Comments Add Comment

विप्लव भन्छन्- संसदमा कुकुरको मासु बिक्री भइरहेको छ

हामीले आँट्यौं भने एक हप्तामा सत्ता कब्जा हुन्छ

biplab

आलोचकहरूले विप्लव त अर्धभूमिगत जस्तो भैसके नि भनेर विषयवस्तुलाई उत्तेजित बनाउने प्रयास गरिराखेका छन् । उनको मोबाइल स्वीच अफ हुदा जंगल पसिसके होला, त्यसैले सम्पर्क हुन सकेन भन्नेसम्मका तर्कहरू सतहमा देखिन्छन् ।

विप्लवले जन्म दिएको नयाँ कार्यदिशा “एकीकृत जनक्रान्ति” बारेमा बहस गर्न नसकेर रीसले जे-जेस्तो आरोप पनि फ्याट्टै लगाइदिने प्रवृति बढेको छ । कसरी हुन्छ, विप्लवलाई उक्साउने, खुइल्याउने र घुमाई-फिराई अफ्ठ्यारोमा फसाइदिने षड्यन्त्रमा ठुलै गिरोह तल्लीन छ ।

यहाँनेर विप्लव को हुन् भनेर उनीबारे परिचय गराइरहनुपर्छ जस्तो मलाई लागेन । खैर, केही दिन अगाडि मैले विप्लवसँग भेट गरेर यस्ता आलोचनाहरूप्रति उनको धारणा के हो त ? बुझिलिने प्रयास गरेको थिएँ । ती बुझाइहरुलाई पाठकहरूका वीचमा प्रस्तुत गर्दा राम्रै होला जस्तो लाग्यो ।

जनताको माझमा समेत यी कुरा पुग्न जरूरी देखिन्छ भन्ने हो । साथमा उनले चालेका राजनैतिक कदमहरूको प्रगति विवरण, संविधान, संसद र सरकारलाई कुन रुपमा नियालिरहेका छन् भन्ने प्रसङ्ग पनि जोड्न मन लाग्यो ।

विप्लव त उहिल्यै अर्ध भुमिगत भैसके भन्ने हल्लाखल्ला छ, बाहिर । तपाई यहाँ खुलारूपमा ठमठमी हिँडिरहनुभएको छ । काठमाणडौमा किन आउनुभएको हो कुन्नि ?

यस्तो प्रश्न सुनेपछि माओवादी नेता नेत्रविक्रम चन्द विप्लव खिस्स हाँसे । उनको कार्यशैली जतिसुकै कडा भए पनि अप्रत्याशित कुराहरू  ( प्रश्न ) सुन्दा खिस्स हाँस्न कहिल्यै छुटाउँदैनन् ।

“तपाई पनि यस्तो हौवाको पछाडि लाग्नुहुन्छ दिल जी ? यो सब प्रोपोगान्डा हो । म यहीँ छु त ( मुस्कुराउँदै ) म यही गाँउबस्तीमा घुमिरहेको छु । जनताको माझमा छु ।

हामीले त एकीकृत जनक्रान्ति गर्ने भनेका छौं लुक्ने कुरै छैन । नेपालमा जुन मोडलमा क्रान्ति सफल गर्ने भनिराखेका छौं नि, त्यो हिजोको जस्तो लुकिछिपी हुनेवाला छैन

कार्यक्रमहरूको शिलसिलामा जनताका माझमा जाँदा कोही कसैलाई अर्धभुमिगत नै भएको छ भन्ने लाग्छ भने मेरो भन्नु धेरै छैन । मलाई लाग्छ, काठमाण्डौमै अड्डी कसेर बसेकाहरुले म जनताका माझमा जाँदा भुमिगत भएको भन्ठान्छन् ।”

‘हैन होला ? अर्ध भुमिगत नै होला ? मलाई नि त्यस्तै लाग्छ ।’ मैले अर्को प्रश्न गरें ।

“सुन्नुहोस् न, त्यो त केटाकेटी कुरा भयो भन्नुहोस् । हामीले त एकीकृत जनक्रान्ति गर्ने भनेका छौं लुक्ने कुरै छैन । नेपालमा जुन मोडलमा क्रान्ति सफल गर्ने भनिराखेका छौं नि, त्यो हिजोको जस्तो लुकिछिपी हुनेवाला छैन । जे हुन्छ, त्यो हाकाहाकी नै हुन्छ । किन भुमिगत हुने हामी ? हामी जे गर्छौं जनताको माझमा गर्छौं ।

जनताको माझ भनेको के ? म अलि कड्किएँ ।

“त्यत्रो जनयुद्धमा पनि हामी कहिल्यै भुमिगत थिएनौं । हामी त आधार इलाकाहरूमा जनताका माझमा नै थियौं । हामीलार्इ सिध्याउनका लागि दुश्मनले खोज्दा लुक्ने कुरा अलग थियो । त्यो भनेको दुश्मनले बाटो नकाट्टासम्म लुक्ने हो, अनि बाटो काटेपछि निस्कने हो । जे होस् खासमा हामी हिजो पनि भुमिगत थिएनौं, आज पनि छैनौं र भोलि पनि हुन्नौं ।”

त्यसपछि हाम्रो छेउमा दुई कप कफी आयो ।

पहिलोपटक राष्ट्रको होनाहार नेतासँग बसेर कफी गफ गर्न पाउँदा म आफूलाई पनि ठुलै मानिस भैसकेको छु जस्तो महशुस भयो । अन्यथा विप्लवको समय पाउन कस्लाई सजिलो छ र ?

म मनमनै हाँसिरहेको थिएँ ।

विप्लवको दिमाखमा के छ त ? विप्लव कहाँ छन् ? विप्लव के गर्दै छन् ? विप्लवले के भन्छन् ? यस्ता प्रश्नहरु आम मानिसहरुको मनमा मात्र छैन, यो देशका थिङ्क ट्याङ्कहरू, देशी विदेशी जासजुसहरू र पत्रकारको मनमा  पनि खेलिरहन्छ । र, अन्य राजनैतिक दलका नेताहरूले पनि यो विप्लव भन्ने झासेझुसे कुरामा अल्झिनेखालको होइन भन्ने कुराको बोध राम्रैसंग गरेका छन् । ल्याङ्-ल्याङ् गरेर बसेको भए विप्लव कैयौं पटक मन्त्री भैसकेका हुन्थे ।

किनभने विप्लवसँगै युद्धको कमाण्डमा होमिएका नन्द किशोर पुन उप-राष्ट्रपति भएका छन् । विप्लवचाँहि बालाजु हाइटको सानो कोठामा बसेका छन् । त्यो पनि मासिक भाडा तिरेर ।

मैले यहाँनेर भाडा नतिरेरै बस्न पाउनुपर्छ भनेको होइन, चप्पल लगाइएर काठमाण्डौ आएका धरै माओवादीहरुको काठमाण्डौमा नयाँ घर छ भन्न खोजेको हुँ ।

विप्लवसँगै सहकार्य गरेर हिँडेका वर्षमान पुनले सत्ताबाट कति स्वार्थ लिए, त्यो उल्लेख गरेर साध्य नै छैन ।

एक सुरुप कफी पिउँदै मैले सोधें-“हैन, विप्लव जी मिडियालाई पनि बहिस्कार हो कि कसो ? पत्रकार मित्रहरूको गुनासो निकै देखिन्छ नि ?

तलमाथिका दुवै ओठलाई च्याप्प च्याप्दै विप्लवले भने-“यो त अलि बेठीक कुरा गर्नुभयो ।”

“हेर्नुहोस् समय मिलेसम्म मैले मिडियालाई समय दिएकै छु जस्तो लाग्छ । एउटा पार्टीको नेता मिडियासँग पुरै विमुख हुने वा मिडियासँग बेखबर हुने भन्ने कुरा त्यो बैज्ञानिक पनि हुन्न । आजको दुनियाँ सूचना प्रविधिको हो भन्ने लाग्छ । तर, जब फिल्डमा खटेर जनताको झुपडीमा गइन्छ, तब हाम्रा लागि मिडिया जनता बन्छन् । जनतासँगै त छन् नेपाली जीवनका सुख-दुखका कैयौं सुचनाहरू । जनताहरुको खास भावनाविनाका सूचना सबै भ्रम हुन् भन्ने लाग्छ ।”

विप्लवको यति कुरा सुनेपछि मैले ए,ए भन्दै ट्वाँ परेर उनलार्इ हेरिरहें । यसभन्दा अगाडि अरु कसैको कुरा सुन्दा ट्वाँ परेर रल्लिएको सम्झना छैन मलार्इ ।

“नेता त जनताको वीचमा हुनुपर्छ” विप्लवले फेरि ब्याख्या गर्न थाले-“मुलुकको संवेदनशीलता वा पार्टीको कार्यदिशालाई हेर्यो भने पनि मिडिया होइन, कार्यकर्ता र आम जनताहरूप्रति धेरै ध्यान दिनुपर्ने बेला आएको छ जस्तो लाग्छ भन्नुहोस् । फेरि अधिकांश एलिट बर्गका मिडिया त छन् । तलैसम्म हेर्यो भनेपनि तिनले जनताको भावना र विचारलाई कहाँ प्रवाह गरेका छन् ? बरू उल्टै रोकेका छन् ।”

biplab_dilnisani_fहैन, मिडियासँग किन रिसाएको ? वीचैमा कुरा काटेर जंगिए म ।

“त्यसो होइन । मैले मिडियाप्रति आक्रोश पोखेको होइन, त्यो जाजय पनि हुन्न । तर्क के हो त भन्दाखेरि मिडियामा छाइरहने कि जनताको झूपडिमा जाने भन्ने हो । मिडिया आवश्यक छ, तर अनावश्यक प्रयोगका लागि होइन । अहिले हामी जनताको माझमा हुनु आवश्यक छ ।”

उनको कुरा गम खाए जसरि मैले टाउको हल्लाउँदै गए ।

हिजो जनयुद्ध हुँदाको समयदेखि आज शान्ति प्रकृयाका विभिन्न चरणहरू पार गर्दै यहाँसम्म आइपुग्दा माओवादी आन्दोलनको इतिहासमा ‘सिरियस’ पात्र कोही छ भने उनै हुन् नेत्रविक्रम चन्द विप्लव ।

मानिसहरुले स्विकारून् वा अस्विकार गरून् माओवादीको मुलधारे आन्दोलनको नेतृत्व विप्लवले नै गरिरहेका छन् । बाहिर भन्न नमिलेर मात्र हो, अन्यथा अन्तराष्ट्रिय समुदायले समेत विप्लव माओवादीके कार्यदिशालाई गम्भिरतापूक नियालिरहेको छ ।

मैले अर्को प्रश्न गरे- “विप्लवको दिमाखमा बिद्रोह बाहेक अरु छैन भन्छन् । त्यसोभए एककिकृत जनक्रान्तिको लागि हतियार उठाउने हो ?”

“त्यसो हैन, खासमा भन्ने हो भने त सबै माओवादीहरुको दिमाखमा बिद्रोह नै बिद्रोह हुनुपर्छ भन्ने हो । हामीलाई जनताको म्याण्डेट त्यसैका लागि न थियो । तर, दुखका साथ भन्नुपर्छ, दिमागहरु विभाजित हुँदै गए । अहिले हामीले विभाजित दिमागलाई एकीकृत गर्ने भनेका छौं । त्यो एकीकृत चिज नै जनक्रान्तिको लागि महत्वपूर्ण आधार हुनेछ ।

अर्को जुन हतियार उठाउने कुरा छ, हामी त हिजो पनि हतियारसँगै थियौ त । तर, हतियारको प्रयोग भनेको केटाकेटीले भाँडाकुटी खेलाएजस्तो होइन । हामीले जे गर्छौ, एकदमै ठोस परिस्थिथितिको आँकलन गरेर सुझबुझका साथ जनतासँग मिलेर नै गर्छौं ।”

हामीले आँट्यौं भने एक हप्तामा सत्ता कब्जा हुन्छ । त्यतिखेर हामीसँग हतियार नहुने भन्ने कुरा अपवाद जस्तै हो

विल्लव थप्दै जान्छन्-” हामीले चाह्यौं भने हामीसँग के छैनन् र ? सबथोक त हामीसँग नै छन् । युवाहरू लामवद्द छन् । हिजो युद्धमा होमिएका शहिद परिवार र हामीलाई सहानुभूतिका लागि अगाडि बढ्न सक्ने लाखौं जनता छन्, क्याडरहरू छन्, पूर्व पीएलएहरु छन्, हतियार पनि छन् । हतियारबिनाको संसार कहाँ छ र ? तर, हतियार कारखानामा होला, हामीसँग त छैन । तर, हामीले आँट्यौं भने एक हप्तामा सत्ता कब्जा हुन्छ । त्यतिखेर हामीसँग हतियार नहुने भन्ने कुरा अपवाद जस्तै हो ।

“अहिले हामीले मूल प्रश्न विचारलार्इ बनाएका छौं । जनताको संघर्ष अगाडि बढेका बेला जनताको बिरुद्धमा जाइलाग्नेलाई बाजागाजा बजाएर भव्य स्वागत गर्ने, फूलमामा लगाइदिने कुरा हुँदैन ।  हो, हामी त्यसका बिरुद्ध डटेर संघर्ष गर्छौं । गरिब, मजदुर, किसान, दलित, जनजाति, महिलाहरू जोसुकै हुन्, सामाजका यी सीमान्तकृत वर्गको हित र भलाइका लागि हतियार उठाउन सक्छौं । तर, अहिले हामी रणनैतिक रुपमा पनि, संगठानिक रुपमा पनि शान्तिपूर्ण संघर्षलाई नै अगाडि बढाएर लैजाने योजनामा छौं ।”

बिद्रोह र हतियारका बारेमा विप्लवको जवाफ सुनिसकेपछि पछिल्लो समय देखापरेका राजनैतिक घटनाक्रमबारे मैले चासो राखें।

अहिले संसदमा कुकुरको मासु बेचिरहेका छन् । खसीको टाउको कहाँ, कोसँग छ, थाहा छैन । हेर्नुभएन ? सरकार परिवर्तनको लज्जास्पद खेल ? जनताका लागि यो भन्दा हीनतावोध अरु के हुन सक्छ ?

किनभने विप्लव आफ्नो जीवनकालभरी केवल माओवादी मात्रै भएरै बाँच्न र मर्न चाहेका एक बिचारक हुन् । अनिकालमा माओवादीको बिउ जोगाउका लागि मुस्किल परेका बेला विप्लव बिउ हुन् । यो बिउले मलिलो माटो खोजिरहेको छ । मलजल खोजिरहेको छ । अझ यसो भनौं, वृक्षारोपण चाहेको छ । नेपाली जनताका महान सपनाहरुलाई हराभरा बनाउने जो चिन्ता छ ।

मैले उनलाई सोधें-“सरकार र संसदलाई नियालिरहनुभएको छ कि छैन ? संविधानसभा बारे पार्टीको धारणा पुरानै हो ?

“अहिले संसदमा कुकुरको मासु बेचिरहेका छन् । खसीको टाउको कहाँ, कोसँग छ, थाहा छैन । हेर्नुभएन ? सरकार परिवर्तनको लज्जास्पद खेल ? जनताका लागि यो भन्दा हीनतावोध अरु के हुन सक्छ ?

भूकम्प पीडितको बिजोग छ, दैनिक हजारौं युवाहरू अरबका खाडीहमा पलायन भैरहेका छन् । यसबारे चिन्ता कसैलाई छैन ।”

विप्लव थप्दै जान्छन्-

“तर हामीले संसद र संबिधानलाई नै मानेका छैनौं । राज्यको प्रणालि नै बेठीक छ भनेका छौं । हामीले दलहरुको कुनै पनि कदम स्वीकार गरेका छैनौं । त्यस्ता कदमहरू जबर्जस्ती लादिएका छन् र जनताको चाहना बमोजिम छैनन् भन्ने लाग्छ हामीलाई ।”

उनी थप्छन्– “तर, एउटा कुरा के हो भने हामीले कसैको राजनैतिक अधिकारलाई तत्काल अवरोध नै गरेर जाने भनेका पनि छैनौं । तर, हाम्रो कुरा क्लियर छ । यसरी हुँदै हुँदैन, यो तरिकाले देशको समस्यालाई निकास दिन सकिँदैन भनेका छौं ।”

“जनताको पीडा त हिजोको नेपालमा जस्तो थियो आज पनि उस्तै छ त । खै कहाँनेर महशुस गर्यो जनताले परिवर्तन ?  मतलब, साँचो अर्थको परिवर्तन । त्यसैले हामीले जनवादी शासनको वकालत गरेका हौं र संघीय, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धीहरू केवल शासकका लागि देखाउने दाँत बन्नु हुँदैन भनेका छौं ।”

संसद र सरकारबारे पार्टीको धारणा सुनिसकेपछि मैले अर्को प्रश्न गरें -“ओली सरकारलाई प्रचण्डले ढाल्ने असफल कोशिस गर्नुभयो नि ? तपाईलाई के लाग्छ ?

“देशको राजनैतिक घटनाक्रम बडो संवेदनशील ढंगबाट अगाडि बढिरहेको छ । तर, जनताको जन जिबिकाका मूलभुत प्रश्नहरू भने क्रमश पछाडि ढकेलिँदै छन् ।

यी संसदवादी दलहरूले जनताका महान सपनालाई किनवेच गरेको र आफूहरु साहुमहाजन जस्तो जगरधम्म परेर बसेका छन् । म प्रचण्डजीका बारेमा धेरै टिप्पणी गर्न चाहन्न । तर, जाली फटाहाहरुको संसदमा उभिएर उहाँले जे बोले पनि जे गरे पनि उहाँले जनताको प्रतिनिधित्व गरेको ठहरिदैन ।”

जवाफ थप्दै विप्लव भन्छन्-” संसदीय राजनीति यति लज्जास्पद विषय हुँदाहुँदै पनि प्रचण्डजीहरू लत्रिँदै हिँडिरहनुभएको छ, उठेर डौडिन चाहानुभएन ।

यो संसद नै मान्दैनौ भनेपछि यसैको विधि विधान र जगमा उभिएको सरकारलाई बैचारिक दृष्टिले हामी मान्दैनौं, मतलब, स्वीकार गर्न सकिने अवस्था रहन्न तर हामी दलहरुले अगाडि सारेका मुद्दालाई भने नियालिरहेका छौं । चिज कहाँबाट कसरी अगाडि बढिरहेको छ भन्नेबारे हामी ज्यादै चनाखो छौं ।”

जनयुद्धको मुद्दा ब्यूझाएर जेल नहाल्ने भए मात्र ओली सरकारलाई निरन्तरता दिन सक्छौं भन्ने प्रचण्डलगायतको अडान नै गलत छ । यो त पुरै आत्मसमर्पण भयो नि । हामी जिउ जोगाउनका लागि शान्ति प्रकृयामा आएका थिएनौं

विप्लव व्याख्या गर्छन्- “तर हामीलाई के लाग्छ भने जनयुद्धको मूल जिम्वेवारी के थियो, त्यो पूरा नगरेसम्म, आम मजदुर किसान, गरीबहरूको शासन आउनेवाला छैन । यहाँनेर प्रचण्डजी चिप्लिनुभएको हो ।

अहिले जनयुद्धको मुद्दा ब्यूझाएर जेल नहाल्ने भए मात्र ओली सरकारलाई निरन्तरता दिन सक्छौं भन्ने प्रचण्डलगायतको अडान नै गलत छ । यो त पुरै आत्मसमर्पण भयो नि । हामी जिउ जोगाउनका लागि शान्ति प्रकृयामा आएका थिएनौं ।”

“हामी बाघ थियौं नि, आज कसरी बिरालो भयौं ? त्यसैले समस्या बिचारको नै हो । रणनीति र कार्यनीतिलाई नमान्दा नै जनताले धोका खानु परेको हो ।

हेर्नुहोस्, यो संसदीय व्यवस्थामा ‘कालो आए पनि गोरो आए पनि’ गरिब जनताहरूको हितमा सिन्को भाँचिने छैन । त्यसैले सरकारभन्दा पनि हामिले जनतालाई कसरी गोलबन्द गर्न सक्छौं र चिजहरुलाई प्रष्ट पार्न सक्छौं भन्ने कुरा मुख्य हो । यही कुरामा विभिन्न मतमतान्तर हुँदा नै पार्टी फुटेको हो ।”

पार्टी फुटको प्रसङ्ग आउँदाबित्तिकै मलाई पार्टी एकताबारे जान्न मन लागेको थियो । बाहिर हल्ला पनि पार्टी एकता हुन्छ भन्ने छ ।

मैले सोधें-“तपाईलाई महत्वाकाङक्षी छ भन्छन् । पार्टी एकताको सम्भावना के हो ?

“जनताको संविधान अझै नलेखिएको ठहर छ हाम्रो । यति मात्र हैन, शान्ति प्रकियासमेत सही छैन भन्ने धारणा छ । यही विचारका आधारमा  नै हामीले संविधान सभाको निर्वाचन बहिस्कार गरेका थियौं ।

एमाओवादीबाट फुटेर अगल हुनूपर्ने अवस्था सिर्जना भएको थियो । र, क्रान्तिलाई गति दिने वा स्थगित गर्ने भन्ने सन्दर्भमा मतमतान्तर हुदा मोहन वैद्य किरण नेतृत्वको माओवादीबाट समेत अलग्गिएर मेरो ( विप्लव ) नेतृत्वको माओवादी गठन गरिएको थियो । त्यसैल़े हामी मान्छे-मान्छे अलग भएका होइनौं । विचार-विचार अलग भएको हो भन्नुहोस् ।”

“जहाँसम्म पार्टी एकताको कुरा छ, त्यहाँ बिचारकै कुरा प्रमुख हो । खाली “एकता” भन्ने चिज मात्रै प्रधान होइन । कार्यनीति र रणनीति मिल्नु पर्यो अनि मात्र कार्यदिशा तयार हुन्छ । अब उहाँहरुले ( प्रचण्ड ) संसदीय व्यवस्था मानेर अगाडि बढिसक्नुभएको छ । र, संसदीय खेलमा रमाइरहनुभएको छ । हामीले यस्तो प्रवत्ति सही छैन भनेका छौं । शान्ति प्रकृया सुरुवात हुँदैदेखिका कैयौं मतभेदहरुलाई हेर्ने र बुझ्ने सवालमा हामीवीच आकाश–पातलको फरक छ ।”

“कम्युनिष्टहरुको एकता र ध्रुवीकरणको पक्ष सुन्दर हो । यसलाई प्रयोग गर्न सकेको खण्डमा त राम्रै हुन्छ । तर, यसका लागि दलाली दिमाखलाई त्याग्नुपर्छ । चाकडीबाट धेरै टाढा रहनुपर्छ । तर, एमाओवादीहरुको आन्दोलनमा कामको भन्दा पनि नामका पछाडि दाैडिने प्रचलन बढी भयो । जनताको साथ नछाडौ, जनतासँगै सहकार्य गरौं र लडौं भन्ने सवालमा म अलिकति होइन, धेरै महत्वाकाङ्क्षी छु भन्नुहोस् । तर, यस्ता आरोप लोभीपापीहरुको चङ्गुलमा डुबेकाहरुले लगाउने गर्छन् ।”

अन्त्यमा मैले सोधे-“कस्ले बनायो दाजै उडीजाने रेल ?

गम्भीर मुद्रामा विप्लवले भने-“पुस्तौंदेखि नेपाली शासकहरू जो छन् तिनले हाम्रा होनाहार युवाहरूलाई स्वदेशमै बस्ने वातावरण नहोस् भनेर यो देशलाई कामदार उत्पादन गर्ने कारखाना जस्तो बनाएका छन् । उभीजाने बस त एउटा विज्ञान न हो ।”

मैले विज्ञान भनेको के हो ? भनेर प्रश्न गरिँन । बरू यतै खाना खाएर जाँदा कसो होला भनेर विप्लवजीले मलाई प्रश्न गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment