वहिष्करण र पहिचानको सार्वभौमिकता नेपाली राजनीतिमा निकै पेचिलो बन्दै गएको छ । मधेस आन्दोलन, थारुवान आन्दोलन, नाकावन्दीजस्ता घटनाक्रममा यसैको पृष्ठभूमि थियो ।
वहिष्करण र पहिचानको सार्वभौमिकताको लडाँइ नेपालमा मात्र होइन, कयौंं देशमा भएका छन् । राजनीतिक मुद्धालाई प्रभावित पार्ने यही विषयवस्तुमा केन्द्रित रही पत्रकार एवं प्राज्ञिक अनुसन्धाता मनोज रिजालले अन्तराष्ट्रिय स्तरमा पुग्नेगरी एउटा पुस्तक लेखेका छन् ।
लामो समय काठमाण्डौमा पत्रकारिता गरेका रिजालको पुस्तक जर्मनीको सारब्रकेनस्थित लाम्बर्ट एकेडेमिक पब्लिसिङबाट हालै प्रकाशित भएको छ । “जातीय राजनीतिः के यो बहिष्करण र पहिचानको संकटबाट सृजित हुन्छ ?” नामक यो पुस्तक अनुसन्धानमा आधारित छ ।
पुस्तकमा केही जातीय समुहहरु आफ्नै जातीय समुहको मात्रै सदस्य रहने राजनीतिक दलको सदस्य हुन पुग्छन् भन्ने तथ्यलाई सुक्ष्म विश्लेषण गरिएको छ ।
लेखक रिजालका अनुसार मुख्य रुपमा मकवानपुर र काठमाडौंका केही भेगमा स्थलगत अध्ययन गरेर पुस्तक लेखिएको छ । यसमा एक सयभन्दा बढी उत्तरदाताहरुलाई अनुसन्धानमा सामेल गरिएको छ । अनुसन्धानमा संख्यात्मक र गुणात्मक दुबै विश्लेषण विधि प्रयोग गरिएको छ ।
पुस्तकले कुनै जातीय समुदायको सामाजिक वहिष्करण र पहिचानको संकटका कारणले त्यस समुदायलाई आफ्नै समुदायका व्यक्तिहरु सदस्य रहने राजनीतिक दलमा संलग्न हुन प्रेरित गर्छ वा गर्दैन भन्ने तथ्य उजागर गरेको छ ।
साथै, कुनै समुदायले अन्य समुदायसँग आफूलाई तुलना गर्दा आफ्नो सामाजिक पहिचान हराउँदै गइरहेको महसुस गरेमा सो समुदायलाई आफ्नै जातीयतामा आधारित राजनीतिक दल खोल्न प्रेरित गर्छ वा गर्दैन भन्ने पनि सोधखोज गरिएको छ ।
यस अनुसन्धानले वहिष्करणको विभिन्न चार क्षेत्रमा अध्ययन गरेको छ ।
राजनीतिक वहिष्करण (मूलधारका राजनीतिक दलहरुको महत्वपूर्ण पदहरुमा कुनै जातीय समुदायको उपस्थिति नहुनु)
प्रशासनिक वहिष्करण (सरकारी प्रशासनमा कुनै जातीय समुदायको न्युन उपस्थिति)
शैक्षिक वहिष्करण (उच्च शिक्षा प्राप्त व्यक्तिहरुको कुनै जातीय समुदायमा अत्यन्त न्युन संख्या)
आर्थिक वहिष्करण (कुनै जातीय समुदाय निरन्तर गरिबी र अभावमा बाँच्नु पर्ने अवस्था)
यसैगरी, पहिचानको संकटले कुनै जातीय समुदायलाई आफ्नो सामाजिक पहिचान खोज्न बाध्य बनाउँछ वा बनाउँदैन भन्ने पनि विश्लेषण गरिएको छ ।
राजनीतिक वा जातीय स्वायत्तता प्राप्त गर्न व्यवहारिक रुपमा सम्भव नभए पनि उक्त जातीय समुदाय स्वायत्तताको खोजीमा संलग्न हुनसक्ने तथ्य भेटिएको पुस्तकमा उल्लेख छ ।
पुस्तकमा गरिएको जातीय पृष्ठभूमिको विश्लेषणबाट कुनै पनि मुलुकको राजनीति बुझ्न सहज हुन्छ । कुनै जातीय समुदाय आफ्नै जातिको राजनीतिक दल स्थापना गर्न किन लागि पर्छ भन्ने तथ्य बुझ्न प्राज्ञिक अनुसन्धानको खाँचो पर्दछ । यो पुस्तकका लेखकले उक्त अनुसन्धानको पाटो खोलेका छन् ।
अंग्रेजी भाषामा लामो समय पत्रकारिता गरेका लेखक रिजाल केही वर्ष सुशासन अभियानमा पनि संलग्न थिए । बंगलादेशबाट सुशासन नीतिमा स्नातकोत्तर गरेका उनी हाल अमेरिकामा प्राज्ञिक अनुसन्धानमा संलग्न छन् ।
सुमनराज पन्तबाट
प्रतिक्रिया 4