Comments Add Comment

ग्रामीण विकासको सम्भावना

विकास भनेको रुपान्तरण हो । चाहे त्यो जुनसुकै क्षेत्रभित्र नै किन नहोस् । रुपान्तरण भन्नाले कुनै विषय वस्तुको रही आएको अवस्थाबाट सकारात्मक मार्गतर्फ परिवर्तन भएको अवस्था भन्ने बुझिन्छ । जहाँ जे कुराहरुको अभाव छ, ती प्राप्त हुनु नै विकासको पथमा लम्कनु हो भन्न सकिन्छ ।

abiral karki
लेखक

हरेक स-साना उपलब्धिको समष्टिगतरुप नै दीर्घकालमा पूर्ण विकासको अवस्था बन्न सक्दो रहेछ । मुस्ताङमा भोको पेटका लागि एक छाक खानाको सुनिश्चितता विकास हुन सक्छ भने तराईको प्रचण्ड गर्मीमा खाली खुट्टा धुलोमा आफ्ना भाइ बहिनीसँग खेल्दै गरेकी बालिकाका लागि एक जोडी चप्पल र खेल्नलाई व्यवस्थित स्थान, विकासको सूचक हुन सक्दछ ।

विकासको मूल प्रवाहमा रहेको  नेपालका लागि ग्रामीण विकास अति महत्वपूर्ण सवालका रुपमा रहेको छ । विकासका धेरै मोडहरु हुने गर्दछन् । तर, विकासलाई सार्थकता दिनका लागि एउटा राज्यले सम्पुर्ण ग्रामीण भेग विकास गर्न सकेको खण्डमा मात्र विकासको मोडलले सार्थकता पाउन सक्छ ।

देशको आर्थिक, सामाजिक र राजनितिक विकास गर्न सकेको खण्डमा विकासले परिवर्तनकारी भूमिका खेल्ने गर्दछ । आर्थिक विकास ग्रामिण विकासको प्रमुख पक्षका रुपमा रहेको छ । आर्थिक विकासका लागि प्रमुख कुरा भनेको देशका जनताको जीवन स्थरमा सुधार, रोजगारीको सृजना, उद्योग तथा कलकारखाना विकास, साधन र स्रोतको उपयोग तथा जिवन उपयोगी सिप, शिक्षाको विकासमा सक्षम रहनु भन्ने बुझिन्छ ।

ग्रामीण विकासका क्रममा निम्न चार प्रश्नहरुको उत्तर खोज्न जरुरी छ :

१.  विकासले ग्रामीण तथा शहरी क्षेत्रवीचको दूरीलाई कम गर्न सकेको छ कि छैन ?

२.  ग्रामीण क्षेत्रमा रोजगारीको अवसर बढेको छ कि छैन ?

३.  ग्रामीण क्षेत्रमा गरीबी घटेको छ कि छैन ?

४.  ग्रामीण क्षेत्रमा वातावारण सन्तुलनका लागि के-कस्ता प्रयास गरिएका छन् ?

हितकारी राज्य (पूर्वाधारमा राज्यको दायित्व)

उपयुक्त ग्रामीण विकासका लागि पूर्वाधार निर्माण सबैभन्दा महत्वपूर्ण हुन्छ । सडक, बिजुलीजस्ता आधारभूत पूर्वाधार बिना ग्रामीण विकास सम्भव छैन । सडकले मानिसको पहुँच विस्तारमा सहयोग गर्छ ।

ग्रामीणस्तरमा उत्पादित सामानलाई बजारसम्म पुर्‍याउन अर्थात् वस्तुको लेनदेनका लागि पनि सडक र अन्य पूर्वाधार आवश्यक छ । मुलुकमा पूर्वाधार निर्माण गर्ने दायित्व राज्यको हो । त्यसमा निजीक्षेत्रको पनि सहयोग लिन सकिन्छ ।

पूर्वाधार विकासमा यहाँका युवा परिचालन हुन सके वैदेशिक रोजगारीमा जाने सङ्ख्या पनि क्रमशः कम हुन थाल्छ । हिमाली क्षेत्रमा यातायात र सञ्चारको पहुँच नपुग्नु, त्यहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय भाषाको प्रयोग नहुनु तथा त्यहाँ स्थानीय स्रोत-साधन परिचालकको अभाव हुनुले समस्या पर्ने गर्दछ । त्यसका लागि सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, रहनसहन बुझेको परिचालकको आवश्यकता पर्दछ ।

त्यसैगरी पहाडी क्षेत्रमा भौगोलिक अवस्था, यातायात र सञ्चारको विस्तार भएपनि व्यवस्थित नहनुजस्ता समस्याहरु उत्पन्न भएका छन् । त्यसैगरी तराई क्षेत्रमा मातृभाषा र त्यहाँको रहनसहनमा घुलमिल भएका सहकर्मीको आवश्यकता पर्ने गर्दछ ।

सामाजिक विकासमा  जिम्मेवार नागरिक

सामाजिक विकासले ग्रामीण विकासमा ठूलो भूमिका निर्वाह गर्छ । त्यसमा पनि स्वास्थ्य र शिक्षाले सबैभन्दा ठूलो प्रभाव पार्छ । परम्परागत रूपमा चली आएको कामलाई शिक्षामार्फत परिवर्तन गर्न सकिन्छ । शिक्षाका सन्दर्भमा सैद्धान्तिक ज्ञानसँगै सीप विकासमा बढी जोड दिनुपर्ने हुन्छ । पढेको मान्छेको व्यवहार तथा कार्यशैलीमा केही न केही फरकपन ल्याउँछ।

उद्यमशीलताको उपाय ग्रामीणस्तरसम्म पुर्‍याउनुपर्ने आवश्यकता छ । शिक्षा, स्वास्थ्य, खानेपानी आदि जस्ता सामाजिक  पूर्वाधारको विकासमा जोड दिँदै  सामाजिक सुरक्षाका सवालका विषयहरुलाई प्राथमिकतापूर्वक सञ्चालन गर्नुपर्दछ जसमा विशेष प्राथमिकताको समूह भनेर युवालाई समावेश गर्नुपर्दछ ।

वातावरणमैत्री प्रविधि

नेपालको ग्रामीण विकासका लागि वातावरणमैत्री प्रविधि आवश्यक छ । यसको सबैभन्दा भरपर्दो माध्यम सौर्यशक्ति हुन सक्छ । पेट्रोलियम पदार्थको बढ्दो प्रयोगबाट शहरी तथा आसपासका क्षेत्र मात्र होइन, ग्रामीण भेगसमेत प्रभावित भइरहेको अवस्था छ ।

स्थानीयस्तरमा उत्पादित ऊर्जालाई सिँचाइ र घरायसी प्रयोगका साथै, पानी व्यवस्थापन, विद्युतीय यातायात (केबलकार, रोप–वे)लगायत काममा प्रयोग गर्न सकिन्छ । नयाँ प्रविधिले वातावरणमा भने कुनै पनि असर पार्नुहुँदैन । हामीलाई दिगो ग्रामीण विकास आवश्यक छ ।

औद्योगीकरणका लागि लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता हुनुपर्छ । लगानीको उचित वातावरण तयार गर्ने काममा सरकारले पनि आवश्यक सहयोग गर्नुपर्छ । बजार तयार गर्नेदेखि लगायतका काम गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सरकारले सहयोग गर्न सक्छ

कृषिको व्यवसायीकरण

नेपाल अझै पनि परम्परागत कृषि प्रणालीमा आधारित छ । यस प्रकारको प्रणालीले उत्पादन लागत बढ्न जाँदा कृषकले लाभ प्राप्त गर्न सकिरहेका छैनन् । परम्परागत रूपबाट उत्पादित सामानको बजार व्यवस्थापनका लागिसमेत महँगो पर्छ । बजारमा विषादियुक्त खाद्यपदार्थको बिगबिगी छ ।

माटो संरक्षणमा ध्यान नदिई तत्काल नाफाका लागि गरिएको कृषि प्रणालीले दीर्घकालमा ग्रामीण विकासमा असर पुग्छ । नेपालले तत्काल नाफामूलकभन्दा दीर्घकालीन विकासमा जोड दिनुपर्छ । उत्पादन वृद्धिका लागि विषादि र रासायनिक मलको साटो उन्नत बीउ र अत्याधुनिक प्रविधिको प्रयोगमा जोड दिनु आवश्यक छ ।

स्थानीय लगानीमा  जोड

ग्रामीण विकास कसैको एक्लो प्रयासमा सम्भव छैन । राज्यको प्रयासले पनि सफलता नपाइरहेको अवस्थामा ग्रामीणस्तरमा स्थानीय लगानीमा जोड दिनु आवश्यक छ । महँगो मूल्य पर्ने प्रविधि पनि सामूहिक प्रयासमा सजिलै भित्र्याउन सकिन्छ । आजको शिक्षाले कृषक बन्न सिकाएको छैन । सामूहिक रूपमा ग्रामीणस्तरमा शीपमूलक शिक्षा प्रदान गर्ने शिक्षालय स्थापनामा पनि जोड दिनुपर्छ । बजार विस्तार, कृषिको उत्पादकत्व वृद्धि तथा मललगायतमा राज्यले अनुदानको व्यवस्था गर्न सक्छ ।

युवा परिचालन

युवा देशका महान् हस्ती हुन्, परिर्वतनका संवाहक हुन्, मानव अधिकार, बालअधिकार तथा सम्पूर्ण क्षेत्रमा सुरक्षित गर्न खोजेएको अधिकार, विकासका मूलनायक हुन् र वातावरण संरक्षणकर्ता हुन् । नेपालको कुल क्षेत्रफलको ८२.९३ प्रतिशत भू-भाग ग्रामीण क्षेत्रमा रहेको छ । नेपालका ८० प्रतिशत मानिस कृषि क्षेत्रमा आश्रित रहेका छन् । नेपालको कुल जनसंख्याको ४०.३४ प्रतिशत युवाहरुको संख्या हो । नेपालका कुल युवा संख्यामा ५४ प्रतिशत युवाहरु बेरोजगार रहेका छन् ।

आज रोजगारीको सिलसिलामा विदेशिने युवाको सङ्ख्या ठूलो छ। उनीहरूसँग एक त पूँजीको अभाव छ भने अर्कोतर्फ उचित शीप र ज्ञानसमेत प्रदान गर्न सकिएको छैन । ग्रामीण विकासमार्फत मुलुकको विकास गर्ने हो भने युवा परिचालनलाई प्राथमिकतामा राख्नुपर्छ । युवालाई नेपालको प्राथमिकता प्राप्त क्षेत्रमा उचित प्रकारबाट परिचालन गर्न सकेको अवस्थामा गरिबी निवारण गर्न सकिन्छ । युवा लक्षित कार्यक्रमको लाभ लक्षित वर्गले नै प्राप्त गर्नुपर्छ ।

कृषिको व्यवसायीकरण तथा पशुपालन, जडिबुटी, फलफूल खेती र बजार विस्तारमा युवा सहभागिता बढाउन राज्यले सहुलियतमा ऋण तथा आर्थिक अनुदानलगायत व्यवस्था गर्न सक्छ ।

उद्यमशीलता र समाज

नेपालको श्रम सर्वेक्षण अनुसार ४ लाख युवाहरु प्रत्येक वर्ष श्रम बजारमा आउँछन् । करिब ३० लाख नेपाली युवाहरु खाडी मूलुक; जस्तै मलेसिया, साउदिअरब, कतार, दुबाई, वहराइन, कुवेत आदि जस्ता मूलुकमा आफनो श्रम बेच्न हिडिरहेको अवस्था रहेको देखिन्छ । सोही संख्याको हाराहारीमा अभिलेखीकरण नभएका समेत यी मूलुकमा कार्यरत रहेका छन् । युवाहरुमा चेतनाको स्तर वृद्धि गर्न नसकिरहेको अवस्था छ । देशमा अन्योलको वातावरण सृजना भइरहेको अवस्थाले गर्दा पनि यसको असर युवाहरुमा पर्दै गइरहेको स्थिति छ ।

यो समस्य चिरी उद्यमशीलता समाज सिर्जना गर्न कृषिमा आधारित औद्योगीकरणलाई प्रोत्साहित गर्न सकिन्छ। अहिले वैदेशिक रोजगारीमा गएका र स्वदेशमा वर्षेनी उत्पादन हुने नयाँ श्रम शक्तिलाई रोजगारी दिन सक्ने गरी कृषिको औद्योगीकरण गर्नु पर्दछ।

नयाँ प्रविधिहरूको विकास र समुदायमा हस्तान्तरण गर्ने विषय यसमा पनि महत्वपूर्ण छ । औद्योगीकरणका लागि लगानीको सुरक्षा र प्रतिफलको सुनिश्चितता हुनुपर्छ । लगानीको उचित वातावरण तयार गर्ने काममा सरकारले पनि आवश्यक सहयोग गर्नुपर्छ । बजार तयार गर्नेदेखि लगायतका काम गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सरकारले सहयोग गर्न सक्छ । राज्यले कृषि वस्तुको अन्तर्राष्ट्रिय व्यापारमा भइरहेको भन्सार र गैर भन्सारको अवरोधहरूलाई हटाउन पनि केही कदम चाल्नुपर्ने आवश्यकता छ ।

यसरी युवाहरुलाई प्राथमिकताका साथ काममा लगाई विकासको अग्रगमन गतिमा समावेश गर्न सकेको खण्डमा देशको विकास सँग-सँगै युवाहरुको क्षमताको विकास र रोजगारीको विकास हुने गर्दछ । जसको माध्यमबाट ग्रामीण विकास द्रुत गतिमा अगाडि बढने छ ।

(कार्की विवेकशील नेपाली दलका केन्द्रीय कार्यपालिका सदस्य एवं ग्रामीण विकासका विद्यार्थी हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment