Comments Add Comment

नेपाल क्रिकेट संघ निलम्बनः घाटा-नाफाको हिसाबकिताब

नेपाली क्रिकेटको टर्निङ प्वाइन्ट बन्ला त आईसीसीको कदम ?

Nepali Cricket (1)

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) लाई गरेको निलम्बनले समर्थकलाई निराश बनाएका बेला नेपाली टीमका कप्तान पारस खड्काले यसलाई ‘नयाँ सुरुवात’ को संज्ञा दिए ।

निलम्बन आफैंमा अप्रिय घटना हो । यसले एकातर्फ नेपाली क्रिकेटलाई अभिभावकविहीन बनाएको छ भने नेपालको अन्तर्राष्ट्रिय छवी पनि धुमिल गराएको छ ।

निलम्बनलाई लिएर सरोकारवालाहरु आरोप-प्रत्यारोप गरिरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्, तदर्थ समिति र निर्वाचित समितिहरुले निलम्बनको दोष एअर्कालाई लगाइरहेका छन् ।

तर, यसलाई ‘नयाँ सुरुवात’ का रुपमा लिनेहरुको जमात ठूलै छ । खासगरी क्रिकेट संघमा देखिएको लथालिंग अवस्था र वेथितीलाई लिएर धेरैमा निराशा थियो । अब यहि अवस्थामा नेपाली क्रिकेटले कुनै फड्को मार्ने अपेक्षा गर्न सक्ने अवस्था पनि थिएन ।

त्यसैले यसलाई एउटा टर्निङ प्वाइन्ट मान्न सकिन्छ । उसो भए के यो निलम्बन नेपाल क्रिकेटको हितमा हुन सक्छ त ?

अमेरिकी मोडलको सम्भावना

क्यानमाथि प्रतिवन्ध लगाएको भोलिपल्ट आर्इसीसीले विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाल र नेदरल्याण्ड्सको खेल तालिका सार्वजनिक गर्‍यो । यसलाई आईसीसीले दिएको एउटा संकेतका रुपमा बुझ्नुपर्छ । त्यो संकेत के हो भने क्यानको निलम्बनपछि अब नेपाली क्रिकेटलाई आइसीसीले अमेरिकी मोडलमा चलाउनेछ ।

अमेरिकी क्रिकेट संघलाई निलम्बन गरेको उसले क्रिकेट टीमलाई भने आफ्नै निगरानीमा खेलाइरहेको छ । आईसीसीले अब नेपाली क्रिकेटलाई लतारेर त्यही मोडलमा लैजाने सम्भावना बढी छ । अमेरिकामा आईसीसीले आफ्नो प्रतिनिधि तोकेको छ र सरोकारबालाहरुको एउटा टिम बनाएको छ । त्यहाँ आईसीसीलाई कार्ययोजना बनाउन मात्रै ६ महिना लागेको थियो ।

तर, साउनमा नेदरल्याण्ड्ससँग खेल्नुपर्ने तालिका भएकाले पनि नेपालका हकमा उसले यति ढिलाई नगर्ला । सम्भवतः अबको एक साताभित्र आईसीसीले प्रतिनिधि तोकेर नेपाल पठाउन सक्छ । र, उसले नेपालमा आएर सरोकारवालासँग सहकार्य गर्ने प्रयास गर्नेछ ।

आईसीसी र उसका प्रतिनिधिले नेपाल आएर चाल्ने कदमलाई तत्कालीन निर्वाचित समिति, तदर्थ समिति र सरकारले कसरी लिन्छन् भन्ने प्रष्ट भइसकेकमो छैन । यदि उनीहरुले सहयोगी भूमिका खेले भने प्रक्रिया सहज रुपमा अघि बढ्ला, नभए थप कचिंगल आउन सक्छ ।

अदालतको फैसलाको औचित्य

क्यानको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा परेको रिटको पेशी जेठ १९ लाई तोकिएको छ ।  सर्वोच्चको फैसला नपर्खिकन आईसीसीले निलम्बनको निर्णय लियो । यसको अर्थ अव सर्वोच्चको फैसलाले ठूलो अर्थ नराख्न सक्छ ।

जितेको पक्षले आफू आधिकारिक भएको दाबी गर्नु स्वभाविक हुन्छ तर, आईसीसीले त्यसलाई मान्छ भन्न सकिन्न । उसले आफ्ना शर्तहरु पुरा गराउन खोज्नेछ । यस्तोमा नेपाली क्रिकेट थप विवादित हुने खतरा रहेको जानकारहरु बताउँछन् ।

घाटा-नाफाको हिसाब

आईसीसीले प्रत्यक्ष नियन्त्रण गर्दा नेपाली क्रिकेट लाभान्वित हुन सक्ने भनेर खेलाडीहरु आशावादी देखिन्छन् । क्यानले क्रिकेट विकासमा सिन्को भाँच्न नसकेको अनुभव गरेकाले उनीहरु आर्इसीसीको कदमप्रति एक हदसम्म सकारात्मक भएका हुन् ।

हुन पनि क्यान अहिलेसम्म दैनिक प्रशासनिक काममै सिमित थियो । राष्ट्रिय प्रतियोगिता आयोजना हुन नसकेको दुई वर्ष भइसकेको छ । पूर्वाधारको अवस्था वर्षौंदेखि जहाँको त्यहीँ छ । खेलाडीहरुलाई एक्सपोजर दिने र करिअरको सुरक्षा गर्न ठोस पहल भएको छैन ।

पछिल्लो समय कर्मचारीको भरमा चल्दै आएको क्यानले कार्यकारी अधिकृतसहित सबै कर्मचारीलाई पाँच महिनादेखि तलवसम्म खुवाएको थिएन । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि बन्द प्रशिक्षण गराउनेमै सिमित थियो क्यानको सक्रियता ।

यस्तोमा नेपाली क्रिकेट अब नेपालको हातबाट फुस्केर आईसीसीको पोल्टामा पुगेको छ । अब के नेपालमा आइसीसीकै तत्वावधानमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना होलान् त ?

स्मरणीय के छ भने हालै सम्पन्न नेपाल र नमिबियाको खेल आईसीसी आफैंले गराएको थियो । एसिया डेभलपमेन्ट म्यानेजर बन्दुला वर्नापुरा आफैं झण्डै एक महिना नेपालमा बसेर खेल गराए । पिच निर्माणदेखि सबै काम आईसीसीकै प्रत्यक्ष निगरानीमा भएको थियो ।

आईसीसीकै अगुवाइमा काम भएको अवस्थामा भविष्यमा यसैगरी थप खेलहरु हुन सक्छन् । नेदरल्याण्ड र स्कटल्याण्डको टिम त्यहाँको अफ सिजनमा नेपाल आउन तयार छ । त्यस्तोमा नेपाल, नेदरल्याण्ड र स्कटल्याण्डबीच त्रिकोणात्मक क्रिकेट श्रृखला हुनसक्छ ।

क्रिकेटमा राम्रो गरिरहेको अफगानिस्तान र हङकङ पनि नेपाल भ्रमणमा आउन लालायित देखिएका छन् । उनीहरुले पटक-पटक क्यानलाई प्रस्ताव राखेका पनि थिए । उनीहरुसँग खेल हुने सम्भावना पनि छ ।

राष्ट्रिय टीमका एक सदस्य आशावादी हुँदै भन्छन्, ‘अब कम्तिमा द्विपक्षीय तथा त्रिपक्षीय खेलहरु हुन्छन् र हाम्रा खेलाडीहरुले निरन्तर खेल्ने मौका पाउँछन् ।’

यसका लागि बजेटको समस्या पनि छैन । किनकी आईसीसीले नेपाललाई दिने ९ लाख डलर आउन बाँकी नै छ भने एसीसीबाट आउने पैसा पनि बाँकी छ । अष्ट्रेलिया क्रिकेटले नेपाललाई दिने घोषणा गरेको रकम पनि आईसीसीमार्फत नै आउने हो ।

तर दाग कसरी पखाल्ने ?

यसरी हेर्दा आईसीसीको हस्तक्षेपकारी कदमलाई पनि नेपालले अन्तराष्ट्रिय खेलहरु धेरै खेल्न पाउने सम्भावना सकारात्मक पाटो भयो । तर, नेपाल क्यान निलम्बनमा पर्दा नेपाली क्रिकेटमाथि नै दाग लागेको छ । यो दाग पखाल्न भोलिका दिनमा नेपालले निकै मेहनत गर्नुपर्छ ।

यसबाहेक आइसीसीको अगुवाइमा काम भएको अवस्थामा क्रिकेटको घरेलु संरचना नै नरहने खतरा रहन्छ, जुन क्रिकेटको विकाका लागि अत्यावश्यक हो । तर, नेपालको घरेलु लिग आईसीसीको चासोको विषय होइन । उसले नेपालले अन्तराष्ट्रिय प्रतियोगिताहरुअघि अभ्यास र द्वीपक्षीय सिरिजहरु मात्रै जारी राख्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment