Comments Add Comment

पूर्वप्रधानमन्त्री समेत राजदूत ! हेर्नुहोस् इतिहास

चीन सन्तुष्ट हुने राजन भट्टराईको दाबी

अमेरिकी राष्ट्रपति जोन एफ क्यानेडीसँग ह्वाइट हाउसमा भेटवार्ता गर्दै तत्कालीन नेपाली राजदूत मात्रिकाप्रसाद कोइराला
तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीसँग ह्वाइट हाउसमा भेटवार्ता गर्दै नेपाली राजदूत मात्रिकाप्रसाद कोइराला । तस्वीर स्रोतः jfklibrary.org

८ वैशाख, काठमाडौं । सरकारले पूर्वमन्त्रीहरुलाई समेत राजदूत बनाएको विषय अहिले चर्चामा छ । हामीले यसबारे प्रश्न गर्दा कूटनीतिज्ञ जयराज आचार्यले इतिहास सम्झाउँदै भने- नेपालमा पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिसमेत राजदूत बनेको इतिहास छ ।

प्रशंग हो, पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको । राणा शासनको अन्त्यपछि दुईपटक प्रधानमन्त्री बनेका मात्रिकाप्रसाद कोइराला २०१८ सालमा अमेरिकाका लागि नेपाली राजदूत बनेका थिए ।

कोइराला राणा शासन अन्त्य भएपछिका दोस्रो प्रधानमन्त्री हुन् । उनी सन् १९५१ र १९५३ मा प्रधानमन्त्री भएका थिए । कूटनीतिज्ञ आचार्यका अनुसार उनै मात्रिका १९६१ मा अमेरिकाका लागि नेपाली राजदूत भए । आचार्यले अनलाइनखबरसँग भने, ‘मन्त्री, प्रधानमन्त्री भइसकेका व्यक्ति राजदूत हुन नमिल्ने भन्ने होइन । हाम्रै देशमा पनि भएका छन् र अरु देशमा पनि हुन्छ । उनीहरुले के काम गर्छन् भन्ने मुख्य हो ।’

आचार्यका अनुसार राजनीतिक दलको कोटामा नियुक्त भएकाहरुले काम गर्न नसकेको मात्र होइन । कर्मचारीबाट राजदूत भएर गएकाहरु नै शरणार्थी बनेर बसेको उदाहरण छ । त्यसैले राजदूतले सरकारको नीति कार्यान्वयन गर्न सक्छन् कि सक्दैनन् र सम्वन्धित मुलुकको विश्वास जित्छन् कि जित्दैनन् भनेर मूल्यांकन पर्नुपर्ने आचार्य बताउँछन् ।

बाबु-छोरै राजदूत

महेन्द्रले ०१७ सालको काण्डपछि मात्रिकालाई ४ वर्ष अमेरिका गएर बस भन्दै राजदूत बनाएर पठाएको उनका छोरा कमल कोइरालाले अनलाइनखबरलाई बताए ।

पूर्वप्रधानमन्त्री मात्रिकाका छोरा कमलसमेत राजदूत बनिसकेका व्यक्ति हुन् । कमल कोरियाका पूर्वराजदूत हुन् । उनका अनुसार मात्रिकालाई तत्कालीन राजा महेन्द्रले जेलबाट शर्तनामा गराएर अमेरिकाको राजदूत बनाएका थिए ।

पूर्वमन्त्रीको प्रचलन

अहिले सरकारले गरेको २१ राजदूतहरुको नियुक्ति सिफारिसमा ८ जना परराष्ट्रका कर्मचारी छन् भने १३ राजनीतिक दलको कोटाबाट आएका छन् । जसमध्ये तीन पूर्वमन्त्री छन् । पूर्वमन्त्रीहरु महेन्द्रबहादुर पाण्डे, निरन्जन थापा र युवराज कार्की योपटक राजदूतमा सिफारिस भएका हुन् ।

तर, पूर्वमन्त्रीहरु राजदूत भएको यो पहिलोपटक भने होइन । यसअघि चक्र बास्तोला पनि मन्त्री भइसकेपछि भारतका लागि राजदूत भएका थिए ।

चीन सन्तुष्ट हुने दाबी

नेपालले अखिलका पूर्वनेता टंक कार्कीलाई राजदूत बनाएर पठाएपछि चीनले गुनासो गरेको थियो । भारतमा धेरै सिनियर व्यक्ति पठाउने तर, उत्तरमा विद्यार्थी नेतालाई पठाएको भन्दै चीनले गुनासो गरेको कूटनीतिक वृत्तमा अहिले पनि चर्चा छ ।

अखिलका नेता टंक कार्की निवर्तमान राजदूत महेश मास्के भन्दा अगाडि चीनका लागि राजदूत थिए ।

अहिले केपी ओली सरकारले चीनका लागि नेपाली राजदूतमा निवर्तमान परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाएको छ । एमालेका पुराना नेतासमेत रहेका पाण्डे तत्कालीन सुशील कोइराला सरकारमा परराष्ट्रमन्त्री थिए ।

एक कूटनीतिज्ञले भने, ‘विगतमा आला काँचालाई राजदूत पठाएको भन्ने चीनको गुनासो थियो, अहिले पूर्वपरराष्ट्रमन्त्रीलाई पठाएर चीनलाई रिझाउन खोजेको हो कि भन्ने देखिन्छ ।’

सत्तारुढ नेकपा एमाले सांसद एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले सरकारको निर्णयले छिमेकी मुलुक चीनसँगको सम्वन्ध फराकिलो हुँदै गएको छ भन्ने सन्देश दिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment