१७ वैशाख, काठमाडौं । काठमाडौंको मुटुमा रहेको रानीपोखरी पानीविहीन भएको कहिल्यै देख्नुभएको छ ? पक्का पनि तपाईंलाई आफ्ना बाबुबाजेले समेत यस्तो विषयमा कुनै इतिहास सुनाएका छैनन् होला । अब तपाईंले केहीदिनमै रानीपोखरी पानीविहीन भएको आफ्नै आँखाले देख्न पाउनुहुनेछ ।
भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निर्माणका लागि रानीपोखरीको पानी सुकाउने काम सुरु भएको छ । यो पानी तान्ने क्रम सकिनासाथ रानीपोखरी पानीविहीन हुनेछ । रानीपोखरीको पानी मोटरमार्फत तानेर ढलमा मिसाउन सुरु गरिएको छ ।
तर, पोखरी खाली गर्ने क्रमसँगै रानी पोखरीका माछा के गर्ने भन्ने अन्योल देखिएको छ ।
गहिराइ पत्ता लाग्दै
रानीपोखरीलाई पूरै खाली गराएर सफा गरेको अहिलेका कुनै पुस्तालाई जानकारी छैन । विं.सं १६७० मा राजा प्रताप मल्लले निर्माण गराएको रानीपोखरी ४ सय वर्षअघिदेखि नै सफा गरिएको जानकारी पुरातत्वविदहरुसँग पनि छैन ।
पानी तानिसकेपछि रानीपोखरीमा हिलो निकाल्ने काम सुरु हुनेछ । अहिलेसम्म रानीपोखरीको गहिराइबारे विभिन्न मतभिन्नताहरु छन् । स्थानीयहरु रानीपोखरी एक बाँस बराबर गहिरो रहेको दावी गर्छन् भने सरकारी अधिकारीहरु ७ फिटसम्म गहिरो हुनसक्ने बताउँछन् । अब पोेखरीको सबै हिलो निकालेर मात्रै त्यसमा नयाँ पानी भरिनेछ ।
त्यही क्रममा पोखरीको वास्तविक गहिराइ कति छ भन्ने अन्योल पनि हट्ने महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले अनलाइनखबरसँग बताए ।
रानीपोखरी पुनर्निर्माणका लागि ६ करो २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ । निर्माणको जिम्मा वर्ल्डवाइड कँडेल केएनकेजी जेभी कम्पनीले लिएका छन् । महानगरपालिकाका अनुसार आगामी असोजसम्म रानीपोखरीको पुनर्निर्माण सकिएर यसले पुनर्जीवन पाउनेछ ।
माछा व्यवस्थापनबारे अन्योल
रानीपोखरीको पानी तानेर फाल्ने काम सुरु भए पनि माछा कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल देखिएको छ । कार्यकारी प्रमुख तामाङले केही माछा बालाजुको माछापोखरीमा लैजाने बताए । तर, ठूलो संख्यामा रहेकाले त्यसलाई अन्य पोखरीहरुमा पनि लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
‘माछा कहाँ-कहाँ लगेर छोड्ने भन्ने टुंगिएको छैन,’ उनले भने-‘काठमाडौंमा उपलब्ध पोखरीहरुमा त्यसको उचित व्यवस्थापन गरिने छ ।’
मन्दिर पुनर्निर्माण सुरु
रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि पुरात्व विभागसहित प्राविधिकको टोलीले काम सुरु गरिसकेको छ । टोलीले बिहीबार मात्रै क्षतिग्रस्त मन्दिरको मुचुल्का उठाएको छ ।
अब त्यहाँ रहेका पुरातात्विक सम्पदालाई सुरक्षित स्थानमा सार्ने क्रम सुरु भएको छ । अहिले मन्दिर टेकाको भरमा मात्रै अडिएको छ ।
मन्दिरलाई भत्काएर पुरानै स्वरुपमा पुनर्निर्माण गरिनेछ । मन्दिरसम्म पुग्ने सानो पुलको समेत मर्मतसम्भार मात्रै गरिने महानगरपालिकाका भौतिक निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीले बताए ।
‘मन्दिर जाने पुलमा कुनै किसिमको प्राविधिक समस्या छैन’ उनले भने-‘त्यसलाई फेरि भत्काएर बनाउने योजना पनि छैन । आवश्यक मर्मतसम्भार गरिनेछ ।’
पुरातात्विक बस्तु भेटिने अनुमान
पुरात्व विभागले रानीपोखरीको पुनिर्निर्माणको सबै जिम्मा काठमाडौं महानगरपालिकाले दिएको छ ।
रानीपोखरी पुनर्निर्माणका क्रममा विभिन्न पुरातात्विक सम्पादहरु भेटिनसक्ने अनुमान पनि गरिएको छ । त्यसैलाई ध्यानमा राखेर विभागले रानीपोखरी निर्माण अवधिभरका लागि एकजना प्राविधिकलाई त्यहाँ खटाएको छ ।
‘पोखरीमा महत्वपूर्ण पुरातत्विक वस्तुहरु भेटिन सक्छन’ विभागका एक अधिकारीले भने-‘भेटियो भने त्यसलाई तत्काल छाउनीमा लगेर सुरक्षित गर्नेछौं ।’
यस्तो बन्ने छ आधुनिक रानीपोखरी

निर्माण भएको झण्डै ४ सय वर्षपछि अब रानीपोखरीले अब नयाँ रुप धारण गर्दैछ । काठमाडौं महानगरपालिकाले यसका पुरातत्वलाई संरक्षण गर्दै यहाँ ‘रिफ्रेसिङ सेन्टर’ बनाउने योजनामा काम सुरु गरेको छ । पहिलो चरणमा यसको बीच भागमा रहेको मन्दिरको पुनर्निर्माण गरिनेछ ।
यहाँ स्तरीय पार्क बनाएर सर्वसाधरणलाई केही समय बिताउन मिल्ने ठाउँका रुपमा परिणत गर्ने योजना यसअघि नै महानगरपालिकाले सार्वजनिक गरिसकेको छ ।
रानीपोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने महानगरको योजना छ । यहाँ रंगीन पानीका फोहोरा राखेर वरिपरि बगैँचा विकास गरिनेछ । पोखरी घुम्नका लागि दुईवटा बाटा बनाइने छ भने छेउमा कफीसप सुविधा पनि थप गरिनेछ ।
पोखरी वरपरको क्षेत्र पार्कमा परिणत भएपछि सर्वसाधारणका लागि खुल्ला गरिनेछ । अहिले तिहार र छठबाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन । पोखरी वरिपरिको भागमा समेत विभिन्न रंगका बत्ती राखेर सजाउने महानगरपालिको जनाएको छ ।
गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यसको शिलान्यास गर्दै पुनर्निर्माण महाअभियान सुरु गरेकी थिइन् ।
हेर्नुस् भिडियो
तस्वीर: कविन अधिकारी/अनलाइनखबर