२२ वैशाख, भैरहवा । रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । सर्वाधिक चासोको विषय बनिरहेको यो राष्ट्रिय गौरवको आयोजना हो । यसलाई काठमाडौंमा रहेको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ ।
परियोजना प्रमुख ओम शर्माले अनलाइनखबर टोलीलाई विमानस्थल निर्माण भइरहेको ठाउँहरु घुमाए । हामी निर्माणस्थल पुग्दा त्यहाँ तिब्र रुपमा काम भइरहेको देखिन्थ्यो । कामदारहरु चर्को गर्मीको प्रवाह नगरी आफ्नो काममा व्यस्त देखिन्थे ।
हामी सबैभन्दा पहिला विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन बनिरहेको ठाउँमा पुग्यौं । जहाँ अराइभल (आगमन) र डिपार्चर (प्रस्थान) भवन बनाउने काम भइरहेको थियो । अराइभल कक्षमा मेकानिकल तथा एरोनिकल कक्षसमेत रहने हुँदा अण्डरग्राउन्ड सहितको भवन बनाइँदै छ ।
अण्डरग्राउन्डको बेसमेन्ट (भुईं) यही हप्ता ढलाई गर्ने लक्ष्य राखिएको छ । डिपार्चर भवनको बेसमेन्ट तयार भइसकेको छ । वर्षायाम सुरु हुनु अगाडि दुबै भवनको काम जमिनको सतहमाथि पुर्याउने प्रमुख शर्माले अनलाइनखबरसँग बताए । यसो भएमा वर्षायाममा भुईंमा पानी जमेको बेलामा समेत भवन निर्माण कार्य जारी राख्न सकिन्छ ।
शर्माका अनुसार अराइभल कक्षको अन्डरग्राउन्ड भुईं ढलाई ८० सेन्टिमिटर मोटो हुनेछ । जसमा करिव दुई सय घर ढलाई गरे बराबरको खर्च हुनेछ । अबको एक वर्षभित्रमा अन्तर्राष्ट्रिय टर्मिनल भवन तयार भइसक्ने उनको दाबी छ ।
विमानस्थलमा ठूलो परिमाणमा गिट्टी, बालुवा, माटो, छड लगायतका निर्माण सामाग्री थुपारिएको देखिन्छ । गिट्टी बालुवा तिनाउ नदीबाट ल्याइरहेको शर्माको भनाई छ ।
त्यसपछि हामी विमानस्थलको पश्चिमतर्फ रहेको घाँघरा खोला डाइभर्सन गरेको ठाउँ हेर्न गयौं । विमानस्थलको बीचमा पर्ने घाँघरा खोला फर्काउनका लागि करिव ९५ प्रतिशत काम पुरा भइसकेको शर्माले बताए । उनका अनुसार अर्को हप्ता घाँघरा खोला डाइभर्सनको काम पुरा हुनेछ ।
घाँघरा खोलालाई विमानस्थलको वरिपरी साढे २ किलोमिटर घुमाएर डाइभर्सन गरिएको छ । पानी भएको बेलामा आकाशबाट हेर्दा विमानस्थल आकर्षक देखिने छ । सय फिट चौडाईमा घाँघरा खोला फैलिने छ ।
हामी धावनमार्गमा पुग्दा त्यहाँ धमाधम माटो फिलिङ गर्ने काम भइरहेको थियो । अहिले धावनमार्गलाई घाँघरा खोलाले दुई भागमा छुट्टाएको छ । खोला डाइभर्सन गरेपछि त्यहाँ माटो फिलिङ गरेर सम्माई धावनमार्ग बनाइने छ ।
तीन हजार मिटर लामो धावनमार्गमा ११ वटा कम्प्रेसर रोलरले काम गरिरहेको देखिन्थ्यो । जबकी सडक बनाउँदा एउटा रोलरले मात्र काम गरिरहेको हुन्छ । माटो सम्याउनका लागि पनि डोजरहरु उत्तिकै प्रयोग भएको देखिन्थ्यो ।
अहिलेसम्म धावनमार्गको १५ प्रतिशत काम सम्पन्न भइसकेको शर्माले जानकारी दिए । ‘धावनमार्गको १७ सय मिटर लम्बाईमा माटोको काम सकिएको छ’ उनले भने- ‘अब गिट्टी बालुवाको सब बेस हाल्ने काम सुरु हुन्छ ।’
धावनमार्ग जमिनको सतहभन्दा ४ फिट अग्लो हुनेछ । त्यस्तै, चौडाई ७० मिटर हुनेछ । जसमध्ये ६० मिटर भाग पिच गरिने छ । धावनमार्ग १५/१५ सेन्टिमिटर उचाईमा तह-तह बनाएर उठाउनुपर्छ ।
हवाई सुरक्षाका लागि धावनमार्गको पूर्व-पश्चिम दुबैतर्फ ३/३ सय मिटर लामो रन वे इन सेफ्टी एरियाको निर्माण कार्य जारी छ । यहाँ पनि माटो फिलिङ गरी सम्याउने काम भइरहेको देखिन्थ्यो ।
विमानस्थलमा अहिले रेस्क्यू एन्ड फायर फाइटिङ भवनको जग बसाल्ने काम पनि सुरु भएको छ । त्यस्तै, कन्ट्रोल टावर तथा प्रशासनिक भवनको काम पनि अगाडि बढिसकेको छ ।
अहिले भइरहेको टर्मिनल भवन भएको ठाउँमा आन्तरिक टर्मिनल भवन बनाउने बताइएको छ । त्यसो हुँदा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनेपछि मात्र आन्तरिक टर्मिनल भवन बनाइने छ । अन्तर्राष्ट्रिय टर्मिनलबाट आन्तरिक यात्रुलाई पठाएर आन्तरिक टर्मिनल भवन बनाउने शर्माले बताए ।
अहिले भइरहेको १५ सय मिटर लामो धावनमार्ग पछि ट्याक्सी वे मा परिणत हुनेछ । यो धावनमार्गबाट जहाजहरु पार्किङ स्थलतर्फ पुर्याइने छ । पहिलो चरणमा विमानस्थलमा ६ वटा ठूला जहाज अटाउने पार्किङस्थल बनाइने छ ।
यो विमानस्थलमा एरो ब्रिज समेत बनाइने छ । जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत छैन । एरो बि्रज भनेको टर्मिनल भवनबाटै जहाजभित्र चढ्ने मिल्ने र जहाजबाटै टर्मिनल भवनमा र्झन मिल्ने व्यवस्था हो ।
अहिलेको गुरुयोजनामा एरो ब्रिज बनाउने योजना छैन । तर पनि आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलमा एरोबि्रज अनिवार्य बनाउनुपर्ने बताउँछन्, शर्मा । अराइभल र डिपार्चर भवनमा एरोब्रिज हाल्नका लागि करिव २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
‘कोरियन कन्सलट्यान्ट कम्पनी आएर एरोब्रिजको डिजाइन गर्ने भएको छ, उनीहरु केही दिनमै नेपाल आउने योजना छ’ शर्माले भने- ‘विमानस्थल निर्माणको क्रममा अत्यावश्यक सेवा सुविधाहरु छुट्न गएमा त्यसलाई समेट्दै जानेछौँ ।’
यो विमानस्थलको निर्माण कार्य सन् २०१७ को अन्तिम महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, निर्माणको क्रममा ४/६ महिना लम्बिन सक्ने शर्मा बताउँछन् । त्यसो त भूकम्प र बन्द हड्तालका कारण निर्माण कार्य केही समय रोकिन पुगेको थियो ।
अहिले विमानस्थलको जमिन र जमिनमुनी काम भइरहेको छ । बेसमेन्टको काम अलि गाह्रो हुने हुँदा थोरैमात्र काम भएजस्तो देखिएको बताउँदै शर्माले बेसमेन्ट माथिको काम तिब्र गतिमा अगाडि बढ्ने बताए । जसले गर्दा विमानस्थल निर्धारित समयभित्र सम्पन्न हुनेछ ।
यो विमानस्थल ‘फोर ई’ स्तरको हो । जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् । तराईको लोकेसन भएको हुँदा कहिले काहीँ त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्ने विमानहरु पनि यहाँ अवतरण गराउन सकिने शर्माले बताए ।
दैनिक १६ हजार यात्रुलाई सेवा दिने लक्ष्य
यो विमानस्थललाई त्रिभुवन विमानस्थलको विकल्पका रुपमा हेरिएको छ । अहिले एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा विभिन्न समयमा समस्या पैदा हुँदै आएको छ । त्यसो त विमानको चाप बढ्दै जाँदा त्रिभुवन विमानस्थल साँघुरो बन्दै गइरहेको छ ।
यो विमानस्थलको दीर्घकालिन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारको दरले वार्षिक करिव ६० लाख यात्रु यो विमानस्थलले हृयान्डल गर्ने लक्ष्य राखिएको छ । तर, सुरुमा भने ५/६ सय यात्रुलाई सेवा दिन सकिने शर्माले बताए ।
विश्वभरी रहेको साढे एक अर्ब बुद्धिष्ट पर्यटकलाई लक्षित गरी यो विमानस्थल बनाइएको शर्माले बताए । विमानस्थल बनेपछि बुद्धिष्ट पर्यटक सिधै लुम्बिनी आउने सक्छन् ।
७९ विघा क्षेत्रफलमा फैलिएको विमानस्थललाई अन्तराष्ट्रिय रुपमा स्तरोन्नतीका लागि आयोजनाले प्रथम चरणमा २ सय ८ विघा जग्गा अधिग्रहण गरेको थियो । दोस्रो चरणमा अधिग्रहणका लागि प्रस्ताव गरेको १ सय ४० विघा जग्गा स्विकृत भइ अधिग्रहणको प्रक्रियामा रहेको छ ।
दोस्रो चरणको १ सय ४० विघा जग्गा अधिग्रहणका लागि जग्गाको नाँपजाँच, साँध किल्ला गाड्ने काम भइसकेको र मुआब्जा वितरण गर्नका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला मुआब्जा मूल्याङ्कन समितिमा छलफल सुरु भइसकेको परियोजना प्रमुख शर्माले बताए । १ सय ४० विघा जग्गाको मुआब्जाको लागि २ अर्ब ४७ करोड रकम समेत विनियोजन भइसकेको छ । उक्त रकम नेपाल सरकारको आन्तरिक बजेट हो ।
त्यसैगरी, परियोजनाले विमानस्थलका लागि तेस्रो चरणमा थप २ सय ८८ विघा जग्गा अधिग्रहण गर्नका लागि प्रस्ताव गरेको छ । जुन अहिले विचाराधिन अवस्थामा छ । विचाराधिन अवस्थामा रहेको २ सय ८८ विघा जग्गा परियोजनाले अधिग्रहण गरेसँगै विमानस्थल कुल क्षेत्रफल ७ सय १५ विघा बढीको हुने छ ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय बिमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सुरु भएको हो ।
भैरहवाबाट नविन अर्याल/सलमान खान/कविन अधिकारी
प्रतिक्रिया 4