Comments Add Comment

फेवातालमा सिन्डिकेट ! आधुनिकता कहिले भित्रिने ?

Fewa tal (4)

३ वैशाख, पोखरा। सडकमा यातायात व्यवसायीले ‘सिण्डिकेट’ लाद्ने गरेको त हामीले सुनेकै हौं । तर, सरकारी सम्पत्तिका रुपमा रहेको फेवातालको पानीमा समेत निजी व्यवसायीहरुको सिण्डिकेट चल्छ भन्ने सुन्दा अचम्मै लाग्न सक्छ । तर, अचम्म नमान्ननोस् ।

पोखरा भन्नेवित्तिकै हामी फेवाताललाई सम्झन्छौं । अहिलेसम्म पोखराको मुख्य पर्यटन व्यवसाय पनि फेवातालमै आश्रति छ । पर्यटकलाई फेवाताल बेचेर यहाँका व्यवसायीहरु मालामाल भइरहेका छन् । तर, यही फेवाताल दिन प्रतिदिन संकटमा पर्दै गइरहेको छ ।

फेवातालको संरक्षणमा सरकार तथा व्यवसायी कसैको पनि चासो देखिँदैन । माटो र जलकुम्भी झारले पुरिएर ताल खुम्चिँदै गइरहेको छ । लेकसाइडका होटलको फोहोर ढल पानीमा मिसाउँदा ताल फोहोर बनेको छ ।

फेवातालको संरक्षणका लागि दर्जनौं सरकारी गैह्रसरकारी संघसंस्था जन्मिएका छन् । सबैको एउटै उद्देश्य छ, तालको सरसफाइ र संरक्षणकामा नाममा डलर कुम्लाउने ।

व्यवसायीको सिण्डिकेटले आधुनिकतामा अवरोध

फेवाताल यतिबेला डुंगा व्यवसायी समितिको कब्जामा छ । यहाँ डुंगाको विकल्पमा थप पर्यटक लोभ्याउने खालका विकसित गतिविधि सञ्चालन गर्न दिइँदैन । अहिले पनि पुरानै ढर्राका डुंगा चलाएर पर्यटकलाई सेवा दिइँदै आएको छ ।

कास्की जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, सिंचाइ, भूमिसुधार लगायतका सरकारी निकाय फेवातालको जिम्मा आफ्नो भएको दाबी गर्छन् । तर, फेवातालको संरक्षण र विकासको गुरुयोजना बनाउन कोही अगाडि सर्दैनन् ।

फेवातालमा पुराना डुंगाहरुको विकल्पमा आधुनिक स्पोर्टसहरु सञ्चालन गर्न खोजे पनि डुंगा व्यवसायीको सिन्डिकेटका कारण रोकिँदै आएको छ ।

लामिछानेदेखि तामाङसम्मको प्रयास

कास्की जिविसको वडापत्रमै फेवातालमा अन्य गतिविधि सञ्चालन गर्नुपरेमा डुंगा व्यावसायीको स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । यही कारणले गर्दा तालमाथि वाटर वल खेलाउँदै आएका गोविन्द लामिछानेले वाटर रिक्सा सञ्चालनका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

लामिछानेले डेढ वर्षअघि सुरु गरेको वाटरवल (बेलुनभित्र बसेर पानीमाथि दौडिने खेल) अहिले लोकपि्रय भइसकेको छ । उनले हालैमात्र फेवातालमा वाटर साइकल भित्राएका छन् ।

Fewa tal (2)

फेवातालमा डुंगा चलाएरमात्रै राम्रो पर्यटक तान्न नसकिने पोखरेली व्यवसायीको ठम्याइ छ । बल्ल अहिले दुईवटा डुंगा जोडेर सुरक्षित रुपमा यात्रा गर्ने व्यवस्था मिलाइएको छ । अब म्युजिकल फाउन्टेनसहित फेवाताललाई नेपालकै आकर्षणका रुपमा प्रस्तुत गर्नुपर्ने माग हुन थालेको छ ।

अहिले फेवातालमा लामिछानेले वाटरवल र वाटर रिक्सा सञ्चालन गरेका छन् । नेपालका लागि विल्कुल नयाँ प्रोडक्ट वाटरवल र वाटर रिक्सामा मानिसको आकर्षण बढ्दो छ ।

त्यसो त फेवातालमा सोलार बोटको सम्भावना पनि छ । यो चलाउन सकेमा फेवाताल एकै छिनमा घुम्न सकिन्छ । सोलार बोटले फेवातालको वातावरणसमेत बिगार्दैन ।

केही समय अगाडि ज्याक तामाङले तालमाथि डुंगामै रेष्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । विस्तारै लोकप्रियता बढ्दै गइरहेका बेला आकस्मिक रुपमा उनको ‘ताल रेष्टुरेन्ट’ बन्द भयो ।

फेवातालमा यस्ता धेरै गतिविधि सञ्चालन गरेर प्रशस्त अम्दानी गर्न सकिने भए पनि डुंगा व्यवसायीको सिन्डिकेटका कारण केही गर्न नसकिने अवस्था रहेको गुनासो पर्यटन प्रेमीहरुको छ ।

मुल्मीको ‘फेवाताल सपना’

फेवातालको आधुनिकीकरणबारे हामीले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग पोखरामै पुगेर उनको भिजन जान्न खोज्यौं ।

मुल्मीले पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बन्न लागेकाले अब फेवातालको पर्यटन व्यवसायलाई आधुनिकीकरण गरिनुपर्ने अनलाइनखबरलाई बताए ।  फेवा तालको तालमा विदेशी पर्यटकहरुले मोटो रकम खर्च गर्नेखालका मनोरञ्जनात्मक गतिविधिहरु सञ्चालन गर्नुपर्ने उनी बताउँछन् ।

‘फेवातालको विषयमा धेरै राजनीति गरियो, तर यसको संरक्षण र यसबाट अधिकतम लाभ लिनेतर्फ ध्यान दिइएन’ मुल्मीले अनलाइनखबरसँग भने- ‘अब पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निश्चित भएको छ, विमानस्थलसँगै बढ्ने पर्यटकलाई लक्षित गरेर हामीले रिक्रिएसन सेन्टरहरु निर्माण गर्नुपर्छ ।’

फेवातालमा भएको अतिक्रमण रोक्दै तालको अधिकतम उपयोग गर्नुपर्ने मुल्मीको भनाइ छ । ‘फेवाताल छ भनेर हामीले गर्व गरेरमात्र हुँदैन, त्यसबाट फाइदा लिन सक्नुपर्छ’ मुल्मीले अनलाइनखबरसँग भने- ‘अब हामीले फेवातालमा पर्यटक लोभ्याउने खालका आधुनिक प्रविधियुक्त मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्नुपर्छ ।’

पोखरामा पर्यटकीय विकासका लागि तालमा नयाँ गतिविधि बढाउने गरी गुरुयोजना बनाउनुपर्ने उनले बताए । यसका लागि सरोकारवाला सरकारी निकाय र व्यावसायीहरु मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

पैदल हिँड्ने ठाउँदेखि वाटर फाउण्टेनसम्म

Fewa tal (3)

फेवातालको पर्यटनलाई आधुनिकीकरण गर्न के-के गर्न सकिन्छ ? यो प्रश्नमा उद्यमी मुल्मीले तालमा वाटर फाउन्टेन बनाउनेदेखि लिएर ताल वरिपरि फुट टे्रल  तथा साइकल ट्रेल बनाउने सकिने बताए ।  ताललाई असर नपार्ने खालका वाटर स्पोर्टस् सञ्चालन गर्ने गरी गुरुयोजना बनाउनुपर्ने मुल्मीको सुझाव छ । यसका लागि सरकारी निकायले सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

फेवातालको किनारमा फुट ट्रेल बनाउने काम सुरु भएको थियो । त्यो पनि अहिले रोकिएको छ । फेवातालको वरिपरि सुन्दर बँगैचासहितको फुट ट्रेल र साइकल ट्रेल बनाउन सकेमा राम्रो हुने उद्योगीहरु बताउँछन् ।

अहिले रत्न मन्दिर अगाडि फेवाताल साँघुरिएको छ । त्यहाँ वाटर फाउन्टेन बनाउने परिकल्पना गरिएको मुल्मीले बताए । ऐतिहासिक रत्न मन्दिरको कम्पाउन्डमा बसेर फेवातालमा वाटर फाउन्टेनको मज्जा लिन सकिने उनको दाबी छ ।

मुल्मीका अनुसार रत्नमन्दिर अगाडि वाटर फाउन्टेन बनाउन करिव ६ देखि ७ करोड लाग्ने अनुमान गरिएको छ । फेवातालमा वाटर फाउन्टेन बनाउनका लागि कोलकाताको एउटा कम्पनीलाई अध्ययन गर्न बोलाइएको छ । उसले वाटर फाउन्टेन बनाउन चासो देखाएको मुल्मीले बताए ।

तर, रत्नमन्दिर सरकारी सम्पत्ति भएको हुँदा सरकारले यसमा सहजीकरण गर्नुपर्ने उनी बताउँछन् । सरकारले सहयोग गरे तत्कालै काम सुरु गर्न सकिने मुल्मीले अनलाइनखबरलाई बताए

ताइपेईमा जस्तै बुद्धलाई देखाउन सकिन्छ

फेवातालमा वाटर फाउण्टेन कस्तो बनाउने भन्ने प्रशंगमा मुल्मीले ताइवानको रोचक उदाहरण दिए । ‘वाटर फाउन्टेन विभिन्न दृश्य भएको बनाउन सकिन्छ, ताइपेईमा बनाइएको वाटर फाउन्टेनमा बुद्धको पुरै जीवनी देखिँदोरहेछ, त्यहाँको वाटर फाउन्टेनले बुद्धको चित्र विचित्र देखाउँछ’ मुल्मीले अनलाइनखबरसँग भने- ‘फेवातालमा कुन थिममा बनाउने भनेर छलफल गर्न सकिन्छ ।’

त्यसो त अघिल्लो बजेटमा सरकारले फेवातालमा वाटर फाउन्टेन बनाउने भनेर बजेटसमेत विनियोजन गरिएको थियो, त्यो बजेट कहाँ पुग्यो, पोखरेलीले थाहा पाउन सकेनन् ।

फेवाताललाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने थुप्रै चिया गफ भए पनि अहिलेसम्म केही सिन्को भाँचिएको छैन ।

तालमा इन्फेसिस जहाज उडाउँ

Fewa tal (1)

उद्यमी मुल्मी यतिबेला नेपालका तालहरु इन्फेसिस जहाज उडाएर जोड्नुपर्ने अभियानमा जुटेका छन् । पानी र जमीन दुबै ठाउँमा उड्न सक्ने जहाजमार्फत फेवाताल र बेगनास तालदेखि राराताल, फोक्सुण्डो लगायतका तालहरु ज्ाोड्न सकिन्छ । पोखराबाट सिधै राराताल पुग्न चाहने पर्यटकलाई सेवा दिन सकिन्छ ।

इन्फेसिस जहाज उडाउनका लागि सरकारी निकायलाई सोध्दा कसले अनुमति दिने भन्ने गरिएको मुल्मीले सुनाए । ‘अब हामीले नयाँ प्रोडक्टको डिजाइन गर्नैपर्छ, पर्यटकले पैसा खर्च गरेर फेवातालबाट राराताल पुग्न खोजे भने त्यो सुविधा हामीले किन नदिने ?’ मुल्मीले प्रश्न गर्दै भने- ‘हामी यो इन्फेसिस जहाज पोखरबाटै सुरु गरौं भन्ने अभियान चलाउँछौं, सरकारले यसको निमय बनाउनैपर्छ ।’

तस्वीरहरूः उमेश पुन/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment