राजकुमार दिक्पाल
जगदीश घिमिरेले आफ्नो पछिल्लो उपन्यास ‘सकस’मा इतिहासका विभिन्न प्रसंगहरु कोट्याएका छन् । उनको यस उपन्यासमा राजा पृथ्वीनारायण शाहका बुबा नरभुपाल शाह समलिंगी भएको प्रसंग पनि उल्लेख छ ।
उपन्यासमा नरभुपाल शाहको निधन भएपछि उनीसँग सति जान पाऊँ भन्दै नवयुवक राजा पृथ्वीनारायण शाहसमक्ष प्रस्तुत भएका छन्, गोरे नामको कमारो । गोरेको यस्तो बिन्तिपछि अचम्भित पृथ्वीनारायण शाह प्रश्न गर्छन्, ‘तँ को होस् ?’
गोरेले राजा नरभुपाल शाहसँगको आफ्नो सम्बन्ध प्रष्ट पार्दै आफू राजाको प्रेमी भएको र विगत पाँच वर्षदेखि बनमा गएर दिनभरि राजाको सेवा गर्ने गरेको तथा राजाबाट आँफू परलोक भएपछि परलोकमा पनि बनमा साथ दिन आएस्’ भन्ने हुकुम भएकाले आफूले राजासँगै सति जान पाउनुपर्ने मागका साथ बिन्ति गरेका छन् उपन्यासमा ।
यदि आफूले सति जान नपाए नदीमा हाम फालेर मर्ने समेत बताएपछि पृथ्वीनारायण शाहले बाध्य भएर गोरेलाई सति जाने अनुभति दिएको प्रसँग ‘सकस’मा पढ्न पाइन्छ ।
यस प्रसँगबाट पृथ्वीनारायण शाहका बाबु राजा नरभुपाल शाह समलिंगी नै थिए त ? प्रश्न उब्जन्छ ।
इतिहासतिर फर्कौं
गोरखाली राजा द्रब्य शाहका सन्तान हुन्, नरभुपाल शाह । उनी आफ्ना हजुरबुवा राजा पृथ्वीपति शाह परलोक भएपछि बि.सं. १७७३मा गोरखाका राजा भएका थिए ।
पुर्खाको बिरासत सम्हाल्दै राजा हुँदा नरभुपाल २० वर्षका थिए । उनी बीरभद्र शाहका छोरा रुपमा वि.सं. १७५३मा जन्मेका थिए । बीरभद्र राजा हुन नपाई परलोक भएका कारण हजुरबुवा पृथ्वीपतिको निधनपछि नरभुपाल शाहले पैतृक राजकीय बागडोर सम्हालेका हुन् ।
नरभुपालका चारवटी रानी थिइन् । तीमध्ये जेठी रानी खाँची ठकुराईकी राजकुमारी चन्द्रप्रभावति थिइन्, उनीतर्फबाट कुनै जायजन्म भएन ।
महिली रानी पाल्पाका राजा गन्धर्व सेनकी छोरी कौसल्यावति हुन् । उनीतर्फबाट छोराका रुपमा पृथ्वीनारायण शाह र छोरी पद्मकुमारीको जन्म भयो । यस्तै साहिली रानी बुद्धिमतिबाट वृन्दकेशर र सुरप्रताप अनि कान्छि रानी सुभद्रावतिबाट महोद्दमकिर्ति र दलजीत शाह जन्मे ।
जेठा सन्तानका रुपमा पृथ्वीनारायण शाह वि.सं. १७७९ पुस २७ गते जन्मदाखेरि नरभुपालको उमेर २६ वर्षको थियो । माहिली रानी कौशल्यावतिबाट एकातिर पृथ्वीनारायण जन्मे भने उनीभन्दा थोरै अन्तरमा साहिली रानी बुद्धिमतिकातर्फबाट वृन्दकेशर जन्मे । यी दुईमध्ये गोरखा राज्यको राजा कसलाई बनाउने भन्नेमा समेत गोरखा दरबारमा केही समय विवाद भयो ।
खासगरी पृथ्वीनारायण गर्भमा रहेको सातै महिनामा जन्मेका थिए । उनीभन्दा थोरै अन्तरले पछि जन्मेका वृन्दकेशर पुरा महिना गर्भमा रहेका र पृथ्वीनारायणभन्दा पहिले नै जेष्ठ सन्तानका रुपमा गर्भमा बस्न आएका भन्दै वृन्दकेशरलाई गोरखाका युवराज घोषित गर्नुपर्ने पक्षमा लाग्ने कतिपय भारदारहरु पनि गोरखा दरबारमा थिए । तर, वृन्दकेशरको अल्पायुमै निधन भएपछि त्यो विवाद पनि त्यतिकै हराएर गयो ।
राजा भएको केहि वर्ष बितिसक्दा पनि नरभुपालका कुनै सन्तान नभएपछि गोरखा दरबारमा चिन्ता फैलियो ।
तत्कालीन राजाहरु चाँडै बाबु बन्ने चलन थियो । राज्यको उत्तराधिकारीका लागि पनि राजाका सन्तान अपरिहार्य थियो । २४/२५ वर्ष पुगिसक्दा पनि राजाबाट कुनै सन्तान नभएपछि गोरखा दरबारमा चिन्ता थपिनु स्वभाविक थियो ।
नरभुपाल शाहको सन्तान प्राप्तिका लागि गोरखा दरबारमा पूजापाठ आदि गरिए । पूजापाठका विभिन्न विधिमध्ये त्यहाँ लामा पढाउने काम पनि गरियो । भुटानबाट लामाहरु ल्याएर लामो समय गोरखा दरबारमा राखी पाठ गराइएको विभिन्न इतिहासमा पढ्न पाइन्छ ।
यो प्रसंग सुशीला मानन्धरको ‘नेपाल-भुटान सम्बन्ध’मा पनि उल्लेख छ । यसरी गोरखा दरबारमा भुटानी लामाहरुले लामो समय रहेर पूजापाठ गरेपछि नरभुपालमा सन्तानलाभ भयो । पृथ्वीनारायण शाहमा पनि भुटानी लामाहरुका प्रभाव रह्यो ।
उनले भुटानी लामाहरुका लागि स्वयम्भुमा छुट्टै गुम्बा बनाउने अनुमतिका साथै जग्गा र खर्च रकम पनि उपलब्ध गराए । राम शाहकै पालादेखि गोरखाको भुटानसँग सम्बन्ध स्थापित थियो ।
२६ वर्षको उमेरमा मात्रै बाबु बनेका नरभुपालमा विपरित लिंगीसँगको सम्बन्धप्रति कतै उदासीनता त थिएन ? कि निक्कै ठूलो करकाप, पैतृक विरासत थाम्नुपर्ने र राजकीय इज्जत जोगाउनका लागि नरभुपाल विपरीत लिंगी सम्बन्धमा अग्रसर भए ?

राजकाजप्रति उदासीनता
पृथ्वीनारायण शाह जति सुरो थिए, त्यसको विपरीत थिए, बाबु नरभुपाल । उनी आफू राजा भएपछि वि.सं. १७९२ मा एकपटक राज्यविस्तार अभियानस्वरुप नुवाकोट आक्रमण गरेका थिए । तर, त्यो आक्रमण असफल भयो ।
यस्तै तनहुँका राजा त्रिविक्रम सेनविरुद्ध जालसाजी गरेर उनको राज्य तनहुँ हात पार्न खोज्दा त्यहाँ पनि नरभुपाललाई असफलता हात लाग्यो । आफ्नो २६ वर्षे राज्यकालमा उनले आफ्नो राज्य एक इञ्च पनि पनि विस्तार गर्न सकेनन् । बरु उनी दिनदिनै राजकाजप्रति पुरै उदासिन हुन थाले ।
राजाको यस्तो उदासीनता र राजकाजप्रतिको वेवास्तापछि उनकी जेठी रानी चन्द्रप्रभावतिले गोरखाको शासन सम्हालेकी थिइन् । उनैले पृथ्वीनारायण शाहलाई हुर्काउने र राजपाठ सिकाउने काम गरिन् । पृथ्वीनारायण सुरो बन्नुमा चन्द्रप्रभावतिकै प्रत्यक्ष भूमिका रह्यो ।
केटो लिएर वनमा
जीवनको अन्तिम समयतिर नरभुपालको राजकाज र दरबारसँग मोहभंग भइसकेको थियो । उनी दरबारबाट निस्केर बन-बन चाहरिहिड्थे । उनीसँग जहिल्यै एउटा सुसारे केटो साथमा हुन्थ्यो । तिनै सुसारेलाई लिएर उनी बनतिर घुमफिरमा निस्कन्थे ।
नरभुपाल शाह केटो लिएर बनतिर हिड्ने र राजकाजप्रति उदाशिन रहेको इतिहास शिरोमणि बाबुराम आचार्य तथा इतिहासकार प्राध्यापक दिनेशराज पन्तले पनि आफ्ना पुस्तकहरुमा उल्लेख गरेका छन् ।
प्राध्यापक पन्तले आफ्नो पुस्तक ‘गोरखाको इतिहास’ पहिलो भागमा नरभुपाल दरबारबाट बाहिर निस्केर एउटा केटोको साथ बनतिर घुमीहिँड्ने गरेको उल्लेख गरेका छन् । राजका लागि राजकुमार वृन्दकेशरले बनमै खाना पुर्याइदिने गरेको उल्लेख गरेका छन्, पन्तले ।
राजकुमार वृन्दकेशर नरभुपालका निक्कै प्रिय सन्तान थिए । उनको अल्पायुमै निधन भयो ।
तत्कालीन राजदरबारबाट प्रकाशित ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जीवनी’ मा पनि यो प्रसँग परेको छ । इतिहास शिरोमणि बाबुराम आचार्यले पुस्तकमा यो प्रसँगमा नरभुपाल शाह परलोक भएपछि उनीसँग बनमा घुमीहिँड्ने केटो आफूखुसी सति गएको उल्लेख गरेका छन् । नरभुपाल वि.सं. १७७९मा परलोक भए ।
यसबाट जीवनको उत्तररार्द्धमा नरभुपाल समलिंगी हुन पुगेका थिए भन्ने अनुमान गर्न सकिन्छ । प्रायः एउटै केटोलाई लिएर बनमा घुमीहिँड्नु, राजकाजप्रति पुरै उदाशिन हुनु, ढिलो सन्तानलाभ हुनुका साथै उनलाई बनबिहारमा साथ दिने केटो दिवंगत राजासँगै सति जानु आदि प्रसँगको अध्ययनले जीवनको उत्तरार्द्धमा नरभुपाल खुलेरै समलिंगी हुन पुगेका थिए भन्ने अनुमानलाई निक्कै बलियो बनाउँछ । आफूखुसी सति जानुमा राजाप्रति त्यस सुसारे केटोको सामान्य प्रेम थिएन भन्ने स्पष्ट हुन्छ ।
नेपालका राजाहरुको स्वभाव
गोरखा हुँदै नेपालको शासन गर्ने राजाहरुको स्वभाव एकनासको छैन । पृथ्वीनारायण शाह र उनीपछिका राजाहरुको स्वभाव विश्लेषण गरौंः
पृथ्वीनारायण शाह जति महात्वाकांक्षी, सुरा र सामदाम दान दण्डभेद जान्दथे उनका छोरा प्रतापसिंह शाह ठीक विपरित निस्के । उनी राम्रोसँग राजकाज गर्नेभन्दा पनि तन्त्रमन्त्र सिक्नेतिर बढि आकषिर्त थिए । उनी तन्त्रमन्त्रका लागि मैथुनमार्गमा समेत लागेका थिए ।
उनले दरबारलाई भोगविलासको केन्द्र बनाएका थिए भन्ने उल्लेख गरेका छन्, इतिहास शिरोमणि बाबुराम आचार्यले आफ्नो पुस्तक ‘प्रतापसिंह शाह’मा । उनकी रानी राजेन्द्रलक्ष्मीदेवीलाई एक भारदारसँग नाजायज सम्बन्धको बातसमेत लाग्यो ।
उनका छोरा रणबहादुर शाह नेपालकै इतिहासमा मुर्ख राजा प्रमाणित भइसकेका छन् । रणबहादुर शाहका छोरा गिर्वाणयुद्ध अल्पायुमै बिते भने उनका छोरा राजेन्द्र कातर र अकर्मण्य थिए । उनकी कान्छी रानी राज्यलक्ष्मीलाई गगनसिंहसँगको सम्बन्धको बात लाग्यो ।
राजेन्द्रका छोरा सुरेन्द्र पागजजस्तै थिए । तर, उनका छोरा त्रैलोक्य बाठा थिए । राणाशासन नढाली शिरमा श्रीपेच नलगाउने प्रतिज्ञा गरेका उनलाई राणाहरुले षडयन्त्रपूर्वक राजा नै बन्न नदिई मारे ।
त्रैलोक्यका छोरा पृथ्वीवीरविक्रमले त्यस्तो पराक्रम देखाउन सकेनन् । उनी राणाहरुबाट घेरिएरै सकिए । उनका छोरा त्रिभुवनले जनतासँग मिलेर राणा शासनको अन्त्यका लागि भूमिका निर्वाह गरे । उनी स्त्रीप्रति कमजोर थिए ।
राजा महेन्द्र अति महत्वाकांक्षी निस्के, उनले प्रजातन्त्रको हत्या गरे । उनका छोरा बीरेन्द्र बाबुको तुलनामा निरंकुश देखिएनन् । उनी बाबुभन्दा सोझा देखिए । उनको बंश विनास भयो । उनीपछि राजा भएका ज्ञानेन्द्र कति महात्वाकांक्षी थिए भने उनकै महत्वाकांक्षाका कारण नेपालमा राजतन्त्रको उन्मुलन भयो ।
नेपालका राजाहरु एकनासका देखिएनन् । पृथ्वीनारायण जस्ता निस्के, उनका बाबु नरभुपाल उनीभन्दा विपरित थिए ।
प्रतिक्रिया 4