२३ जेठ, काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण बदली र वर्षा भैरहेको छ ।
उक्त वायुको प्रभावले आज देशभर बदली हुनाका साथै पूर्वी, मध्य र पश्चिम भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुवै वायुको सम्मिश्रणले पानी परेको र यो प्रणाली केही दिन जारी रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
अर्का मौसमविद् वरुण पौडेलले प्रि–मनसुनको पूर्वसन्ध्यामा मौसममा केही खराबी आएकाले मनसुन ढिलो हुने बताए। नेपालमा सामान्यतः जुन १० देखि मनसुन सुरु हुन्छ । यस पटक बङ्गालको खाडीमा न्यूनचापीय रेखा सक्रिय नभएकाले मनसुन केही ढिलो हुने मौसमविद् पौडेलले बताए ।
उनका अनुसार देशको पश्चिमी भेगमा पश्चिमी वायुको प्रभाव, मध्य भेगमा न्यूनचापीय रेखाको विकास र पूर्वी भेगमा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण मौसममा खराबी आएको र अहिले मध्य र पूर्वी भेगका केही स्थानमा वर्षात् भइरहेको छ ।
साँझपख काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा वर्षात् हुने बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा १९.० र सबैभन्दा कम पोखरामा १.० मिमी वर्षात् भएको छ । काठमाडौं उपत्यकामा बिहान हल्का वर्षात् भएको थियो । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९.५ र अधिकतम तापक्रम २८.८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया 4