Comments Add Comment

एमाओवादीसँग एकताका लागि वैद्य माओवादी फुट्यो, बादलले लिए नेतृत्व

एकतामा छलछाम छः वैद्य

baidhya and badal
१ जेठ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरुले मोहन वैद्य किरणलाई अध्यक्ष पदबाट हटाउँदै रामबहादुर थापा ‘बादल’को नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गरेका छन् ।

योसँगै वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी औपचारिकरुपमा फुटेको छ । वैद्य एमाओवादीसँग पार्टी एकताको विपक्षमा रहँदै आएका थिए ।

एकताको पक्षमा रहेका केन्द्रीय सदस्यहरुको बैठक शनिबार बादलको अध्यक्षमा बसेको थियो । ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले बादलको नेतृत्वमा एकता प्रक्रियामा जाने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रवक्ता भुसालले भनिन्, ‘अध्यक्ष कमरेड किरण बैठकमा नआएपछि बादललाई अध्यक्ष चुनिएको छ ।’

‘वैद्यले माओवादी सखाप पार्ने अभियानलाई टेवा पुर्‍याए’

वैद्य माओवादीको १९९ सदस्यीय केन्द्रीय समितिमध्ये बादल पक्षका १३० जना सदस्यहरु शनिबारको बैठकमा सहभागी थिए । तर, अध्यक्ष वैद्यसहित, सिपी गजुरेल, परि थापा लगायतका नेताहरु भने बैठकमा सहभागी भएनन् ।

बादल पक्षले वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरेको थियो । तर, प्रयास सफल भएन । अन्ततः बादल पक्षले एकता सम्बन्धी प्रस्ताव पारित गर्‍यो र वैद्य कायरतापूर्वक पलायन भएको निष्कर्ष निकाल्यो ।

‘किरण प्रवृत्तिले देशी विदेशी शक्तिद्वारा प्रयोजित माओवादी सखाप पार्ने अभियानलाई पनि वस्तुत टेवा पुर्‍याएको,’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ । वैद्यले माओवादी एकतालाई बारम्बार आलटाल गरेको बादल पक्षको आरोप छ ।

कारबाही नगरेको दाबी

बैठकले वैद्यलाई हटाएर बादललाई अध्यक्ष चयन गरे पनि नेता रामदिप आचार्यले वैद्यलाई कारबाही वा निस्कासन भने नगरेको दाबी गरे ।

उनले भने, ‘वैद्यलाई निस्कासन गरिएको पनि छैन, कारबाही गरिएको पनि होइन । केन्द्रीय समितिको बहुमतको निर्णयअनुसार बादलको संयोजकत्वमा एकता प्रक्रिया अघि बढाइएको हो ।’

आचार्यले अब पार्टी एकताका लागि वार्ता र छलफललाई तिव्रता दिइने बताए । उनका अनुसार बादल नेतृत्वको पुनर्गठित केन्द्रीय समितिको बैठक आइतबार बोलाइएको छ ।

एकतामा छलछाम छः वैद्य
अध्यक्ष मोहन वैद्यले एमाओवादीसँग भएको पार्टी एकताको कुरा षड्यन्त्र भएको टिप्पणी गरेका छन् । उनले विज्ञप्ती निकालेर साम्राज्यवादी, विस्तारवादी, घरेलु प्रतिक्रियावादी र दक्षिणपन्थी संशोधनवादीहरू एकताको प्रक्रियामा गएर क्रान्तिकारी धाराको अवसान गर्न संसदवाद एवम् दक्षिणपन्थी भासमा चुर्लुम्मै डुबाउन चाहेको  बताएका छन् ।

एकताको कुरा छलछाम र षड्यन्त्रमा तयार भएको र यो एकताको नकारात्मक पाटो रहेको वैद्यले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुस्

एमाओवादीले प्रचण्डलाई दियो एकताको जिम्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment