Comments Add Comment

निराशामा डुबेका युवा मनोचिकित्सककहाँ धाउँदै

आत्महत्याको प्रयास गर्नेहरु पनि अस्पताल जान थाले

depression२२ जेठ, काठमाडौं । युवाहरुमा नैराश्य बढ्दै जाँदा उनीहरु परामर्शका लागि मनोचिकित्सकहाँ धाउने क्रम बढेको छ । पछिल्लो समय परामर्श लिन आउनेको संख्या क्रमशः वृद्धि हुँदै गएको मनोचिकित्सकहरु बताउँछन् । र, यस्तो सूचीमा आत्महत्याका प्रयास गर्नेहरु पनि छन् ।

‘पहिले मनोचिकित्सालाई मानसिक रोगको उपचारका रुपमा लिनेहरुले अहिले यसलाई बुझ्न थालेका छन्’, नेपाल मेडिकल कलेजका मनोचिकित्सक तथा कन्सल्टेन्ट डा. सञ्जिवचन्द्र गौतम भन्छन्, ‘परिणामस्वरुप अहिले दिनमा १० देखि १५ जनासम्म बिरामी मकहाँ मनोपरार्मशकै लागि आउने गरेका छन् ।’

त्यसो त निराशाको पराकाष्टाको रुपमा लिइने आत्महत्याको प्रयास गरिसकेकाहरु पनि अस्पताल धाउने क्रम बढ्न थालेको छ ।

टिचिङ्ग अस्पतालका मनोचिकित्सकका अनुसार विश्वमा २० देखि ३० वर्ष उमेर समूहमा हुने सबैभन्दा ठूलो समस्या भनेको आत्महत्या हो । यो विभिन्न कारणहरुले हुने गर्छ । यसमा मनोसामाजिक कारण प्रमुख छ । यसमा पनि डिप्रेसन पहिलो हो ।
त्यस्तै ‘इम्पल्सिभ एक्ट’ अर्थात आवेशमा आएर गर्ने आत्महत्या दोश्रो हो । त्यसबाहेक बढी मात्रामा रक्सी सेवन गर्ने तथा  स्केजाफेनिया अर्थात कडा प्रकारको मानसिक रोग भएका मानिसमा पनि आत्महत्याको समस्या बढी देखिन्छ ।

विशेष गरी सामाजिक तथा आर्थिक कारण, झंैझगडा, एकआपसको सम्बन्ध लगायतका तत्वले पनि यसमा प्रमुख  भुमिका खेलेको हुन्छ ।

मानिस तनावमा भएका बेला उसमा सही र गलतको पहिचान गर्ने क्षमतामा कमी आउँछ । त्यसबेला ऊ आत्महत्यातर्फ अग्रसर हुन्छ ।

यस्ता समस्या ६० वर्ष उमेर नाघेकामा पनि बढी देखिन्छ । सामाजिक सुरक्षा नपाउँदा र मानिसले एक्लो महसुस गर्दा उनीहरुमा यो समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

तर, पछिल्लो समय आत्महत्या र डिप्रेसनको समस्या युवाहरुमा बढी देखिन थालेको छ । यसको रोकथाम तथा उचित परामर्शका लागि मानिसहरु डाक्टरका जाने परिपाटी बढेको छ । तर, यो अझै पनि पर्याप्त नभएको मनोचिकित्सक बताउँछन् ।

‘जनचेतनाको कमीका कारण मानिसहरुलाई अहिलेसम्म पनि मनोसामाजिक समस्या हुँदा कहाँ जाने भन्ने जानकारी छैन’, टिचिङ्ग अस्पतालका मानसिक स्वास्थ्य विभागका विभागीय प्रमुख डा. सरोजप्रसाद ओझा भन्छन्, ‘यसको प्रचारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।’

पछिल्लो समय उचित परामर्शकै लागि महिनामा १० देखि १२ जना युवा टिचिङ्ग अस्पताल आउने गरेको ओझा बताउँछन् ।
उनका अनुसार यस्तो समस्या आफुमा भएको थाहा पाउन सके मात्रै पनि रोकथाम सजिलै गर्न सकिन्छ । त्यसबाहेक परिवारिक सहयोगले पनि यस्ता समस्याको रोकथाम समयमै गर्न सकिन्छ ।

विज्ञहरुका अनुसार साधारणतयाः मानसिक समस्या कुनै पनि मानिसमा एकैपटक देखा पर्दैन, उसले पहिलेदेखि नै संकेत दिइरहेको हुन्छ । यसलाई परिवारले बारम्बार नजरअन्दाज गरिरहेको हुन्छ ।

विशेष गरी कुनै पनि मानिसमा एकाएक पढाइप्रतिको रुची घट्दै गयो, एकान्तप्रेमी भयो, उसमा तनाव सहने क्षमता कम भयो, धेरै सुत्ने अथवा सुत्दै नसुत्ने जस्ता समस्या देखिए भने उसमा मानसिक समस्या हुन सक्छ । त्यस्तो अवस्थामा उक्त व्यक्तिलाई मनोचिकित्सकीय परामर्श दिएको खण्डमा यस्ता समस्याको सुरुमै रोकथाम गर्न सकिन्छ ।

‘यस प्रकारको समस्या परिवारका कुनै सदस्यमा देखिए वा कोही व्यक्तिले आफूमा समस्या छ भनेर निरन्तर भनिरहेको खण्डमा उसलाई गालीगलौज गर्नु हुँदैन र उसको समस्यालाई नजरअन्दाज गर्न हुँदैन ।’ नेपाल मेडिकल कलेजका मनोचिकित्सक तथा कन्सल्टेन्ट डा. गौतम भन्छन्, ‘बरु जतिसक्दो मनोचिकित्सकका ल्याएर उचित परामर्श गर्नुपर्छ ।’
यतिमात्रै गर्न सकेको खण्डमा पनि यस्ता समस्यालाई सजिलै रोकथाम गर्न सकिने डा. गौतमको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment