Comments Add Comment

जनताको आशिर्वाद छ, त्यसैले यस्तो भएँ: प्रधानमन्त्री ओली

गच्छदारको पाखुरामै समातेर ओलीले भाषण गर्न रोके

KP Oli

१३ वैशाख, काठमाडौं । जहाँ पनि बोलाएको समयभन्दा घन्टौं ढिला पुग्ने प्रधानमन्त्री केपी शर्मा ओली सोमबार एक कार्यक्रममा भने रेकर्ड नै राख्ने गरी (!) छिटो पुगे । साढे १२ बजे सुरु हुने भनिएको कार्यक्रममा उनी एक नबज्दै पुग्नु सुखद आश्चर्य नै थियो ।

स्व. मनमोहन अधिकारीको १७ औं स्मृति दिवसका अवसरमा प्रज्ञाभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुग्दा अन्य पार्टीका अतिथिहरु आइसकेका थिएनन् । दर्शकदीर्घा पनि आधा जस्तो खाली नै थियो ।

‘खोई त सुरु गरेको ?’ प्रधानमन्त्री घडी हेर्दै आयोजकसँग कड्किए ।

‘एक छिन अरु नेताहरुलाई पर्खिने कि ?’ आयोजकले आग्रह गरे ।

‘त्यसो गर्न भएन । टाइम भनेको टाइम हो । सुरु गर्नुस्, प्रधानमन्त्रीले आदेश दिए ।

आयोजक पनि बाठा रहेछन् । उनीहरुले मनमोहनको जीवनीमाथि बनेको एउटा वृत्तचित्र प्रोजेक्टरमा बजाएर कार्यक्रम सुरु भएको भान पारे ।

नारायणकाजीलाई रामचन्द्रको ‘डाक्टर उपाधि’

कार्यक्रममा चार दलका अध्यक्षहरुलाई बोलाइएको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आएनन् । देउवाको दिल्ली बसाई लम्बिएकाले र प्रचण्डलाई अचानक विसन्चो भएकाले आउन नसकेको जानकारी आयोजक मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले दिए ।

‘देउवाजीको अस्ति १० गते दिल्लीबाट फोन आयो, डाक्टरी जाँच नसकिएकाले आउन बिलम्ब भयो भनेर । प्रचण्डजी अघि ११ बजेसम्म पनि आउने कुरा थियो । तर, साढे ११ बजे अचानक रिंगटा लागेर औषधि खाएर बसिरहनुभएको रहेछ,’ उनले भने ।

देउवाको स्थानमा रामचन्द्र पौडेल र प्रचण्डको स्थानमा नारायणकाजी श्रेष्ठ प्रकाश कार्यक्रममा उपस्थित भए । सबैभन्दा ढिला आएका थिए कांग्रेस नेता पौडेल । उनी आउनासाथ वृत्तचित्र बन्द गरेर औपचारिक कार्यक्रम सुरु गरियो । अधिकारीले स्वागत मन्तव्य दिएपछि पहिलो भाषण पौडेलले नै गरे ।

आफ्नो सम्वोधन सुरु गर्ने क्रममा पौडेलले अनायास एमाओवादीका उपाध्यक्षको नाम अगाडि डाक्टर जोडिदिए (सायद उनलाई नारायण खड्काको झल्को आयो) । दर्शकहरु हाँसेपछि पनि उनले गल्ति सच्याउन चाहेनन् । ‘मेरो लट्पटिएको जिभ्रोबाट डाक्टर उपाधि पाउनुभएकोमा डा. नारायणकाजी श्रेष्ठलाई बधाई दिन चाहन्छु,’ भनेर उनले थप हँसाए । नारायणकाजी गमक्क परेर बसेका थिए ।

‘मलाई आज हतार छ,’ प्राय लम्बेतान भाषण गर्ने पौडेलले १० मिनेटमै आफ्नो सम्वोधन टुंग्याउन खोजे, ‘केही दिनका लागि बाहिर जाँदैछु । -हाँस्दै) खासमा छोरीको ‘उ’ छ । नेपालमा त्यस्तो केही पर्‍यो र प्रधानमन्त्रीले आइज भन्नुभयो भने हाम्फाल्दै आउँछु ।’

आफ्नो छोटो भाषणमा उनले ‘संविधानको मापदण्ड नाघेर’ जम्बो मन्त्रीमण्डल बनाएको र पुनर्निर्माणमा ढिलाई गरेको विषयमा सरकारको आलोचना गरेका थिए । साथै प्रधानमन्त्री र एमाओवादी अध्यक्षले कांग्रेसलाई सरकारमा आउन लगातार आह्वान गरे पनि अहिले त्यसको दरकार नरहेको पौडेलले बताए । भाषण सकेर उनी खडे-खडे विदा भए ।

ओलीले गच्छदारलाई रोके

pm-oli-and-Ram-chandra-Paudel

पौडेलपछि उद्घोषकले फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई बोल्न आमन्त्रित गरिन् । प्रधानमन्त्री ओलीसँगै टाँसिएर बसेका गच्छेदार उठ्न खोजे । तर, आधा नउठ्दै ओलीले उनको पाखुरामा च्याप्प समाते र सोफामा बसाए ।

‘तपाईं बस्नुस, पहिले म बोल्छु’ सायद यस्तै केही भने । गच्छेदारले हाँस्दै अनुमति दिए । नबोलाएका वक्ता मञ्चतिर आएपछि उद्घोषक अलमल्ल परिन् । प्रधानमन्त्री उनको अगाडि ठिङ्ग उभिएका थिए । त्यसपछि उनले आफ्नो उद्घोषण सच्याउँदै भनिन्, ‘प्रधानमन्त्रीको अर्को कार्यक्रममा जानुपर्ने भएकाले गच्छदारभन्दा अगाडि भाषण गर्न आउनुभएको छ ।’

पौडेललाई ओलीको जवाफ

प्रधानमन्त्रीे आफ्नो भाषण मनमोहन अधिकारीको चर्चाबाट सुरु गरे । उनलेे मनमोहनलाई छुटाएर लेखिने नेपालको इतिहास अधुरो र अपुरो हुने बताए । त्यसपछि राजनीतिक विषयमा प्रवेश गरे र सबैभन्दा पहिले रामचन्द्रलाई जवाफ दिए ।

‘मभन्दा अघिका वक्ताले धेरै राम्रो भाषण गर्नुभयो तर, एक ठाउँमा चुक्नुभयो,’ ओलीले भने, ‘नेपालको संविधानको भाग ३३ को धारा २९८ को उपधारा ५ मा संक्रमणकालीन व्यवस्थामा जस्तो सरकार बनाउनु भनेको छ, यो मन्त्रिपरिषदको बनोट त्यस्तै छ । नत्र अहिले नै संविधान पल्टाएर हेर्नुस् ।’

फेरि थपे, ‘ठूलो मन्त्रिपरिषद बनायो भनेर मलाई आरोपित गर्ने वक्ताको पार्टीले नेतृत्व गरेको सरकारमा अहिलेको भन्दा धेरै मन्त्री थिए ।’

पुनर्निर्माणको ढिलाईको दोष कांग्रेसतिर 

भूकम्पपछिको पुनर्निर्माणमा ढिलाई गरेको भनेर पछिल्ला दिनमा निकै आलोचित छन् ओली । उनले यसको पनि जवाफ दिए ।

पुनर्निर्माणमा भएको ढिलाईको अपसज उनले कांग्रेसको पोल्टामा हालिदिए । ‘यसरी प्रचार गरिएको छ, मानौं प्रधानमन्त्री भएपछि मैले नै भुईंचालो ल्याइदिएको हो । तर, भुईंचालो आएको ६ महिनासम्म कुन पार्टीको सरकार थियो ? त्यसपछिको ३ महिनासम्म कुन पुनर्निर्माण प्राधिकरण गठन हुन नदिएर कुन पार्टीले संसदमा लफडा गर्‍यो ? कुन पार्टीले देशभरबाट क्षतिको एक-एक रिपोर्ट नआएसम्म पुनर्निर्माण सुरु नगर्ने शर्तमा दाताहरुसँग सम्झौता गर्‍यो ? कांग्रेस सरकारको शैलीमा अघि बढेको भए ३-४ वर्षसम्म पनि छाप्रो बनाउन सुरु हुने थिएन ।’

पुराना फुटेज देखाएको गुनासो

भूकम्प गएको एक वर्षपछि सञ्चारमाध्यमहरुले पुराना फुटेज र तस्वीरहरु देखाएर आँखामा छारो हाल्न खोजेको आरोप ओलीले लगाए । उनले भने, ‘तर, कसैले झुक्याउन खोज्दैमा जनता झुक्किनेवाला छैनन् । बच्चाले पनि टेलिभिजन हेरेर भन्दैछन्, यो त पोहोरको दृष्य हो ।’

प्रधानमन्त्रीले अहिले आफ्नो मुख्य प्राथमिकता नै पुनर्निर्माण रहेको उल्लेख गरे । उनले भने, ‘म बिहानदेखि बेलुकासम्म भिडिरहेको छु । राति अबेरसम्म व्यस्त हुन्छु । साथीहरुले भन्नुहुन्छ, खाना त टाइममा खानुस् । म जवाफ दिन्छु, ‘टाइममै खाएको छु । कहिले टाइम दुई बजे हुन्छ, कहिले ४ बजे, कहिले पाँच बजे ।’

‘अहिलेको सरकारका विभिन्न विशेषतामध्ये एउटा विशेषता हो, दृढता । हामी यही दृढताका साथ पुनर्निर्माणमा जुटेका छौं । एउटा हिन्दी गीतमा भन्छ नी, ‘देखते रहियो’ । म पनि आलोचकहरुलाई भन्न चाहन्छु, देखते रहियो’ चोरी औंला ठड्याएर प्रधानमन्त्रीले भने ।

जनताले तथास्तु भनेपछि यस्तो भयो

Kp-oli

‘कतिलाई यो सरकार बनेको मन परेको छैन । कतिलाई म प्रधानमन्त्री बनेको मन परेको छैन । तर, मलाई मेरी आमाले बच्चा छँदा कोक्रामा हाले जसरी प्रधानमन्त्रीको कुसीमा हालिदिनुभएको होइन । तपाईंहरुले यो पदमा राखिदिनुभएको हो । त्यसैले म तपाईंहरुको हितमा काम गर्छु,’ प्रधानमन्त्रीले यसो भन्दा प्रज्ञा भवनको हलभित्र तालीको गड्गडाहट सुनियो ।

उनले थपे, ‘जायज कुरा जसको पनि सुन्न तयार छु । तर, अरु कसैको भारी बोकेर यहाँ तमासा गर्नेहरुसँग कुनै सम्झौता गर्दिन । मलाई यही जनादेश छ ।

केही मान्छे छट्पटाएका छन् । यो सरकारले नीति-कार्यक्रम र बजेट ल्यायो भने जनताको पक्षमा के-के काम गर्ने हो भनेर उनीहरुको निद्रा भंग भएको छ । म भन्छु धुप हाल्नुस् । प्रार्थना गर्नुस् । अरु कुनै उपाय छैन । किनकी जनता हाम्रो साथमा छन् ।

मैले यो खास अर्थका साथ भन्दैछु । मलाई जनताको आशिर्वाद छ । टेलिभिजनमा देखाउँछ नी, जब कसैलाई संकट पर्छ र ईश्वरको आराधना गर्छ, त्यतिबेला गोलो प्रकाशभित्र एउटा हात प्रकट हुन्छ -आफ्नो हात देखाउँदै) र तथास्तु भन्छ । त्यसपछि एकाएक सबै संकट निवारण हुन्छ । हो, मैले जनताबाट यही तथास्तुको हात पाएको छु । जनताको आशिर्वाद हुञ्जेल कसैले मेरो केही विगार्न सक्दैन ।’

‘हिजो केपी ओली बिरामी छ, मर्न लागेको छ भन्थे । तपाईंहरुले हात यसो गरेपछि, हेर्नुस् आज के भएँ ?’

सीमांकन जनताले नमाने के गर्ने ?

प्रधानमन्त्री ओलीले प्रदेश सीमांकनको विषयमा व्यापक चर्चा आफूले सुनेको उल्लेख यसमा सम्वन्धित पक्षहरुसँग छलफल गर्न तयार रहेको बताए ।

पूर्व-पश्चिम हुने गरी संघीय प्रदेशहरु बनाउन नसकिने घुमाउरो आशय उनले प्रकट गरे । ओलीले भने, ‘सीमांकनको विषयमा छलफल गर्न तयार छु । तर, जनचाहना विपरित जान सक्दिनँ । पूर्वपश्चिम भनेको ठाउँमा जनताले हुँदैन उत्तर दक्षिण चाहिन्छ भने भने केे गर्ने ?’

प्रधानमन्त्रीले संविधान कार्यान्वयनका लागि स्थानीय चुनाव, प्रादेशिक चुनाव र संसदीय चुनाव सम्पन्न गरिने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment