहार भन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गरिने छ ।

एक पक्षले अर्को पक्षका लगानीकर्ताहरुलाई तिनका लगानीहरुको प्रतिफलको हकमा समेत कुनै तेस्रो राष्ट्रका लगानीकर्ताहरुलाई प्रदान गरिएको भन्दा कम सौविध्यतापूर्ण नहुने गरी व्यवहार गर्नुपर्ने छ ।

कुनै संविदाकारी पक्षका लगानीकर्ताको लगानीलाई भेदभावरहित आधारमा उचित एवं सामन्यायिक क्षतिपूर्ति दिएर कानून बमोजिम प्रयोजनका लागि बाहेक अर्को संविधाकारी पक्षको इलाकामा राष्ट्रियकरण वा अधिग्रहण गरिने छैन ।

कुनै पक्षको इलाकामा अर्को पक्षको लगानीकर्ताले युद्ध वा सशस्त्र द्धन्द्ध, राष्ट्रिय संकटकालीन अवस्था वा राष्ट्र विप्लव वा दंगाका कारणले नोक्सानी व्यहोर्नु परेमा त्यस्तो लगानीको प्रतिस्थापन, हर्जना, क्षतिपूर्ति वा अन्य सम्बन्धमा आफ्नो देशको लगानीकर्ता वा कुनै तेस्रो मुलुकको लगानीलाई प्रदान गरेको भन्दा कम नहुने गरी व्यवहार गर्नुपर्ने छ ।

एक पक्षले अर्को पक्षको लगानीकर्ताको लगानी रकम, लाभांश आदि अनुचित विलम्ब नगरी फिर्ता लैजान पाउने सुनिश्चितता गर्नुपर्ने छ ।

संविदाकारी पक्षले गैर-नागरिकहरुको प्रवेश र बसाइसँग सम्बन्धित आफ्ना प्रचलित कानूनको अधिनमा रही अर्को संविदाकारी पक्षका प्राकृतिक व्यक्तिहरु र अर्को संविदाकारी पक्षका कम्पनीहरुद्धारा काम लगाइका कर्मचारीहरुलाई लगानीसँग सम्बद्ध गतिविधिहरुमा संलग्न हुने उद्देश्यका लागि आफ्नो इलाकामा प्रवेश गर्न र रहन अनुमति दिनेछ ।

सम्झौताका पक्षबाहेक अन्य गैर पक्षको व्यक्तिमा लगानीको स्वामित्व वा नियन्त्रण रहेको भए सम्झौता वमोजिमको लाभ दिन इन्कार गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?