Comments Add Comment

मजदूरका हातमा हतकडीः मजदूर नेताका हातमा सुनका कल्ली

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा एक समाजवादी नेताले कुनै सन्दर्भमा व्यक्त गरेको भनाइ निकै लामो समयसम्म विश्वका श्रमिकहरुको मूल मन्त्र बन्यो । त्यो थियो- हामी श्रमिकसँग जित्नका लागि सिंगो संसार छ, तर हार्‍यौं भने फगत एउटा हतकडी मात्र त हो ।

मात्रिका पौडेल
मात्रिका पौडेल

वास्तवमा मजदूरसँग हार्नलाई केही पनि हुन्न । तर, उनीहरु नै यो समाजका निर्माता हुन् । समय र विश्व परिवेशमा आएको अत्याधुनिक विकास र परिवर्तनसँगै मजदूरको परिभाषा फराकिलो बनिसकेको छ भने बिसौं शताब्दीको शुरुतिर चर्चामा रहेको उक्त उद्गार पनि अब अर्कै सन्दर्भ बनिसकेको छ ।

हरेक वर्षजस्तै क्यालेन्डरको पाना फेरिने क्रममा आजबाट ईस्वी सम्वतको मे महिना शुरु भएको छ । मे महिनाको पहिलो तारिख विश्वका श्रमिक मजदूरहरुका लागि एक विशेष पर्व हो । नेपालमा पनि मजदूर दिवस मनाउन राज्यले सार्वजनिक बिदा दिएको छ । श्रमिकहरुले वर्षमा एक दिन होइन हरेक दिन आफ्नो अधिकारको लडाइँ त लडिरहेकै छन् । यो विशेष दिन उनीहरुको उन्मुक्तिको अवसर पनि हो । यद्यपि पछिल्ला परिवर्तित सन्दर्भमा मजदूर दिवस पनि विस्तारै कर्मकाण्डमा सीमित हुन थालेको छ ।

नेपालको सन्दर्भमा मजदूर दिवस कर्मकाण्ड मात्र नभएर राजनीतिक दलहरुमा आवद्ध ट्रेड युनियनकर्मीहरुले राजनीतिको रोटी सेकाउने अवसर बनेको छ । वास्तविक श्रमिक मजदूरहरुको ठूलो हिस्सा मे दिवस मनाउने ठाउँसम्म पुग्नै सक्दैन । पुर्‍याइएकाहरु नेताका भाषण सुन्ने दिग्दारी दर्शकमात्र बन्ने हुन् । भन्नलाई विश्वका मजदूरहरु एकजुट होउँ भन्ने तर व्यवहारमा गुट र झुण्ड बनाएर कर्मकाण्डी ढंगले मजदूर दिवसको प्रवचन सुनाउने बाहेक यो पर्वको सान्दर्भिकता हराउँदै गएको छ ।

नेपालको श्रमिक आन्दोलन राजनीतिक रुपले बिखण्डित र व्यहारिक रुपमले अराजक बाटोमा उभिएको छ । श्रमिक मजदूर आन्दोलन भन्नुनै उद्योगपति वा व्यवस्थापकलाई धम्क्याउने, कानुन विपरीत सौदाबाजी गर्न खोज्ने, बैधानिक बाटो छाडेर बल प्रयोगमार्फत आफ्नो स्वार्थ पूरा गर्न खोज्ने र सीमित व्यक्तिको लहडमा सयौंको रोजगारी खोसिने गरी उद्योग प्रतिष्ठान नै बन्द गराउने बाँदर प्रवृतिका रुपमा चित्रित हुन थालेको छ । जब उद्योग प्रतिष्ठान नै बन्द हुन्छ भने मजदूरले कहाँबाट अधिकार र रोजगारी पाउँछ ? यो प्रश्नको जवाफ खोज्न मजदूर नेतृत्व गम्भीर नभएसम्म श्रम समस्या र बेरोजगारी अझ बढ्नेछ ।

मुलुकको अस्थिर राजनीति, मजदूर आन्दोलनको विकृतिकरण र उद्योगमैत्री वातावरण नबनेकै कारण आज हरेक नेपाली श्रम बजारमा हजारौं बेरोजगार युवा उत्पादन भइरहेका छन् । स्वदेशमा जीवन निर्वाह गर्ने उपाय नदेखेर लाखौं युवा विदेशका मरुभूमिमा पसीना र रगत बगाउँदैछन् त्यो पनि अत्यन्त न्यून कमाइका लागि । श्रमिकहरु आफैं निर्माणका बाहक हुन् ।

तर, हाम्रा श्रमिक हातहरु अरुको निर्माणका लागि रगत बगाउँदैछन् । नेपाली श्रमिकहरुको मेहनत र इमान्दारी विश्व-परिचित छ । झण्डै ४० लाख नेपाली श्रमिकहरु विश्वका विभिन्न मुलुकमा श्रम बेचिरहेका कारण मुलुकमा भने श्रम अभाव देखिँदैछ । यो बीचमा राज्यले राम्रा नीति बनाएर पुनर्निर्माण अभियान थाल्ने हो भने लाखौं श्रमिक हामीलाई आवश्यक पर्छन् ।

एकातिर हाम्रो देशका निर्माता भनिएका लाखौं युवा जनशक्ति रोजगारीका लागि विदेशका भूमिमा पुगेर जीवन अन्त गरिरहेका छन्, अर्कोतिर नेपालभित्रको श्रम बजार राजनीतिक स्वार्थको खेलमैदान बनेको छ । श्रमलाई राजनीतिबाट मुक्त नगर्ने हो भने नेपालमा लगानी आउने छैन । लगानी नआएपछि रोजगारीको सिर्जना हुन सक्दैन । विदेशी लगानी भित्र्याउन सरकारले विश्व समुदायलाई गुहारिरहेको छ । तर, लगानीकर्ताहरुको एउटै भनाइ हुने गरेको छ-नेपालमा मजदुर आन्दोलनका कारण लगानीको वातावरण छैन । यसलाई वैधानिक ढंगले राज्यले हस्तक्षेप गरेर सामुहिक सौदाबाजीको सिद्धान्त अनुसार व्यवस्थापन गर्नुको विकल्प छैन ।

नेपालमा केएफसी र पिज्जा हट अझै पनि टिक्न सक्छन् कि सक्दैनन् ? स्वयं चेन सञ्चालकहरु नै द्वीविधामा छन् । केएफसीमा काम गर्ने मजदूरहरुले औसत नेपाली मजदूरले पाउनेभन्दा दोब्बरसम्म तलब पाउँछन् । उनीहरु आफ्नो रोजागारदाताप्रति सन्तुष्ट देखिन्छन् । तर, पनि त्यहाँ बेला-बेलामा आन्दोलन हुन्छ र केएफसी बन्द हुन्छ । आन्दोलन गर्न केएफसीका मजदूर होइन, ग्राहक पनि होइन कहिल्यै केएफसी नछिरेका अरु नै मजदूर नेता पुग्छन् र बन्द गराउँछन् ।

कतिपय मजदूर नेताका महल र गाडी देख्दा उद्योगपतिहरुले जिब्रो टोक्छन्, मजदूर आन्दोलनमाथिको यो भन्दा ठूलो व्यंग्य अरु के हुन सक्छ ?

यो एउटा उदाहरणमात्र होइन, नेपालका उद्योग प्रतिष्ठानहरु मजदूर आन्दोलनका कारण बन्द हुन्छन् । तर, ती बन्दकर्ता अधिकांश ती उद्योगभन्दा बाहिरकै व्यक्ति हुन्छन् ।

लगानीकर्ताहरुको उद्देश्य नाफा कमाउने नै हुन्छ । उद्योगपति, व्यापारी वा मालिकहरु स्वभाविकरुपमा नाफोखोर नै हुन्छन् । उनीहरुको नियत सकेसम्म कामदार मजदूरलाई कम तलब दिने, अझ मिलेसम्म त तलब नै नदिने हुन्छ । जुन नियतबाट सबैभन्दा प्रताडीत भनेका नेपालका पत्रकारहरु हुन् ।

सामुहिक सौदाबाजी, वैधानिक ट्रेड युनियन आन्दोलन मार्फत उद्योग मालिक र श्रमिकहरुबीचको सम्बन्ध निर्धारण हुनुपर्छ । तर, नेपालको सन्दर्भमा धेरैजसो उद्योग प्रतिष्ठानहरुले ऐन नियम अनुसार मजदूरलाई पारिश्रमिक र अन्य अधिकार नदिँदा तनाव बढिरहेको छ । यसको समाधानमा राज्य मध्यस्थकर्ता बन्नुपर्छ ।

ठूला र बहुउद्देश्यीय कम्पनी तथा उद्योगहरु खुलेपछि तिनीहरुलाई प्रवर्द्धन गर्ने भन्दा पनि एकपछि अर्का असम्भव माग र शर्त तेस्र्याएर भगाउने प्रवृति मजदूर आन्दोलनमा बढिरहेको छ । यस्ता प्रतिष्ठान र घरानाहरु मजदूर आन्दोलनका अगुवाहरुका लागि दुहुनो गाई बन्ने गरेका छन् । मजदूर नेताहरु मालिक बन्ने । तर, मजदुरहरुको जीवनस्तर झनै दयनीय बन्ने अर्को तीतो यथार्थ छ ।

कतिपय मजदूर नेताका महल र गाडी देख्दा उद्योगपतिहरुले जिब्रो टोक्छन् । मजदूर आन्दोलनमाथिको यो भन्दा ठूलो व्यंग्य अरु के हुन सक्छ ?

सुनिँदैछ, कतिपय मजदूर नेताले नेपालका क्यासिनो बन्द गराएर गोवा र दुबईका क्यासिनोमा लगानी गरेका छन् । नेपालका क्यासिनोमा श्रमिक आन्दोलन गराएर बन्द गराउने, मजदूरलाई बेरोजगार बनाएर त्यही आन्दोलनका नेताहरुले बिदेशमा क्यासिनो खोल्ने कुरा मजदूर आन्दोलनमै निकै चर्चित भइसकेको छ ।

यो एउटा मानकमात्र हो । नेपालको मजदूर आन्दोलनको नेतृत्व इमान्दार नभएकै कारण नेपालमा बेरोजगारी थपिएको हो भन्दा त्यो आरोपमात्र हुँदैन ।

यस्तो नेतृत्वको पञ्जाबाट मजदूर आन्दोलनलाई बाहिर लगेर बैधानिक सौदाबाजीका आधारमा मजदूर आन्दोलन अघि बढाउन सकियो भने मात्र नेपालमा उद्योग र श्रमिक दुवै बाँच्न सक्ने वातावरण बन्छ । नत्र गलैंचा, क्यासिनो जस्तै अन्य उद्योग धन्दाहरु पनि बन्द हुँदै जानेछन् । मजदूर आन्दोलनलाई मर्यादित र जिम्मेवार बनाउन सबै संवेदनशील बन्नु नै मजदूर दिवसको सार्थकता हुनेछ । नत्र गैरकानुनी काम गरेको र उद्योगपतिलाई हातपात एवं दुव्र्यवहार गरेको आरोपमा श्रमिकको हातमा हतकडी लाग्ने र त्यसो गर्न उक्साउने श्रमिक नेताका हातमा चाहिँ सुनका कल्ली र विदेशका गल्लीमा लगानी थपिँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment