१५ वैशाख, काठमाडौं । बुधबारदेखि दक्षिण कोरिया जान लिइने इपीएस भाषा परीक्षाको आवेदन बुझ्न सुरु भएको छ । अब ४ दिनसम्म चल्ने आवदेन लिने क्रममा हजारौं युवाले भाषा परीक्षाको फारम भर्नेछन् ।
पहिलो दिन आइतबार पनि थुप्रै युवाले आवदेन दिएका छन् । उनीहरुले घण्टौं लाइन बसेर आवेदन फाराम भरेका हुन् । आवेदन संकलन केनद्रहरुमा विहानदेखि नै लामो लाइन लागेको थियो ।
रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा पास गर्नुपर्छ । इपीएस कोरिया शाखाले असार ४ र ५ गते सातौं भाषा परीक्षा लिँदैछ ।
इपीएसले काठमाडौ उपत्यकाका सातदोबाटो, च्यासल मैदान, गौशाला, महाराजगञ्ज र कीर्तिपुर तथा उपत्यका वाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेलधुरामा फाराम संकलन केन्द्र राखेको छ ।
दिउँसोभर ती सबै स्थानमा युवायुवतीको उल्लेख्य भीड लागेको थियो । मुलुकभित्र रोजगारीका अवसर कम हुँदा हजारौं युवायुवती कोरिया जान लालयित देखिएका हुन् ।
भाषा परीक्षामा १८ वर्ष उमेर पुगेका तर ३९ वर्ष नकटेका तथा फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएका जो पनि सहभागी हुन पाउँछन् ।
भाषा परीक्षाका लागि आवेदन बुझाउनेमा स्नातक र स्नातकोत्तर गर्नेको संख्या पनि ठूलो छ । कोरियाले कामदारको न्युनतम मासिक तलब १ लाख १० हजार रुपैयाँ तोकेको र रोजगारीमा जान एक लाख रुपैयाँ पनि खर्च नहुने भएकाले कोरिया युवायुवतीको आकर्षक गन्तव्य बनेको हो ।
आकर्षक कमाइ हुने भएका कारण कोरिया जान इच्छुकहरुको संख्या वर्षेनि बढिरहेको छ । छैटौं भाषा परीक्षामा ६० हजारभन्दा बढी सहभागी भएका थिए ।
यसपटक पनि त्यती नै युवाले आवेदन फारम भर्ने इपीएस शाखाले अनुमान गरेको छ । शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले पढेलेखेका हजारौं युवाहरु रोजगारीका लागि विदेश जान लालयित देखिएको बताए ।
कोरियन भाषा परीक्षाका लागि आवेदन फाराम बुझाउने म्याद वैशाख १८ गतेसम्म तोकिएको छ । दक्षिण कोरियाले इपीएस अन्र्तगत साना तथा मझौला उद्योगमा काम लगाउन नेपाल लगायतका विभिन्न १५ वटा मुलुकबाट वर्षेनि अदक्ष कामदार लिने गरेको छ ।
भाषा परीक्षा पास गर्ने युवायुवतीलाई सरकारले इपीएस कोटामा ९ वर्षदेखि दक्षिण कोरिया पठाउँदै आएको छ ।
भाषा परीक्षा पास गरेर हालसम्म ३६ हजार युवायुवती कोरिया गएका छन् । यसपटक उत्पादनमूलक क्षेत्रमा १ हजार र कृषि तथा पशुपालनमा २ हजार १ सय गरी ३ हजार १ सय जनालाई भाषा परीक्षामा पास गराउने तयारी छ ।
भाषा परीक्षा पास गरेकै आधारमा भने कोरिया जान पाइन्न । यसअघि भाषा परीक्षा पास गरेका १० हजारभन्दा बढी युवायुवती अझै कोरिया जान पाएका छैनन् ।
यी पनि पढ्नुस्
कोरियन भाषा परीक्षाको आवेदन संकलन धरानदेखि डडेलधुरासम्म
कोरियन भाषा परीक्षा असार ४ र ५ गते, आवेदन बैशाख १५ देखि खुल्ने
कोरिया जान भाषा सिकेर मात्रै नहुने, सीपको पनि परीक्षण हुने
दक्षिण कोरियामा बीमाको फाइदा कसरी उठाउने ?
प्रतिक्रिया 4