Comments Add Comment

समकालीनका आँखामा अम्बर गुरुङ

Amber Gurung

नेपाली गीत-संगीतमा अतुलनीय योगदान दिएका मुर्धन्य संगीतकार अम्बर गुरुङको हामीबीच रहेनन् । उनको निधनबाट संगीत क्षेत्र मात्र होइन, सिंगो देश शोकाकुल बनेको छ । हामीले गुरुङका समकालिन केही दिग्गज व्यक्तित्वहरुसँग उनीसँगका केही अनुभुति सोधेका छौंः

मेरो तीन नाटकमा संगीत गर्नुभयो
सत्यमोहन जोशी, संस्कृतविद

अम्बर गुरुङ बिरामी भएको खबर सुरुमै पाएको थिएँ । तर, म अस्पताल जान सकिन । घरैमा बसेर सुस्वास्थ्यको कामना गरेँ ।

मैले उहाँसँग काम पनि गरेको छु । नेपाली संगीतमा नयाँ लहर ल्याउने काम उहाँले नै गर्नु भएको हो । उहाँलाई पुर्वीय र पाश्चात्य दुबै संगीतको ज्ञान थियो । समग्रमा भन्ने हो भने गीत-संगीत मार्फत राष्ट्रको गौरव गाथा बढाउनमा उहाँको ठूलो भुमिका छ ।

बिसं ०३३/३४ सालतिर मैले लेखेका तीनवटा नाटक फर्केर हेर्दा, जब घाम लाग्छ र सपना ब्युँझन्छमा उहाँले संगीत गर्नु भएको थियो । प्रत्येकमा चार चारवटा गीत थिए ।

उहाँको क्षमताको उपयोगै गर्न सकेनौं
तुलसी घिमिरे, निर्देशक

अम्बर गुरुङ अद्वितिय क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँको क्षमता हामीले लिनै सकेनौं । यदि साँच्चै उहाँको क्षमतालाई उपयोग गर्ने सोच राखेको भए हामीले क्लासिक फिल्म बनाउनु पथ्र्यो तर, सकेनौं ।

उहाँ एकसय केजी भार बहन क्षमताको हुनुहुन्थ्यो हामीले २० किलो पनि बोकाउन सकेनौं । मैले ‘भानुभक्त’ नाम गरेको डकुमेन्ट्रीमा उहाँलाई संगीत गराएँ । अर्को डकुमेन्ट्री ‘गौतम बुद्ध’ मा पनि उहाँलाई नै संगीत गराउने भनेर समय लिएको थिएँ । उहाँ अस्वस्थ हुनु भयो ।

सानो छँदा म उहाँको फ्यान थिए । ठूलो भएपछि उहाँसँग भेट भयो । रनजीत गजमेर दाजुको गुरु पनि हुनुहुन्थ्यो, त्यसकारण भेट बाक्लै हुन्थ्यो । उहाँको एउटा किताब पनि छ ‘कहाँ गए ती दिन’ । गफ गर्दा त्यसैगरि गर्नुहुन्थ्यो ।

संगीतको राजमार्ग
गणेश रसिक, साहित्यकार

अम्बर गुरुङले प्रवासमा बसेर पनि नेपाली संगीतकै लागि काम गरे । अम्बरको आगमन हुनुअघि नेपाली संगीतमा बाजा असाध्यै कमजोर थियो, उनले नै बाजा गतिलो चाहिन्छ भनेर सिकाए ।

बास्तवमै भन्ने हो भने अम्बर गुरुङ नेपाली संगीतको राजमार्ग हुन् । उनले पूर्वीय र पाश्चात्यको ज्ञानबाटै नेपाली संगीतलाई आधुनिक बनाउन विशेष भुमिका निर्वाह गरे ।

उनका धेरै गीत राम्रा छन् । तर, उनका कतिपय राम्रा गीत चर्चामा आउँदै आएनन् । उनको राम्रा गीत चर्चामा नआउनुमा मिडिया पनि दोषी छ । किनकी मिडियाले स्तरीयता भन्दा पनि बिक्रीयोग्य चिज मात्रै खोज्यो ।

उनी पहिला पनि बेला-बेलामा अस्वस्थ भइरहन्थे । एकेडमीमा हुँदा राम्रो गर्न खोजेका थिए तर, सकेनन् । त्यहाँ एक्लैैले केहि हुन्नथ्यो । उनले भनेजस्तो टिम पाएनन् पनि ।

हाम्रा अभिभावक हुनुहुन्थ्यो
सरुभक्त, कुलपति नेपाल संगीत तथा नाट्य प्रतिष्ठान

अम्बर गुरुङ नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको संस्थापक कुलपति हुनुहुन्थ्यो । उहाँ हाम्रा अभिभावक हुनुहुन्थ्यो ।

उहाँ केवल संगीतज्ञ मात्रै होइन अध्येता पनि हुनुहुन्थ्यो । नेपाली संगीतलाई आधुनिकता दिन उहाँको ठूलो भुमिका छ । उहाँले नै नेपालमा सिम्फोनी सुरु गर्नु भयो भने गीति नाटकहरुमा समेत स्वर-संगीत दिनु भयो ।

यी पनि पढ्नुस्

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन

अम्बर गुरुङलाई क्यान्सर लागेको खुलासा

अम्बर गुरुङको शव ११ वजेदेखि ३ बजेसम्म प्रज्ञा भवनमा राखिने

अम्बर गुरुङः कर्मले एक सच्चा नेपाली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment