Comments Add Comment

गौचरनमा परिणत विमानस्थल पुनः सञ्चालनमा ल्याइने

plane-hi३० वैशाख, जिरी । गौचरनमा परिणत भएको तीन दशकपछि सगरमाथाको प्रवेशद्वारमा रहेको दोलखा जिल्लाको जिरी विमानस्थल पुनः सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ ।

विसं २०४२ देखि पूर्णरुपमा बन्द रहेको जिरी विमानस्थल यसअघि देखि नै सञ्चालनमा ल्याउने बहस चले पनि पूरा हुन सकेको थिएन । पटक–पटक विमानस्थललाई सञ्चालनमा ल्याउनका लागि जिरीका राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीको समूहले नागरिक उड्डयन प्राधिकरणसँग अनुरोध गरे पनि सुनुवाइ हुन सकेको थिएन ।

विमानस्थल पुनःनिर्माणका लागि सर्भेको काम सुरु गर्न लागिएको छ । लामो समयको प्रतीक्षापछि जिरीको विमानस्थल पुनःनिर्माणका लागि सर्भे गर्न नागरिक उड्डयन प्राधिकरणबाट इन्जिनियर जिरी आइसकेका छन् ।

इन्जिनियर अशोक शाहले दिएको जानकारीअनुसार बुधबार सर्भेको काम सुरु गरी झन्डै एक सातासम्मको समय खर्चेर सर्भेको काम सकिएपछि रिपोर्ट प्राधिकरणमा बुझाइने र त्यसपछि थप काम अघि बढ्नेछ ।

यसअघि पनि विमानस्थल सञ्चालनमा ल्याउने प्रयास भएको थियो तर विमानस्थलको नाममा उक्त जग्गाको धनीपुर्जा नभएपछि विवादका कारण सफल हुन सकेको थिएन । यस पटक कुनै विवाद उत्पन्न भए राजनीतिक दलका प्रतिनिधिले सल्ट्याउने गरी सर्भेको काम सुरु गर्न लागिएको नेपाली काँग्रेस जिरी नगर कमिटीका सभापति टङ्क जिरेलले बताए ।

जिरीको विमानस्थल पुनःसञ्चालनमा आउन सके कुनै समय स्विजरल्यान्डको जुरिच सहरसँग तुलना गरिँदै आएको जिरीमा पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । जिरीमा पर्यटन विकास गर्न सकिए स्थानीयवासीको आर्थिक विकासमा समेत प्रत्यक्ष भूमिका रहनेछ ।

२०४२ सालसम्म नियमित रुपमा सञ्चालनमा रहेको जिरी विमानस्थल सडक सञ्जालले जिरीलाई छोएपछि बन्द भएको स्थानीय होटल व्यवसायी भूमिराज खड्काले बताए ।

विमानस्थल बन्द भएसँगै जिरी विमानस्थलका रुपमा प्रयोग भएको जग्गा पशु विकास फार्म जिरीले भोगचलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment