Comments Add Comment

टेस्ट क्रिकेटमा दुई डिभिजन बनाउने योजना, नेपालले फाइदा लिन सक्ने

Nepali cricket1 (4)

२० जेठ, काठमाडौं । टेस्ट क्रिकेट नेपालका लागि अहिलेसम्म निकै टाढाको कल्पना हो । वान डे स्टाटस पनि नपाएको नेपालले टेस्ट क्रिकेट खेल्ने सम्भावना निकट भविष्यमा देखिंदैन ।

तर, आइसीसीका कार्यकारी प्रमुख डेभिड रिचार्डसनको भनाईलाई मान्ने हो भने नेपालका लागि चाँडै भाग्यको ढोका खुल्न सक्छ । उनले दुई तहको टेस्ट क्रिकेटको कुरा गरेका छन् । पहिलो तहमा शक्तिशाली देशहरु हुनेछन् भने दोस्रो तहमा नेपाल सरहका एसोसिएट्स देशले आफ्नो भाग्य जाँच्न सक्छन् ।

रिचार्डसनले सन् २०१९ बाट टेस्ट क्रिकेटमा दुईवटा डिभिजनको कुरा गरेका छन्, जहाँ प्रमोसन र रेलिगेसन लागू हुन सक्छ । पहिलो डिभिजनका टेस्ट राष्ट्रहरुले लगातार कमजोर प्रदर्शन गरे दोस्रो डिभिजनमा झर्न सक्छन् भने दोस्रो डिभिजनको राष्ट्रले लगातार अब्बल प्रदर्शन गरे पहिलो डिभिजनमा उक्लिन सक्छ । यसबाट निकट भविष्यमै नयाँ टेस्ट राष्ट्रहरु जन्मिने समाचार क्रिकइन्फो डट कमले प्रकाशित गरेको छ ।

२०१७ माआयोउजना हुने च्याम्पियन्स ट्रफीको प्रवर्द्धनका लागि आयोजित कार्यक्रममा बोल्दै रिचार्डसनले सन् २०१८ मा अतिरिक्त विश्व टि-२० प्रतियोगिता आयोजना गर्नसक्ने संकेत पनि गरे, जसमा १६ टिमको सहभागीता रहनेछ । नेपालले यसमा पनि ढोका ढक्ढक्याउन सक्छ । यो प्रतियोगिता दक्षिण अफ्रिका, श्रीलंका वा यूएईमा आयोजना हुने सम्भावना छ ।

रिचार्डसनले टेस्ट क्रिकेटमा गर्न लागिएको परिवर्तनबाट नेपाल, आयरल्याण्ड र अफगानिस्तान जस्ता राष्ट्रहरु लाभान्वित हुन सक्ने उल्लेख गरे । उनले यो पनि चेतावनी दिए कि वेस्ट इन्डिज जस्ता लगातार खराब प्रदर्शन गर्ने टिम रेलिगेट भएर दोस्रो डिभिजनमा र्झन सक्छन् ।

‘यदी हामी टेस्ट क्रिकेटलाई जिवित राख्न चाहन्छौं भने हामीले टेस्ट टिमहरु घटाउने होइन, बढाउनुपर्छ । प्रमोसन र रेलिगेसनको प्रणाली स्थापना गर्नुपर्छ ।’

यस विषयमा धेरै कुराहरु छलफलकै क्रममा रहेको भए पनि यो महिनाको अन्त्यसम्ममा सबै टुंगो लाग्न सक्ने रिचार्डसनले बताएका छन् । अहिले गरिएको प्रस्तावमा पहिलो डिभिजनमा सात टिम र दोस्रो डिभिजनमा पाँच टिमलाई स्थान दिने कुरा छ ।

एउटा टिम प्रत्येक दुई वर्षको प्रदर्शनका आधारमा घटुवा वा बढुवा हुन सक्छ । दुई वर्षमा प्रत्येक टिमलाई ३ घरेलु र ३ बाह्य गरी ६ वटा सिरिज खेलाउने र प्रत्येक सिरिजमा ३ म्याच हुनुपर्ने प्रस्ताव गरिएको छ । त्यसैका आधारमा रेलिगेसन वा प्रमोसनको निर्धारण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment