Comments Add Comment

नयाँ शक्तिको पुरानै ढर्राः पार्टीको कार्यक्रममा स्कुल बस !

मुमाराम भन्छन्- यस्तो गल्ती नदोहोर्‍याउन आग्रह गरिन्छ

१९ वैशाख, काठमाडौं । सुनसरीको इटहरीमा शनिबार नयाँ शक्ति नेपालले सडक सभाको आयोजना गर्‍यो । पुरातन सोच, नीति तथा कार्ययोजना बोकेका पार्टी र व्यक्तिबाट देशको आमूल परिवर्तन असम्भव रहेको भन्दै गठन गरिएको नयाँ शक्तिको ढर्रा पनि पुरानै पार्टीहरुको जस्तो देखियो ।

School-Bus used by Naya-Shaktiकांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल लगायतका दलको जस्तै झल्को दिने गरी स्कुल बसमासमेत नयाँशक्तिले आफ्ना समर्थकहरु बोक्न भ्याए ।

इटहरीमा शनिवार आयोजित सडक सभामा सहभागी हुन विराटनगरबाट आएका नयाँ शक्तिका समर्थकहरुले निजी विद्यालयका विद्यार्थी बोक्ने बस प्रयोग गरे । विद्यार्थी मात्र बोक्ने संकेत बुझाउने उक्त पहेंलो रंगको स्कुल बसलाई नयाँ शक्ति नेपालको झण्डाले झकिझकाऊ बनाइएको थियो ।

नारासहित स्कुल बस चढेर आएका समर्थकले कार्यक्रमस्थल केही पर बस रोक्न लगाएका थिए । उक्त बस बिराटनगर १४ स्थित ग्रीनल्याण्ड इन्टरनेशनल हाइयर सेकेण्डरी स्कुलको रहेको छ ।

बसमा शिक्षण सस्थाको नाम स्पष्ट रुपमा उल्लेख गरिए पनि उक्त विद्यालयका प्रिन्सिपल प्रदीप निरौलाले उक्त बस आफ्नो नाममा नरहेको र भाडामा चलाइएको दाबी गरे । उनले टंकीसिनवारी रहेका प्रशान्त पौडेलको बस रहेको हुनाले उनले जुट मिलका मजदुर बोक्न र उक्त विद्यालयका विद्यार्थी बोक्न यो बस प्रयोग गर्ने गरेको निरौलाले बताए ।

प्रिन्सिपल निरौलाले गाडी मालिकका दाइ नयाँ शक्तिमा रहेको हुनाले उनैले सभाका लागि प्रयोग गरेको हुन सक्ने बताए । तर, स्पष्टसँग स्कुलको नाम उल्लेख गरिए पनि उक्त बस आफुले भाडामा मात्र चलाइएको प्रिन्सिपलले दोहोर्‍याए ।

यसैवीच मोरङ्गका जिल्ला शिक्षा अधिकारी देवेन्द्र खनालले शिक्षण संस्थाले शैक्षिक गतिविधिका लागि राज्यबाट सहुलियत लिएर नाफामूलक व्यवसायिक कार्यमा गाडीको उपयोग गरिनु गलत रहेको बताए । उनले कुनै पनि विद्यालयले बिहे, सभा समारोह वा दलका कार्यक्रममा विद्यालयका बस भाडामा लैजानु नियम र व्यवहारलेसमेत नदिने  उल्लेख गरे ।

नयाँ शक्ति नेपाल अन्तरिम परिषदका सदस्य मुमाराम खनालले आफ्ना समर्थकलाई कुनै पनि सवारी साधन रिजर्व गरेर नआउन आग्रह गरिएको बताए । उनले विद्यालयको बस आफ्ना समर्थक ओसार्न प्रयोग गरिएकोबारे बुझेर जवाफ दिने बताए ।

तर, कार्यकर्तालाई बढी तडक-भडक नगर्न र सभामा आउने व्यक्तिले सार्वजनिक बस चढेर आउन गरिएको खनालले उल्लेख गरे । यदि विद्यालयको बस प्रयोग नै भएको भए आउने दिनमा यस्तो गल्ती नदोहोर्‍याउन सम्पूर्ण समर्थकलाई आग्रह गरिने खनालले बताए ।

मोरङ्ग, सुनसरीका प्रायः निजी विद्यालयका बसहरु विवाह तथा सभाका लागि भाडामा प्रयोग गरिने गरिएको छ । विद्यालय प्रयोजनका लागि सहुलियतमा गाडी ल्याए पनि आर्थिक लोभमा पनि विदाको दिन भाडामा चलाइँदा विद्यालय बसको गरिमा गिरेको छ भने नियमनकारी निकायले आँखा चिम्लिँदा निजी विद्यालय सञ्चालकको मनपरी देखिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment