१५ वैशाख, कपिलवस्तु । कपिलवस्तुको पुरातात्विक र बुद्धस्थलको रुपमा परिचित गोटिहवालाई खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियान शुरु गरिएको छ । कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा ‘परिर्वतनका लागी सामुहिक अभियान’ नामक संस्थाले अभियान सुरु गरेको हो ।
कपिलवस्तु नगरपालिकाको वडा नम्बर १५ र १६ मा यो अभियान शुरु गरिएको छ । दुबै वडामा गरी कुल ६ सय ९७ घरधुरी मध्ये अभियान सुरु हुनुपुर्व ७१ घरमा मात्र शौचालयहरु थिए । शौचालय नबनाएकै कारण खुल्ला शौच गरिँदा बुद्धस्थल गोटिहवा आउने पर्यटकले गोटिहवा फोहर र अव्यवस्थित रहेको गुनासो गर्ने गरेका थिए ।
डेढ महिना यता अभियान सुरु भएसँगै दुबै वडामा शौचालय बनाउने लहर नै चलेको छ । पछिल्लो डेढ महिनायता २२ शौचालय निर्माण गरी प्रयोग गरिसकिएको छ भने १ सय ८८ शौचालय निर्माणाधीन अवस्थामा छन् ।
शौचालयले व्यक्तिको सभ्याता दर्शाउनुका साथै सामाजिक प्रतिष्ठा समेत कायम हुने भएकाले आफुले शौचालय निर्माण गर्न थालेको कपिलवस्तु नगरपालिका १६ कपियाका ओम बिलास चौरसियाले बताए । उनले अभियानलाई सार्थक पार्न स्थानियस्तरमा सचेतना बृद्धिमा समेत आफुले सहयोग पुर्याउदै आएको जनाए ।
बुद्धस्थल गोटिहवाको छुटटै पहिचान भएकाले समेत आफुहरुले अभियान सफल पार्न लागिपरेको स्थानीय समाजसेबी दिरिप चौधरी बताउछन । ‘बाहिरबाट बुद्धस्थल भनेर आउने पर्यटकले नाकमुख थुनेर हिडदा लाज लाग्ने गरेको थियो । अहिले खुल्ला दिसामुक्त अभियान चले पछि गोटिहवाका दुई वडामा सरसफाई हुने र पर्यटक समेत बढने अपेक्षा गरेका छौ ।’ चौधरीले भने ।
यसै आर्थिक बर्षको जेठ मसान्त भित्रकै अबधीमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने गरि अभियान अगाडी बढाइएको संस्थाका अध्यक्ष गोपीकृष्ण शर्माले बताए । जिल्लामा नदीजन्य पदार्थको अभावका कारण अभियानलाई दु्रत गतिमा अगाडी बढाउन केही समस्या देखिए पनि जनस्तरको उत्साह र सहयोगका कारण अभियान समयमै सम्पन्न हुने उनको भनाइ छ ।
गोटिहवाका दुई वडामा सञ्चालन गरिएको अभियान प्रभावकारी देखिएको कपिलवस्तु नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराईले बताए । कपिलवस्तु नगरपालिकाले जिल्लाको लक्ष्य अनुरुप सन् २०१६ को अबधीमा नगर क्षेत्रलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन बिभिन्न अभियान चलाएको जनाउँदै नगरक्षेत्र बाहिरको ग्रामिण क्षेत्रमा अभियान दु्रत रुपमा अगाडी बढनु सराहनीय रहेको बताए ।
गोटिहवा क्रकुच्छन्द बुद्ध जन्म भएको स्थानको रुपमा परिचित बुद्धस्थल हो । क्रकुच्छन्द बुद्धको जन्म गोटिहवामा भएको कुरा गुरु उपगुप्तले शिष्य सम्राट अशोकलाई ऐतिहासिक तीर्थयात्रामा क्रममा बताए पछि त्यसको महत्व बढदै गएको हो । त्यस पछि गोटिहवामा सम्राट अशोकले स्तम्ब निर्माण गरका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4