Comments Add Comment

फोटोमात्रै थप्न आउनुभएको हो भने ओलीको काम सिद्धियो !

'मधेसीलाई दबाउन खोजियो भने 'रिएक्सन' डरलाग्दो हुन्छ'

Dil-Nath-Giri

१४ वैशाख, काठमाडौं । राप्रपा नेपाल सत्तारुढ दल हो । र, यो पार्टीका प्रमुख सचेतक हुन् दिलनाथ गिरी । तर, अनलाइनखबरसँगको कुराकानीका क्रममा गिरी सत्तापक्ष हैन, प्रतीपक्षका नेताजस्तै गरी प्रस्तुत भए ।

प्रधानमन्त्री केपी ओलीले जनतालाई अनुभूत हुने गरी काम गर्न नसक्ने हो भने छुट्टी लिनुपर्ने बताउँदै गिरीले अनलाइनखबरसँग भने- नेपाली जनता रोइराखेका छन् । चुल्हो बन्द भइराखेको छ । ग्यास अभाव छ । तेल अभाव छ । महंगी छ । भ्रष्टाचार छ । तर, यसमा ध्यान दिनुको बदलामा हामी आफ्नै उसमा अल्मलिएका छौं ।’

भर्खरै बेलायत भ्रमण सकेर फर्किएका गिरीसँग अनलाइनखबरले सरकारले गर्नुपर्ने काम, मधेस मामिला र राप्रपा नेपालभित्रको लफडाबारे गरेको कुराकानीः

तपाईहरु भर्खरै बेलायत घुमेर र्फकनुभएको छ । संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा संसदले अहिलेसम्म नियमावली बनाउन सकेको छैन, यस्तोबेलामा तपाई प्रमुख सचेतकहरु सभामुखको पछि लागेर विदेश घुम्न जाने ?

सभामुखको पछि लागेर हामी रमाइलो गर्न विदेश गएको होइन ।

यस्तो महत्वपूर्ण काम छाडेर किने गएको त विदेश ?

हामी गएको किन त भन्दा बेलायतसँगको हाम्रो सम्बन्ध स्थापित भएको २ सय वर्ष भयो । यो उपलक्षमा दुई देशका सांसद र सभामुखको एउटा सदभावना भ्रमण गराउने र सम्बन्धलाई बलियो बनाउने भूमिकासमेत भएको हुँदा संसद नचलेको अवस्थामा उहाँहरुको निमन्त्रणा सभामुखजीले स्वीकार गर्नुभयो । र, उहाँले चारवटै दलका प्रमुख सचेतकहरुलाई लिएर जाने निर्णय गर्नुभयो ।

के तपाईलाई लाग्दैन, सभामुखले यतिबेला बेलायतको निम्तो स्वीकार गर्नुभन्दा संसदको नियमावली बनाउने विषयमा अड्केको गाँठो फुकाउनेतिर लाग्नुपर्थ्यो ?

हैन, यो त ढीलो नै भइसक्यो हगि । वास्तवमा अहिले जटिल समस्या भएको छ, नियमावली बन्न सकिराखेको छैन । संसदीय सुनुवाइ समिति बन्न सकेको छैन । यो विषयमा ठूलो विवाद छ । यो विवादलाई मिलाएर चाँडोभन्दा चाँडो हाउस बोलाउनुपर्ने कर्तव्य हो ।

बेलायत जाँदा सभामुखसँग यसबारे कुरा भएन ?

भयो, यसबारे हाम्रो छलफल भयो ।

सभामुखले के भन्नुभो ? हाउस अझै नबोलाउने भन्नुभो कि ?

हैन, उहाँले बोलाउने भन्नुभो । उहाँले के भन्नुभो भने अब २१ गते हामी हाउस बोलाऔं । हाउस बोलाउनलाई सभामुखले त सिफारिस सम्ममात्रै गर्ने हो । यो त विशेष गरेर सरकारले नै चाहनुपर्छ । सरकारले बिजनेश दिएन भने त हाउसको केही मतलव हुँदैन । तर, हाउस बोलाउने सिफारिस गर्नोस् भनेर हामीले सभामुखज्यूलाई सल्लाह दियौं ।

उहाँ २१ गतेका लागि लगभग तयार पनि हुनुभएको छ । अब सरकारले यसमा सहमति जनायो भने २१ गते हाउस सुचारु हुन्छ । त्यो हाउसले नियमावली, सुनुवाइ समिति सबै पूरा गरेर बजेट पनि ल्याउनु छ । प्राधिकरणको समस्या छ, भूइँचालोको समस्या छ । अझै पनि मधेसवादी दलहरुसँग कुरो मिलिराखेको छैन । यी सबै समस्यालाई समाधान गर्नुछ ।

प्रतिपक्षी नेपाली कांग्रेसले आरोप लगाइरहेको छ कि सत्तापक्षले संसदलाई टार्न खोजिरहेको छ । राप्रपा नेपाल पनि त्यही ड्याङको हो कि ?

हैन, कांग्रेसले पनि मेरो गोरुको बाह्रै टक्काजस्तो गर्नुहुँदैन । नियमावली बन्ने कुरामा के गर्दाखेरि मुलुकको हित हुन्छ, के गर्दा जनताको चाहना पूरा हुन्छ र जनप्रतिनिधिको दायित्व पूरा हुन्छ, त्यो गर्नुपर्छ । विरोधमात्रै गर्ने र डिस्टर्बमात्रै गर्ने बाटोमा त जानुभएन नि । विरोधै मात्र गर्ने र कुनै पनि रचनात्मक काम गर्न नदिने त्यो त ठीक होइन नि ।

तपाई कांग्रेसलाई दोष दिँदै हुनुहुन्छ, विगतमा सुवास नेम्वाङले शीर्ष नेतालाई बोलाएर छलफलबाटै गाँठो फुकाउने प्रयास गर्थे । अहिलेका सभामुखले त त्यो पनि गरेको देखिँदैन, किन ?

त्यो त एकदमै राम्रो र डेमोक्रेटिक प्रक्रिया हो । सभामुखलाई मैले सल्लाह दिएको छु, तपाईले शीर्षर्नेताहरुलाई बोलाउनोस्, छलफल गर्नुहोस्  र एउटा निकास निकाल्नोस् । किनभने अब धेरै ढीलो भइसक्यो । एउटा जनप्रतिनिधिको हैसियतले भन्ने हो भने जनताका अगाडि लाजमर्दो नै भइसक्यो । हामी जनप्रतिनिधि हौं कि होइनौं भन्ने पनि प्रश्नचिन्ह खडा भइसक्यो । नेपाली जनता रोइराखेका छन् । चुल्हो बन्द भइराखेको छ । ग्यास अभाव छ । तेल अभाव छ । महंगी छ । भ्रष्टाचार छ । तर, यसमा ध्यान दिनुको बदलामा हामी आफ्नै उसमा अल्मलिएका छौं । कसरी सत्ता प्राप्ति गर्ने भन्ने ध्यानमा हामी गएका छौं । यो अत्यन्तै गम्भीर त्रुटी हुँदैछ । हाम्रो यो कामकारवाहीलाई हामीले सुधार गर्न सकेनौं भने यो सिस्टमलाई जोगाउन नसक्ने अवस्था हुन्छ ।

तपाईले नै अहिलेको सरकारको यस्तो दुरावस्था बताउनुभयो, कहिलेसम्म तपाईहरु केपी ओलीको छायाँ बनेर टुलुटुलु हेरेर बसिरहनुहन्छ ?

केपी शर्मा ओलीले यो राष्ट्र र जनताको समस्यालाई मुक्ति गर्छु भनेर एउटा प्रतिवद्धता गर्नुभएको छ । एउटा सक्षम देश निर्माण गर्छु भन्नुभएको छ । तर, उहाँले काम गर्न सुरु गरेको भोलिपल्टदेखि सही गरेको मसी नै नसुकिकन विकल्प खोज्ने हाम्रो संस्कृति छ । कामै गर्न नदिने ? अनि कसरी उसले आफ्नो टार्गेट पूरा गर्ने ?

यो त तपाईहरुको अर्कालाई दोष देखाएर पन्छिने मेलो मात्रै हो । कांग्रेसले पनि त सक्रिय प्रतिपक्षीको भूमिका खेल्छु भनेकै छ । मधेसीले ओलीको राजीनामा मागेकै छैनन् । सरकारलाई काम गर्न दिइएन, डिस्टर्ब गरियो भन्नु त बेकारको कुरो होइन र ? आफू केही काम गर्न नसक्ने अनि अरुले काम गर्न दिएनन् भन्ने ? मधेसीको माग सम्बोधन गर्न कम थापाको एक सदस्यीय कमिटी बनाइयो, त्यसले कामै गरेको छैन । यसरी दोषजति अर्कालाई पन्छाउन पाइन्छ ?

हैन, दोष अरुलाई पन्छाएको होइन । कमल थापाको नेतृत्वमा जुन समिति बनेको छ, त्यसले मधेसवादी दलहरुसँग विगतमा सकारात्मक छलफल गरेको छ । अहिले यो समितिले काम सुरु गरेकै छैन । योभन्दा अगाडि पनि कमल थापाजीकै नेतृत्वमा वार्ता र छलफल गर्ने काम भएको हो र मधेसवादी दलहरु पनि सकारात्मक देखिएका हुन् ।  त्यसैले यो समितिले काम शुरु गर्‍यो भने एउटा निश्कर्ष निस्कन्छ ।

हामीले के बिर्सनुहुँदैन भने मधेसवादी दलहरुले उठाएको जो मुद्दा छ, मैले बुझेको तीनवटा कुरा हो, एउटा मधेसवादीहरुले उठाएको कुरो हामी तराई मधेस, हिमाल र पहाड जो जहाँ बसोबास गर्छौं, हामी सबै नेपाली हौं भनेको छ उहाँहरुले । दोस्रो कुरो,  मधेसमा बस्नेलाई ‘ओई मधेसिया’ भनेर विभेद नगर, हामी नेपाली हौं भन्नुभएको हो । तेस्रो कुरो हामी प्रत्येक नेपालीले पाउने अवसर समानरुपमा पाउनुपर्छ भन्नुभएको हो । यी तीनवटा कुरामा विभेद गर्दा अन्याय भयो भन्ने एउटा शक्ति निस्कियो ।

मधेसमा विखण्डनकारी शक्ति पनि निस्कियो । उहाँहरुले विखण्डनकारी शक्तिसँग किन हातेमालो गर्नुभयो भन्दा उहाँहरुले उठाएका मुद्दालाई सम्वोधन नगरिदिँदा ‘मरता क्या नहीं करता’ भनेजस्तो भएको हो । गोलमटोल रुपमा सबै मधेसवादीहरु विखण्डनकारी हुन् भनेर हेरियो भने त्यो गलत हु्न्छ ।  यो कुरो त सरकारमा बस्नेले बुझिदिनुपथ्र्यो नि त । नबुझ्नु उहाँहरुको अपरिपक्वता र असक्षमता हो । तर, कमल थापाको नेतृत्वमा जुन समिति बनेको छ, त्यसले यसलाई तार्किक निश्कर्षमा पुर्‍याउँछ । कमल थापासँग यो क्षमता छ । यो बुझेरै प्रधानमन्त्रीले कमल थापाको नेतृत्वमा यो समिति गठन गर्नुभएको हो ।

राप्रपा नेपाल यही ढंगबाट अघि बढ्यो भने कांग्रेस, एमाले र एमाओवादीको हैसियत समाप्त हुन्छ । हामीलार्इ ९४ प्रतिशत जनताको समर्थन छ

उसोभए आन्दोलन गर्न लागेका मधेसवादी दलहरुसँग अब सरकारले  वार्ता र छलफल अघि बढाउँछ त ?

गर्छ । यसको कुनै विकल्प छैन । कसैको पनि समस्या वा पहिचानलाई जबरजस्ती रुपमा रोक्न खोजियो भने वा जबरजस्ती रुपमा दबाउन खोजियो भने त्यसको ‘रिएक्सन’ डरलाग्दो हुन्छ ।

तर, मधेसवादीहरुको आन्दोलनले केही गर्न सक्दैन भनिराख्नुभएको छ त गृहमन्त्री र प्रधानमन्त्रीले ?

त्यो केटाकेटी कुरा हो । देशको परिस्थिति र समस्यालाई नबुझ्नेहरुले दिने प्रतिक्रिया हो त्यो । जसले यो राष्ट्रलाई बुझेको छ, त्यसले जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्छ । गैरजिम्मेवारी ढंगबाट काम गर्दाखेरि त आज यो हालतमा आयौं हामी । हामीले कहिले शिक्षा लिने ? के सत्तामा पैसा कमाउन जाने हो ? सत्तामा गएर मोजमस्ती गर्ने, जनता मरे मरुन् भन्ने उद्देश्य राख्ने हो अग्रगामी भन्नेहरुले ?

हिजो पञ्चायतलाई गाली गरियो । तर, पञ्चायतले के-के काम गर्‍यो भन्ने हो भने अहिले २६ वर्ष बित्यो, अहिले इँधेरले २६ वर्षमा पञ्चायतको आर्जन खाएर बिताएका छन् । एउटा ढुंगो थपेका छैनन् । के यही हो अग्रगामी व्यवस्था ? अहिले २६ वर्षले के दियो हामीलाई ? यतातिर पनि फर्किएर मूल्यांकन गर्ने बेला आएको छ । पञ्चायतको मात्रै सत्तोसराप गरेर नेपाली जनताको पेट भरिन्छ ?

तपाई नै यसो भन्दैहुनुहन्छ, अनि तपाईहरुको यो सरकारको औचित्य के त उसोभए ? न यसले राजनीतिक समस्यालाई सम्वोधन गरेको छ, न पुनर्निर्माण गर्न सकेको छ, न त जनताको दैनिक समस्या नै समाधान गर्न सकेको छ । तर, सरकारको काममाथि प्रश्न उठाउनासाथ तपाईहरु राष्ट्रियताको आड लिन थालिहाल्नुहुन्छ, राष्ट्रियताका नाममा जनतामाथि जे गर्न पनि छुट हुन्छ र ?

मैले भनिहालें, यो सबै समस्याको समाधान गर्ने प्रतिवद्धता राखेर  राखेर केपीजी आउनुभएको हो । केपी ओलीजी प्रधानमन्त्रीको फोटोमात्रै थप्न आउनुभएको हो भने उहाँको काम सिद्धियो । हैन भने जनताको समस्या समाधान गर्ने प्रकारबाट उहाँले काम सुरु गर्नुपर्छ । जनताले अनुभूति गर्ने प्रकारले काम गर्नुपर्छ, होइन भने उहाँले छुट्टी लिनुपर्छ ।

अब अलिकति राप्रपा नेपालभित्रको लफडाबारे कुरा गरौं, तपाई सहअध्यक्ष केशरबहादुर विष्टमाथि भएको कारवाहीको पक्षमा कि विपक्षमा ?

म त यो राप्रपा नेपाललाई पहिलो शक्तिका रुपमा स्थापित गर्नुपर्छ, सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने मान्छे हुँ । तर, पार्टीलाई बलियो बनाउनका लागि सबैले पार्टीले निर्माण गरेको अनुशासनको दायराभित्र त सबैले बस्नैपर्छ । पार्टीको विधि विधानलाई सबैले मान्नैपर्छ । विधि विधान मान्दिँन भन्यो भने पार्टीको नजरले कसैलाई छाड्दैन । अहिले केशरबहादुरजीको विषयमा जति कुारहरु आएका छन्, यो अतिरञ्जित किसिमले आइरहेका छन् ।

तपाई केशरबहादुरमाथि कारवाही हुनुपर्छ भन्ने मान्छे हो कि हुनुहुँदैन भन्ने ?

केशरबहादुर विष्टजीलाई पार्टीमा ल्याउनुपर्छ भनेर सुरुमा भन्ने मान्छे नै मै हो । उहाँजस्तो वौद्धिक मान्छे, राजनीतिज्ञ मान्छेलाई पार्टीमा ल्याऔं भनेर मैले धेरैपटक पार्टी अध्यक्षसमक्ष कुरा राखें । केशरजीसँग पनि  पनि वार्ता गरें । तर, बेलाबेलामा मलाई के प्रश्न आउँथ्यो भनेदेखि केशबहादुरजी राजनीतिकरुपमा स्थिर त हुनुहुन्न नि । उहाँको घुमिरहने क्यारेक्टर छ, उहाँ पार्टीमा टिक्नुहोला र ? यो पनि प्रश्न मलाई आइराखेको हुन्थ्यो । हो समय र परिस्थितिले मान्छेलाई कहिलेकाहीँ विचलित बनाउँछ । यसबाट शिक्षा लिनुहुन्छ भने उहाँमाथि धेरै शंका नगरौं भनेर मैले भनेको थिएँ । अहिले आएर केशरजीका विषयमा जुन चर्चा भएको छ, उहाँलाई पार्टीले कुनै हालतमा पनि कारवाही गरेको होइन, पार्टीले कारवाही गर्नका निमित्त उहाँले बाध्य बनाएको हो ।

तपाईहरुको कुरा पनि अचम्मको छ ।  राप्रपा नेपाल आफैं राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी हो, तर यही कुरा बोलेवापत विष्टमाथि किन कारवाही ?

उहाँले त्यस्तो बोलेवापत कारवाही भएको होइन । हिन्दु राष्ट्र र राजतन्त्र हुनुपर्छ भनेर हामीले जुनबेलामा भन्यौं, जुनबेलामा अध्यक्ष कमल थापाले यो विचार राखेर अगाडि बढ्नुभयो, त्योबेलामा हाम्रो ज्यान जोखिममा थियो । बोल्न सक्ने अवस्था थिएन । तर, त्यसबेला केशरबहादुरजी गणतन्त्रमा हुनुहुन्थ्यो ।

हिजो मरे मर्छु तर राजतन्त्रबारे बोल्छु भन्ने कमल थापा आज गलत हुने अनि हिजो राजतन्त्र ठीक छैन, गणतन्त्र चाहिन्छ भन्ने केशरजीचाँहि अहिले राष्ट्रवादी ? यो गलत कुरा हो क्या ।

मुलुकको चौथो शक्तिकारुपमा उदाएको राप्रपा नेपालभित्र किन यस्तो लफडा परेको होला ?

हाम्रो यो शक्तिलाई असफल पार्न देशी र विदेशी शक्तिहरु लागिपरेका छन् । किनभने राप्रपा नेपाल यही ढंगबाट अघि बढ्यो भने कांग्रेस एमाले र एमाओवादीको हैसियत समाप्त हुन्छ । राप्रपा नेपाललाई ९४ प्रतिशत जनताले समर्थन गरे भने यो पहिलो शक्ति हुन्छ । यसले गर्दा विदेशीहरु पनि थर्कमान भएका छन् र स्वदेशी पनि थर्कमान भएका छन् । त्यसैले दुईवटै शक्तिहरु लागेर कमल थापाका विरुद्धमा अभियान चलाएका छन् ।

केशरबहादुरले पनि यही अभियान चलाएका हुन् त ?

राप्रपा नेपालविरुद्ध देशीविदेशी आक्रमणमा योजनावद्धरुपमा लागेको देखिएको छ ।

सहायक मन्त्री रहेका छोरा बिराज विष्टलाई चाँहि किन कारवाही गरेको ? केशरबहादुरको छोरो भएरै हो ?

म त अत्यन्तै दुखी छु केशरबहादुरलाई कारवाही गर्दा, छोरालाई पनि कारवाही गर्दा । म धेरै दुखी छु । मैले उहाँहरुलाई असल भनें । राम्रो र असल हुनका निमित्त त व्यवहार हुनुपर्‍यो नि । हिजो केशरजीलाई सहअध्यक्ष बनाउँदाखेरि धेरै साथीहरु असन्तुष्ट थिए । लावतीजीले छाडेर गएपछि त्यो ठाउँ खाली भयो, सहअध्यक्ष बनाऔं केशरजीलाई । कमसेकम देखाउनका लागि गरौं भनेर अध्यक्षलाई रिक्वेस्ट गर्ने पनि म नै हुँ । त्यसैले मैले आफैं रिक्वेस्ट गरेर सहअध्यक्ष बनाएको व्यक्तित्वमाथि कारवाही हुँदाखेरि म त दुखी हुने नै भएँ नि ।

उहाँको छोरो भर्खरै राजनीतिमा पाइला टेकेको व्यक्तिलाई धेरै सिनियरहरुलाई छाडेर माननीय बनाइयो । पढेलेखेको युवा हो भनेर अध्यक्षलाई मैले नै रिक्वेस्ट गरेर भनें कि बिराज विष्टलाई सहायक मन्त्री बनाऔं । अध्यक्षले पनि मेरो तर्कलाई स्वीकार गर्नुभो र मन्त्री बनाइयो ।

कमल थापाले एकलौटी पार्टी चलाए भन्ने आरोप छ नि ?

पार्टी र राष्ट्र हाँक्नका लागि बलियो नेतृत्व चाहिन्छ भन्नेमा म कन्भिन्स छु । हाम्रो पार्टीमा नेतृत्वलाई डिस्टर्ब गर्ने मान्छेहरु छैनन् । गर्नेहरु हिँँड्छन्, यी यस्तै हुन्छ । कमल थापालाई गन्तव्यमा पुग्न नदिन कमजोर बनाउनुपर्छ भनेर देशी-विदेशी शक्तिहरु लागेका छन् । ता कि यो पार्टी ९४ प्रतिशत जनताको पि्रय बन्न नसकोस् ।

तपाई भनिरहनुभएको छ कि देशी-विदेशी शक्तिहरु कमल थापाविरुद्ध लागेका छन् ? को हुन ती ? कमल थापाविरुद्ध लाग्ने देशी शक्तिहरु तपाईकै सरकारमा छन् कि बाहिर ?

अहिलेको सन्दर्भमा हिन्दु राष्ट्रको मान्यता र स्थानीय स्वायत्त शासनको विरुद्धमा हुनेहरु त्यस्ता शक्ति हुन् । जुन धर्म निरपेक्षताको विचार आएको छ, त्यो विदेशी विचार हो ।

तर, धर्मनिरेपक्ष संविधानको कसम खाएर तपाईहरु सरकारमा जानुभएको होइन ?

हामीले धर्म निरपेक्षताको कसम खाएनौं । हामीले विधि र प्रक्रिया मानेर निर्वाचनमा भाग लिएको हुँदा संविधानलाई आलोचनात्मकरुपमा स्वीकार गरेका हौं । हामी फुटबल ग्राउण्डभित्र छिर्‍यौं । छिरिसकेपछि खेलको नियम त मान्नुपर्‍यो नि ।

तपाईहरु विरुद्ध लाग्ने विदेशी शक्तिचाँहि को हो ?

हिन्दराष्ट्रको विरोधमा यो देशमा क्रियाशील रहेका उनीहरु सबै हुन् । यसपालि इङल्याण्ड भ्रमण गर्दा मैले कस्तो पाएँ भने चर्च अफ इङल्याण्डको संरक्षक चाँहि महारानी हुँदिरहिछन् । त्यसको सदस्य नभई महारानी हुन पाइँदोरहेनछ । उहाँहरुले अभ्यास गर्नुभएको छ धर्म सापेक्ष, तर उहाँहरु यो देशमा ९४ प्रतिशत जनताको आस्थाको केन्द्रमा रहेको हिन्दुराष्ट्रमा जनमत संग्रह गरौं भन्दा किन बाधक बन्ने ? नेपाली जनताले आफ्नो प्रणाली रोज्न नपाउने ? हामीले सधैंभरि विदेशीको खेताला भएर हिँड्नुपर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment