Comments Add Comment

अभावको हल्लापछि पेट्रोल पम्पमा उपभोक्ताको लाइन

अफवाहको पछि नलाग्न आयल निगमको आग्रह

potrol line१५ वैशाख, काठमाडौं । काठमाडौंमा पम्पहरुमा फेरि पेट्रोल भर्न मोटरसाइकल र कारहरुको लामो लाइन देखिएको छ । ‘तेल अभाव भएको’ अफबाह फैलिएपछि धेरै उपभोक्ता पेट्रोलपम्पहरुमा सवारी साधन लिएर लाइन लागेको नेपाल आयल निगमको दावी छ ।

आयल निगमले तेल अभाव भएको भन्ने भ्रामक हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयल निगमका वितरण विभाग प्रमुख दीपक बरालले भारतबाट मागअनुसार तेल आइरहेको र बजारमा पनि मागअनुरुप तेल आपूर्ति भइरहेको दावी गरे ।

‘एक्कासी पम्पहरुमा भीड देखिएको छ । बाहिर हल्ला भएजस्तो तेलको कुनै अभाव हुने स्थिति छैन,’ उनले भने, ‘मागअनुसार बजारमा तेल पठाइरहेका छौं । बजारमा यस्ता हल्ला कहाँबाट सुरु हुन्छ भन्नेमा हामी पनि अचम्मित छौं ।’

आयल निगमले बुधबारका लागि काठमाडौंको थानकोट डिपोबाट झण्डै साढे ५ लाख लिटर पेट्रोल वितरण गरेको थियो । बिहीबार यो परिमाण अझै बढाइने बरालले बताए ।

‘अभावको गलत हल्ला फैलिनासाथ सबै फुल ट्यांकी तेल भर्न लाइनमा आएका छन्,’ वितरण विभाग प्रमुख बरालले भने, ‘भोलिदेखि पेट्रोल आपूर्ति थप बढाउने छौं । मागअनुसार तेल दिन समस्या छैन ।’

अहिले भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोले नेपालको माग अनुसार पेट्रोल दिइरहेको छ । डिजेलको समस्या भने पूर्णरुपमा टरिसकेको छैन ।

नाकाबन्दीपछि बजारमा तेलको आपूर्ति एक दिनमात्रै घटाउँदा पनि त्यसको असर पम्पहरुमा देखिने गरेको छ । फेरि अभाव चर्किने डरले उपभोक्ता अनावश्यक सञ्चितिमा लाग्दा तेल आपूर्तिमा प्रभाव परिरहेको आयल निगमको दावी छ ।

तर, आयल निगमले माग अनुसार बजारमा पेट्रोल पठाएको दावी गरेपनि वितरण भने अझै सहज हुन सकेको छैन । पुरानै अवस्थामा तेलको वितरण नभएसम्म पम्पमा लाग्ने भीडको समस्या समाधान हुन नसक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment