Comments Add Comment

अब प्याकिङ गरेको मासु मात्र काठमाडौँ ल्याइने

meat

२३ चैत, काठमाडौँ ।  उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले मासुजन्य जनावरबाट निस्कने फोहर आयात गरिने जिल्लामा नै व्यवस्थापन गरी खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको छ ।

महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकामा ल्याइने अधिकांश मासु बाहिरी जिल्लाबाट आयात गरिने हँदा जुनजुन जिल्लाबाट मासु आयात गरिन्छ सोही जिल्लामानै फोहर व्यवस्थापन गरी सफा खानयोग्य मासु मात्र ल्याउन लागिएको हो ।

“अब केही समयमानै विभिन्न जिल्लाबाट मासु प्याकिङ गरी खानयोग्य मात्र ल्याइने छ ” प्रमुख श्रेष्ठले भने  । श्रेष्ठका अनुसार जुन जिल्लाबाट मासु आयात गरिन्छ सोही स्थानमा मासुजन्य वस्तुबाट निष्कने दिसा, हड्डी, छाला, रौँलगायतका फोहरको व्यवस्थापन गरी ल्याइन लागेको हो । त्यसको लागि नेपाल सरकार, महानगरपालिका, मासु व्यवसायीको सहयोग आवश्यक पर्छ ।

यसले गर्दा उपत्यकावासीले सफा मासु खान पाउने महानगरपालिकाले विश्वास लिएको छ । मासु उत्पादन हुने गरेका जिल्लाको केही स्थानमा कोल्ड स्टोरको व्यवस्था गरी मासुको प्याकिङ गरी उपत्यकामा ल्याइनेछ ।

मासु आयात गर्ने मुख्य जिल्लामा स्थानमा हेटौँडा, वीरगन्ज, बारा, चितवन रहेका भएपनि पछिल्लो समय धादिङ, नुवाकोटबाट पनि मासुजन्य जनावर आयात हुने गरेको छ ।

यसरी सिङ्गै जनावर ल्याई मासु तयार गरी बिक्री वितरण गर्दा फोहर अत्यधिक बढेकाले सम्बन्धित जिल्लामानै व्यवस्थापन गर्न लागिएको हो ।

साना ठूला सबै खालका जनावरको आयात गरिने मासुका लागि यो व्यवस्था लागू हुनेछ । काठमाडौँ उपत्यकामा भन्दा अन्य जिल्लामा फोहर व्यवस्थापनका लागि स्थान हुने भएको हुँदा यस किसिमको व्यवस्थापनको प्रक्रिया अघि बढाउन लागिएको हो ।

पछिल्लो समय कुखुराको मासुमा आत्मनिर्भर भएपनि खसी–बोकामा ७० प्रतिशत तथा राँगामा ६० प्रतिशत मासु भारतबाट आयात हुने गरेको छ ।

राँगाभैँसी ५०० वटा, खसी एक हजार ५००, सात हजार कुखुरा, सुँगुर १५० र माछा सात हजार किलो मासु दैनिक काठमाडौँ महानगरपालिकामा प्रयोगका लागि बाहिरी जिल्लाबाट ल्याइने गरेको छ ।

यसैबीच, महानगरपालिकाले काठमाडौँ उपत्यका र उपत्यका बाहिर रहेका बधशालाको अनुगमन गर्ने भएको छ । अनुगमनको क्रममा अव्यवस्थित रहेका बधशालालाई व्यवस्थापन गर्न लगाइने पनि महानगरले जनाएको छ ।

सुनसरी, वीरगन्ज, नेपालजन्ज, बर्दिया, धनगढी र मलङ्गवा बढी मात्रामा मासु आयात गर्ने स्थान रहेकाले सोही स्थानमा रहेका बधशालाको विशेष अनुगमन गरिनेछ । सञ्चालित सबै बधशालाले साना ठूला गरी दैनिक २०० वटा मासुजन्य पशुको बध गर्नसक्ने क्षमता रहेको छ ।

काठमाडौँ उपत्यकाको अनुगमन पछि यहाँ रहेका बधशालालाई कोल्ड स्टोर बनाइने पनि महानगरले बताएको छ ।  अहिले काठमाडौँमा विष्णुमती र बागमती नदीको किनारमा ठूला जनावरको लागि बधशाला बनाई मासु तयार गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment