Comments Add Comment

सूर्यकिरणज्यू ! मेरा बुबाका हत्यारालाई कस्तो सजायँ हुन्छ ?

सत्यनिरुपण आयोग र पीडितहरुको अपेक्षा

surya-kiran-gurung-final
सुर्यकिरण गुरुङ, अध्यक्ष, सत्य निरुपण तथा मेलमिलाप आयोग

भच्चेक गाउँमा बिहानैदेखि मुसलधारे पानी परिरहेको थियो । सधैंजसो दुखेर सताइरहने दाँतको उपचार गर्न आमालाई लिएर बुबा भच्चेक हेल्थपोस्टका एचए ठाकुरकोमा जानुभएको थियो ।

त्यहाँ पुग्नेबित्तिकै करिब एक किमी पर रहेको ब्यारेकबाट तीनजनाको समूह आयो । माधव अधिकारी भनेको तँ नै हो ? समूहको एउटा बोलिहाल्यो ।

हो, म नै हो हजुर । किन खोज्नुभएको होला ? आर्मी भन्ने भेउ पाइसक्नुभएका बुबाले विनम्रतापूर्वक भन्नुभयो ।

तँ हामीसँग जानुपर्ने भयो, हिँड् । समूहको अलि मोटे एउटा कड्कियो ।

जहान दाँत दुखेर छटपटाइरहेकी छे, एकैछिन तपैहरु यही बस्दै गर्नोस्, अनि म जानेछु, बुबाले दुई हात जोडेर रुँदै भन्नुभयो ।

ए, तेरी बुढीको उपचार गर्न हामी यहाँ बस्नुपर्ने, हिँड् खुरुक्क पैला तेरै दाँत ठीक पार्नुपर्नेछ । अघिकै मोटे मानिस बोल्यो । अनि  उनीहरुले बुबालाई घिसारेर लगे ।

दाँतको उपचार गर्न आउनुभएकी मेरी आमा त्यहीँ बेहोस हुनुभयो। बुबा बेहोस भएकी पत्नीलाई हेर्दै रुँदै जानुभयो । एकैछिनमा आमाको आखाँबाट विलीन हुनुभयो ।

आमा, आर्मीले तपाइसँग केही भनेन ? घर आएपछि मैले सोधें ।

तँ घर जा, तेरो बुढोलाई भरे पठाइदिन्छौं भनेका छन्, आमाले रुँदै भन्नुभयो ।

अरु केही थाहा पाउनुभयो र आमा ? मैंले फेरि सोधें ।

आँखाबाट अविरल आँशुका धारा बगाएर आमाले भन्नुभयो, ‘म त बेहोस भएँछु, । बुबालाई धिसार्दै थिए, बुबा आँखाभरि आँशु पारेर मलाई हेर्दै आर्मीलाई कराइरहनुभएको थियो ।’

बोल्दाबोल्दै आमाका गला अवरुद्ध भए, मेरो काखमा घोप्टे पर्दै रुन थाल्नुभयो, म झन् ठूलो स्वरमा रुन थालें ।

भरे पठाइदिन्छौं भनेका बुबा नआएपछि भोलिपल्ट बुबालाई भेट्ने आशमा हामी सपरिवार ब्यारेक गयौं ।
सर, मेरो बुबालाई हिजै घर पठाइदिने भन्नुभाको थियो, खोइ त ? यो खाना खुवाएर हाम्रो बुबालाई लान्छौं, दाइले रुँदै बोल्यो ।

ए, यति सजिलै भेट्न पाउने भए तेरो बाउलाई यहाँ किन राख्नुपर्थो ? खानाले म लगिदिन्छु । आमाको हातको सामान खोसेर लग्यो । आमा फेरि रुन थाल्नुभयो, एकैछिनमा बेहोस हुनुभयो । दाइ, दिदी र म मिलेर लिएर गयौं र स्वास्थचौकीमा देखायौं ।

यो सब शरीरमा तागत नभएर हो, भिटामिनको बट्टा दिँदै उसले भन्यो ।

थाहा छैन बुबासम्म खाना पुग्यो कि पुगेन, हामी सधैं खाना लैजाँदै रुँदै छाडिदेउ हाम्रो बुबालाई, एकपल्ट मात्र भए पनि भेट्न देउ भन्दै  बिन्ती गरिरहृयौं । हाम्रो रोदन सुन्नु त कता हो कता, उल्टै एक दिन हामीलाई भन्यो, तिम्रो बुढोलाई सदरमुकाम लगेको छ ।

उसका यी कुरा सुन्नेबित्तिकै हामी सबै आमालाई समातेर रुन थाल्यौं । हामी रोएको देखेर आमा झन् मूर्छा पर्नुभयो ।

दिनदिहाडै अस्पतालबाट अमानवीय तरिकाले लिएर ब्यारेक लगिनुभएका हाम्रा बुबा कसरी दोहारो भिडन्तमा मारिनुभयो ?

आमा म सदरमुकाम जान्छु र बुबालाई जसरी भए पनि लिएर आउँछु । दाइले रुँदै भन्यो । आमा केही बोल्नुभएन । एकैछिनपछि आमा नजिकका आफन्तले साथ दिन्छन् कि भनेर जानुभयो । तर, आमासँग सदरमुकामसम्म जान कोही तयार भएनन् । अन्ततः आमा र दाइ भएर बुबालाई लिन भनी सदरमुकाम जानुभयो ।

घरबाट निस्केको आठौं दिनमा आमा र दाइ घर फर्किनुभयो । खोइ त बुबा दाइ ? आर्मीहरुले के भने ? कहिले आउनुहुन्छ बुबा ? दिदीभन्दा दुई वर्षमात्र जेठा दाइ यी सबै प्रश्नका उत्तर दिन नसक्ने भएर नै होला, केही बोल्नुभएन । मैंले आमातिर यसो हेरें, पुरै सुन्निएका आमाका आँखाबाट अझै आँशु झर्दै थिए ।

जिन्दगी आखिर रोएर मात्र कहाँ चल्दोरहेछ र ? विस्तारै हामी आफ्नो दैनिकीमा फर्कियौं । आमाले अर्काको मेलापात गरेर हामीलाई पढाइरहनुभयो । आमा एक्लैले परिवार धान्न नसेकेपछि दाइ कक्षा नौ पढ्दा पढ्दै १४ वर्षको उमेरमा हलोजुवा समातेर अर्काको बाँझो जोत्न विवश हुनुभयो ।

दिदी बिहान बेलुकी मेलापात गरेर जेनतेन पढिरही । कान्छो छोरो र सानै उमेरको (८ वर्ष) भएका कारणले घाँस काट्न बाहेक अरु काम मैले गर्न परेन । यसैबीचमा मलाई काठमाण्डौको एक अनाथालयमा लगियो । म त्यही वातावरणमा घुलमिल भएँ र आफ्नो पढाइ सुरु गरें ।

अहिले फर्केर हेर्दा १२ वर्ष बितिसकेछ । यसबीच देशमा ठूला परिवर्तनहरु भए । ०६३ मंसिर ५ गते द्वन्द्वरत तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भयो, जसमा एउटा प्रमुख बुँदा थियो- ‘जनयुद्धमा बेपत्ता पारिएका र मानवअधिकार हननका विषयमा सत्य-तथ्य पत्ता लगाउन आयोग गठन गरी सत्य निरुपण गरिनेछ ।’

सरकारी उदानसीनता

बुबालाई आर्मीले बेपत्ता पारेको कयौं बर्षसम्म पनि हामीलाई पेल्न खोज्ने हाम्रा आफ्नै मान्छेहरु पछि भन्न थाले- ‘मलाई पहिलै खबर गरेको भए मैले चिनेको आर्मीलाई भनेेर छुटाइदिन्थें नि । आइसीआरसीका प्रतिनिधिलाई भनेर सहजै घर फर्काउन सक्थें नि ।

हाम्रा परिवारको विकसित घटनाक्रमका नजिकका जानकार मान्छेहरु नै यसरी प्रस्तुत हुँदा मलाई लाग्थ्यो ‘मुखमा रामराम बगलीमा छुरा’ कति गरेका होलान् ।’

आजका दिनमा पनि विकास र सरकार भन्ने चिज नजिकबाट अनुभव नगरेको दुरदराजको मेरो गाउँको निम्नवर्गीय अनपढ हाम्रो परिवारमा बुबालाई आर्मीले लगेपछि कानुनी बाटो र अन्य सहयोग पाइन्छ भन्ने कुराको कुनै हेक्का भएन । झन् परिवारको मूली नै नभएपछि हामीले केबल रुनबाहेक केही गर्न सकेनौं । यो नै हाम्रो विवशता थियो र यही हाम्रो दैनिकी बन्यो ।

धेरैपछि फेरि एक दिन जिल्ला प्रशासन कार्यालय गोरखाले भन्यो, हंसपुर ४, गोरखा  निवासी माधव अधिकारी दोहोरो मुठभेडमा मारिए ।

एउटै व्यक्तिलाई कहीँ बेपत्ता, कहीँ शहिद भनेर जिम्मेवार पक्षले पीडितलाई न्याय दिनु त कहाँ हो कहाँ, उल्टै गलत सूचना दिएर पीडा दिइरहे

सरकारको यो रबैया देखेर हामी झन् मर्माहत भयौं र गुनासो गरिह्यौं, दिनदिहाडै अस्पतालबाट अमानवीय तरिकाले लिएर ब्यारेक लगिनुभएका हाम्रा बुबा कसरी दोहारो भिडन्तमा मारिनुभयो ?

हामीले सधैं एउटै माग गरिह्यौं- कि बुबाको सास चाहियो कि लास ? तर, कसैले हाम्रो प्रश्नको जवाफ दिन आवश्यक ठानेनन् ।

अन्ततः आइसीआरसीका प्रतिनिधिले बुबालाई बेपत्ताको सूचीमा राख्न सहमत भए । ०७१ असारमा कोपिला नेपाल र आइसीआरसी नेपालको सहकार्यमा दुबै पक्षका पीडितको वनभोज कार्यक्रम आयोजना गरेका थिए । त्यही दिन आइसीआरसीका प्रतिनिधिले मलाई अलि झर्किएर भने, आर्मीले तिम्रो बुबालाई दोहोरो मुठभेठमा मारिएको भनेका छन्, हामी पनि यही निष्कर्षमा पुग्यौं ।

विनाकुनै प्रमाण उनी बोलेको देखेर मैले रुँदै भने आर्मीकै कुरामा विश्वास हुने भए किन तपाईको आफन्तको कि सास दिन्छौं कि लास दिन्छौं भनेर झूठो आश्वासन दिनुभयो ? किन खेलवाड गर्नुभयो हाम्रो भावनासँग ?

हामी थप कोसिस गर्नेछौं, उनले यति भन्दै मलाई जान भने ।

झन् तत्कालीन नेकपा माओवादीले विनाकुनै प्रमाण अर्को सूचना दियो ठाउँ, दिन र समय नै उल्लेख गरेर । भन्यो- हंसपुर ४ गोरखा निवासी माधव अधिकारीले ०५८/११/१५ मा सहादत प्राप्त गर्नुभयो । उहाँले देख्नुभएका सपना हामी पूरा गर्नेछौं ।

मूल पार्टीबाट छुटि्टएको अर्को एक समूहले शहिद सप्ताहका अवसरमा दिएको सम्मानपत्र पढेर म आश्चर्यचकित परें । लेखिएको थियो – हंसपुर ४ निबासी क. माधब अधिकारीले ०५८/८/५ मा सहादत प्राप्त गर्नुभयो, जबकि त्यो मितिमा बुबालाई आर्मीले गिरफ्तार नै गरेको थिएन । र, उहाँ हामीसँगै हुनुहन्थ्यो ।

यसरी एउटै व्यक्तिलाई कहीँ बेपत्ता, कहीँ शहिद भनेर जिम्मेवार पक्षले पीडितलाई न्याय दिनु त कहाँ हो कहाँ, उल्टै गलत सूचना दिएर पीडा दिइरहे ।

उजुरी सम्बन्धमा

नियमावली बनाइसकेको आयोगले जेठ मसान्तसम्म द्वन्द्वकालमा भएका सम्पूर्ण मानव अधिकार हनन र बेपत्ताका  विषयमा उजुरी गर्न र आयोगसमक्ष निवेदन दिन आह्वान गरेको छ र उजुरीकर्ताको सुरक्षाको प्रत्ताभूति दिलाएको छ ।

आयोगको टोली देश दौडाहामा जाँदा पीडितहरु आयोगसँग आक्रमकरुपमा प्रस्तुत भएका खबरहरु आएका छन्, जुन स्वाभाविकै छन् । किनकि यो आक्रोश बषौंदेखि आफ्नाको यादमा तड्पिरहेको मनको सामान्य प्रतिक्रिया हो ।

खेतीपाती गर्ने मौसममा आयोगले उजुरी मागेकाले वास्तविक पीडितसम्म यो सूचना नपुग्ने सम्भावना पनि छ, जुन कुरामा आयोग चनाखो हुनैपर्छ ।

जनयुद्धका कतिपय घटनाहरु अदालतमा पनि दर्ता भएका छन् र कतिपय मुद्दामा अदालतले फैसला पनि गरिसकेको छ । द्वन्द्वकालका सम्पूर्ण घटनालाई सत्य निरुपण आयोगले छानविन गर्नुपर्ने र अदालतले हस्तक्षेप गर्न नपाउने भनेर प्रशस्त आवाज पनि उठिरहेका छन् ।

द्वन्द्वकालमा मानवअधिकार हननका उल्लेख्य उदारणहरु छन् जुन अदालतले हल गर्न असम्भवप्रायः छ र यी सबै छानविन आयोगको क्षेत्राधिकारभित्रै राख्नु नै यो समस्याको समाधान हो । तर, आयोगले आफ्नो क्षेत्राधिकारको दुरुपयोग गरी कोही व्यक्ति विशेषलाई फसाउने वा कुनै अमूक व्याक्तिलाई चोख्याउने प्रयास भयो भने न्याय सम्पादन अत्यन्त कमजोर हुने र कुमार लामा प्रकरण धेरै पछिसम्म दाहोरिरहनेछ ।

म चाहन्छु, सम्पूर्ण घटनाको निश्पक्ष छानविन भई दोषी कठघरामा उभियोस् । र, पीडितको सहमतिविना पीडकलाई उन्मुक्ति दिने दुस्प्रयास नहोस्

हाम्रो परिवारले बुबाको विषयमा कुनै अदालतमा निवेदन हालेका छैनौं । र, हामीले तत्कालीन समयमा बुबालाई बेपत्ता बनाउनेहरुको हुलियासमेत भूलिसक्यौं । अनि त्योबेलाका जिम्मेवार व्यक्तिहरु पहिचान गर्न सक्ने अवस्था छैन ।

बुबालाई प्रकाउ गर्न सुराकीको रुपमा काम गरेका भनेर केही व्यक्ति थाहा पाए पनि हामीसँग कुनै ठोस प्रमाण छैन । तर, हामीलाई थाहा छ, मेरा बुबालाई तत्कालीन सरकार पक्षले बेपत्ता बनाएको हो, जुन मानवअधिकारको ठाडो उल्लंघन हो र हिरासतमा शारीरिक एवं मानसिक  पीडा दिएको थियो, जुन जघन्य अपराध हो ।

मेरो परिवार चाहन्नौं कि कुनै एक घटनालाई लिएर अनसन बसौं । र, म यो पनि चाहन्न, मेरा बुबाका नाममा कसैसँग प्रतिशोध लिऔं । तर म चाहन्छु, सम्पूर्ण घटनाको निश्पक्ष छानविन भई दोषी कठघरामा उभियोस् । र, पीडितको सहमतिविना पीडकलाई उन्मुक्ति दिने दुस्प्रयास नहोस् ।

मेरी आमा चाहानुहुन्न, गरिब जनतालाई सपना बाँडेर र एउटी महिलाको सिन्दुर पुछेर कोही व्यक्तिविशेषलाई सरकार वा अन्य पद प्राप्त गर्नैका लागि हजारौं सपुतको रगतको खोलो बगाउने दिन फेरि भविश्यमा दोहोरियोस् । तर, उहाँ चाहनुहुन्छ, सामान्य मानवीय संवेदनाको ख्याल नगरी युद्धअपराध गर्नेलाई कडा कारवाही होस् ।

दाइ चाहनुहुन्छ, उनका छोरीका पुस्ता कसैको लहडमा लागेर आफैं आफैंमा रगतको खोलो बगाउन उद्यत नहोउन् । नेपाल आमाका सन्तती कसैको फाइदाका लागि आपसमा नलडुन् ।

सारा द्वन्द्वपीडित र न्यायप्रेमी नेपाली जनता चाहन्छ- आयोगले सत्य तथ्य पत्ता लगाई निरुपण गरोस् ता कि कोही पनि न्याय नपाएर छटपटिनु नपरोस् ।  आयोग यी तमाम काममा सफल होस् । हामी पीडितको शुभकामना ।

आशासँगै आशंका पनि

विडम्बना नै मान्नुपर्छ, सम्झौता भएको एक दशक भइसक्दा पनि कुनै चासो नदेखाएको सरकारले अन्ततः सूर्यकिरण गुरुङको नेत्तृत्वमा सत्य निरुपण आयोग र लोकेन्द्र मल्लिकको नेतृत्वमा बेपत्ता छानविन आयोग गठन गरेको छ, जुन सराहनीय कदम अवश्य हो । तर, राजनीतिक भागवण्डामा केबल कर्मकाण्डीरुपमा गठन गरिएको यस्ता आयोगहरुले निश्पक्ष छानविन गर्ने कुरामा हामी पीडितहरुको गहिरो शंका  छ ।

गठन भएको १४ महिनासम्म नियमावली बनाउन व्यस्त आयोगले समयसीमाभित्रै काम सक्ने कुरामा ढुक्क हुने कुनै ठाउँ छैन । सरकारले तत्काल कम्तिमा तीनवटा कानुन नबनाए अन्तराष्ट्रिय स्तरको न्याय सम्पादन नहुने भनेर सत्य निरुपण आयोगका प्रमुखले भनिसकेको अवस्थामा पनि सरकारले ढिलासुस्ती गर्नु र आयोगले आफ्ना नियमावलीमा बनाएका कतिपय कुराहरु जस्तै अनुसन्धानका दौरान पीडकलाई देश छाड्न अनुमति नदिने, वयानका बेला नआए पक्राउ पूर्जी जारी गर्न पाउने र कर्मचारीलाई कामकै आधारमा दोषी करार गर्न नपाउने जस्ता कुरालाई सरकारले आफूखुसी हटाइदिनुले आयोगमाथि सरकारका हस्तक्षेपकारी नीति कुन हदसम्म रहनेछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

झन् आयोगका पदाधिकारीहरुवीच काम सुरु गर्नुअगावै एकआपसमा मनमुटाव बढ्नुलाई पीडितलाई न्याय दिलाउनभन्दा पनि कोही व्यक्ति हुन्छ । यी र यस्ता यावत कुराले हामी पीडितलाई न्याय पाइएला भन्ने आशा छैन । तर, फेरि हामीले आयोगलाई सम्मान गर्दै सक्दो सहयोग गर्नैपर्छ, किनकि यो नै आधिकारिक र हामी सम्पूर्ण पीडितको अन्तिम आशाको किरण हो ।

(हंसपुर ४, काफलडाँडा, गोरखाका अधिकारी द्वन्द्व पीडित हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment