Comments Add Comment

मनमोहनको कार्यकाल इतिहासमै अनुकरणीयः रामचन्द्र

Ramchandra Paudel

१३ वैशाख, काठमाडौं । एमालेका नेताहरु अहिलेसम्म पनि २० बर्ष अगाडि बनेको आफ्नो ९ महिने सरकारको बखान गरेर थाक्दैनन् । स्व. मनमोहन अधिकारीको नेतृत्वमा बनेको सो अल्पमतको सरकार कांग्रेसले अविश्वास प्रस्ताव ल्याएर ढालेको थियो ।

तर, त्यही कांग्रेसका एक शिर्ष नेताले सोमबार एक कार्यक्रममा मनमोहन सरकारको प्रशंसा गरे ।

प्रशंसा गर्ने नेता हुन् हालै पार्टी महाधिवेसनमा पराजित रामचन्द्र पौडेल । उनले भने, ‘मनमोहनजी प्रधानमन्त्री हुँदा नेपाली जनताले कहिल्यै नबिर्सिने छाप दिनुभयो । उहाँले नेतृत्व गरेको सरकारको कार्यकाल छोटो भए पनि साह्रै प्रशंसनीय र अनुकरणीय रहेको छ ।’

एमालेका भुतपुर्व अध्यक्ष समेत रहेका मनमोहनको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दैथिए पौडेल । उनले भने, ‘मनमोहन अधिकारीले जुन मिसनका लागि आफ्नो सिंगो जीवन अर्पण गर्नुभएको थियो, त्यसलाई लक्ष्यमा पुर्‍याउने अवसर आज हाम्रोसामु छ ।’ मनमोहनको जीवन सबैका लागि उदाहरणीय रहेको भन्दै पौडेलले उनको सपना साकार पार्नुपर्ने पनि उल्लेख गरे ।

पौडेलले मनमोहनसँग आफ्नो सहयात्रा यसरी सम्झे, ‘मनमोहनजी, शम्भुराम जी, कमल कोइरालाजी र म भद्रगोल जेलमा सँगै थियौं । हामी निरन्तर राजनीतिक संवाद गथ्र्यौं । राष्ट्रको चिन्तन गथ्र्यौं । बेलुकीपख सँगै बाहिरफेर घुम्थ्यौं । हामी अलग-अलग पार्टीका हौं भन्ने खालको भावना नै थिएन । जेलबाट पनि हामी सँगै छुटेयौं र सँगसँगै राजनीति गर्‍यौं । कार्यक्रमहरुमा सँगै भयौं । मलाई उहाँसँग बिताएका क्षणहरु याद आइरहेका छन् ।’

उनले अगाडि भने, ‘वास्तवमा नेपालका केही नेताहरु हुनुहुन्थ्यो, जो सबै पार्टीका साझा नेता जस्तो लाग्थ्यो । वीपीलाई म सान्दाजु भन्थेँ, भरतमोहजीले पनि सान्दाजु भन्नुहुन्थ्यो । मनमोहनजी भरतमोहनजीका दाजु हुनुहुन्थ्यो, म पनि उहाँलाई दाजुजस्तो मान्थेँ र सम्मान गर्थेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment