Comments Add Comment

विराजको प्रश्नः कमल थापाले बोल्न पाउने, मैले किन नपाउने ?

'प्रधानमन्त्रीको फोन आएन भने भोलिबाट मन्त्रालय जान्छु'

Biraj-Bista

७ वैशाख, काठमाडौं । राप्रपा नेपालले मन्त्रीबाट फिर्ता बोलाएपछि स्थानीय विकास सहायक मन्त्री विराज विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीको फोन कुरेर बसेका छन् ।

उनी सोमबारदेखि मन्त्रालय गएका छैनन् । यदि आज सोमबार प्रधानमन्त्रीले बोलाएर मन्त्रीबाट बर्खास्त गरेको पत्र थमाएनन् भने भोलिबाट फेरि मन्त्रालय जाने विष्टको योजना छ ।

‘पार्टीले फिर्ता बोलाएपछि मन्त्रालय जान मिलेन, तर मलाई हटाउने त प्रधानमन्त्रीले हो । आज फोन आएन भने भोलिदेखि त मन्त्रालय जान्छु,’ अनलाइनखबरसँग कुरा गर्दै विष्टले भने ।

पार्टी हितविपरित काम गरेको भन्दै राप्रपा नेपालले विष्टलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । दुई दिनअघि विष्ट राजतन्त्र चाहियो भन्दै नारायणहिटी दरबारअगाडि सरसफाइ गर्न पुगेका थिए ।

विष्ट राप्रपा नेपालका तत्कालीन सहअध्यक्ष केशरबहादुर विष्टका छोरा हुन् । पार्टी हितविपरित काम गरेको आरोपमा राप्रपा नेपालले विष्टलाई वीरगञ्ज बैठकबाट तीन वर्षका लागि निलम्बन गरेको थियो । त्यसलगत्तै विष्टका छोरा विराजलाई मन्त्रीबाट फिर्ता बोलाउन माग भएको थियो ।

नेतृत्वले विष्टलाई राजीनामा दिन भने पनि उनले नमानेपछि फिर्ता बोलाउने निर्णय भएको हो ।

विराजले आफूलाई बुबासँग जोडेर कारबाही गरिएको गुनासो गरे । उनले भने, ‘पार्टीमा मेरो आफ्नो योगदान छ । बुबासँग जोड्न आवश्यक छैन ।’

सांसद र मन्त्री पनि त बुवाकै कारण हुनुभएको थियो नि भन्ने प्रश्नमा विष्टले भने, ‘बुबाको कारण पनि हुन सक्छ । तर, अरुको चाहिँ आधार के त ? कोही पैसाका कारण आएका होलान् । त्यो किन भनिएन ?’

केशरबहादुरको छोरा भएकै कारण आफूले राजनीति गर्न नपाउने भन्ने नभएको उनले तर्क गरे ।

विष्टले मन्त्री पदमा बसेर ‘राजसंस्था आऊ, देश बचाऊ’ भन्नु असंवैधानिक नभएको दाबी गरे । उनले भने, ‘सबैलाई आफ्नो विचार राख्ने स्वतन्त्रता छ । गणतन्त्र ठीक कि वेठीक भनेर मन्त्रीले पनि आफ्नो विचार राख्न पाउँछ ।’

‘मैले राजतन्त्रको पक्षमा बोल्नु असंवैधानिक भए उपप्रधानमन्त्री कमल थापाले हिन्दु राष्ट्रको पक्षमा बोल्नु के हो ? अर्का उपप्रधानमन्त्री केसी(चित्रबहादुर) ले संघीयता ठीक छैन भन्नु के हो ?’ उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment