Comments Add Comment

भैरहवा र पोखरा विमानस्थल : काठमाडौंको आर्थिक गतिविधि खुम्चाउँछ

BhairwaAirport (4)
निर्माणाधिन भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ।

२६ जेठ, काठमाडौं । आगामी दुई वर्षभित्र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको छ ।

पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको छ । आगामी चार वर्षभित्र यो विमानस्थल पनि सञ्चालनमा आउने बताइएको छ । त्यस्तै, निजगढमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको छ ।

तोकिएको समयमा काम सम्पन्न भए सन् २०२० सम्ममा नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । आगामी दुई वर्षभित्र काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

मुलुकभित्र तीनवटा ठूला विमानस्थल सञ्चालनमा आएपछि आर्थिक कृयाकलाप कसरी बढ्छन् ? यसले हवाई सेवासँग जोडिएको राजधानी केन्दि्रत आर्थिक गतिविधिमा कस्तो डाइभर्सिफिकेसन ल्याउँछ ? विज्ञहरु भन्छन- बाहिर सञ्चालन हुने अन्तर्राष्ट्रिय विमानस्थलले राजधानीको आर्थिक गतिविधिहरु खुम्चाउँछ ।

अहिले विदेश यात्राका लागि काठमाडौं धाउनैपर्छ । रोजगारी तथा उच्च शिक्षाा लागि विदेश जाने नेपालीहरु, पर्यटक लगायतले त्रिभुवन विमानस्थल प्रयोग गर्नुपर्छ । त्रिभुवन विमानस्थलले काठमाडौंमा आर्थिक गतिविधि बढाउन ठूलो मद्दत गरेको छ ।

नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौं हो । बाँकी पर्यटकीय गन्तव्यहरु काठमाडौं उपत्यका बाहिर पर्छन् । अहिले दोस्रो पर्यटकीय गन्तव्य पोखरा, विश्वकै प्रख्यात अन्नपूर्ण ट्रेकिङ, तेस्रो पर्यटकीय गन्तव्य लुम्बिनी भ्रमणमा आउने पर्यटक काठमाडौं हुँदै आउनुपर्छ ।

भोली पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने वित्तिकै पर्यटक सिधै त्यस क्षेत्रमा पुग्न सक्छन् । यसले काठमाडौंमा हुने पर्यटकीय गतिविधि घटाउने निश्चित देखिन्छ । अन्नपूर्ण सर्किट विश्वकै उत्कृष्ट पदयात्रामा गनिन्छ । नेपालमा टे्रकिङ गर्न आउने पर्यटकमध्ये करिव ६० प्रतिशत अन्नपूर्ण जान्छन् । पोखरा विमानस्थल बनेपछि ती पर्यटक सोझै पोखरा अवतरण गरी अन्नपूर्णतिर लाग्नेछन् ।

यसै पनि पोखरा पर्यटकीय नगरी हो । चिनियाँ पर्यटकका लागि पोखरा पहिलो आकर्षक गन्तव्य हो । पोखरा विमानस्थल बनेपछि चीनका विभिन्न शहरबाट सोझो उडान हुने हुँदा चिनियाँ पर्यटक काठमाडौं नआई सिधै पोखरा जानेछन् । अहिले नेपालमा भारतपछि सबैभन्दा बढी पर्यटक आउने चीनबाट हो । भारतका विभिन्न ठाउँबाट पोखरामा सिधा उडान हुने हुँदा भारतीय पनि सिधै पोखरा आउन सक्छन् ।

लुम्बिनी भोलिका दिनमा नेपालको पहिलो पर्यटकीय गन्तव्य हुँदैछ । भैरहवामा बन्दै गरेको विमानस्थलले लुम्बिनीको आकर्षण थप बढाउने छ । अहिले विश्वभर २ अर्ब बुद्धधर्मालम्बी रहेको अनुमान छ । यी सबै बुद्धिष्टहरु एका पटक लुम्बिनी आउन चाहान्छन् । अहिले लुम्बिनीमा बुद्धिष्ट पर्यटक काठमाडौं हुँदै जानुपर्ने बाध्यता छ । भोली भैरहवामा विमानस्थल बनेपछि बुद्धिष्ट पर्यटक सिधै लुम्बिनी पुग्नेछन् । त्यसमाथि सिधा उडान भएपछि बुद्धिष्ट पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

Pokhara Airport
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ।

पोखरामा चीन र भारतका विभिन्न शहर र खाडी मुलुकबाट उडान हुनेछ । भैरहवा विमानस्थलमा वाइडबडी जहाजसमेत उडान अवतरण गर्न सक्ने हुँदा युरोपेली मुलुकसहित जापान, कोरिया, अष्ट्रेलियाजस्ता देशमा लामो दुरीको उडान हुनेछ ।

‘बाहिर दुईवटा विमानस्थल सञ्चालन भएपछि सबैभन्दा बढी गुमाउने काठमाडौं हुनेछ’ केही समयअघि अनलाइनखबरसँग कुराकानी गर्दै पूर्वअर्थसचिव रामेश्वर खनालले भनेका थिए- ‘अब ४/५ घण्टाका उडानहरु बाहिरबाटै हुन्छन् ।’

अहिले अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीका यात्रुहरु भनेको विदेशमा काम गर्न जाने नेपालीहरु हुन् । धेरै विदेशी विमान कम्पनीले नेपाली कामदार बोक्नका लागि उडान थपिरहेका छन् । ती सबै कामदारहरु अहिले काठमाडौं हुँदै विदेश जाने गर्छन् ।

नेपालबाट धेरै वैदेशिक रोजगारीमा जाने पश्चिम क्षेत्रबाट हो । खासगरी नेपालीहरु मलेसिया, दुबई, दोहा, ओमान, रियाद, दिल्ली लगायतका देशमा काम गर्न पुग्छन् । पोखरा र भैरहवामा विमानस्थल बनेपछि त्यस क्षेत्रका मानिसहरु त्यहीँबाट विदेश लाग्छन् । अहिले काठमाडौं नआई सुखै छैन् ।

अहिले विदेश जाने कामदारले वैदेशिक रोजगार विभाग, म्यानपावर कम्पनीमा लाइन लागेर धेरै समय विताउँछन् । उनीहरु गोंगबु बसपार्क, सुन्धारा लगायतका होटलमा बस्छन् । गोंगबु र सुन्धरामा होटल चलेको यही वैदेशिक रोजगारीकै कारण भएको पूर्वसचिव खनाल बताउँछन् ।

दैनिक १५ सयको हाराहारीमा नेपाली कामदार विदेश जाने गरेको तथ्यांक छ । त्यत्तिकै संख्यामा विदेशबाट कामदार स्वदेश फर्किन्छन् । एकजना कामदारलाई उडाउन र ल्याउन उसको परिवारबाट १/२ जना आउने गरेका छन् । उनीहरुले केही समय काठमाडौंमा विताउँछन् । यसरी दैनिक काठमाडौंमा ५/६ हजार अस्थाई बासिन्दा थपिन्छन् ।

पोखरा र भैरहवामा विमानस्थल बन्ने वित्तिकै काठमाडौंका म्यानपावर व्यवसायी त्यसतर्फ लाग्नेछन् । वैदेशिक रोजगार विभागको कार्यालय पनि त्यहीँ खुल्नेछ । यसले दैनिक काठमाडौंमा थपिने ५/६ हजार अस्थाई बासिन्दा घटाउने छ ।

विदेश जाने कामदार मात्र होइन, उच्च शिक्षाका लागि विदेश जानेहरु पनि घट्ने निश्चित छ । यसले काठमाडौंको आर्थिक गतिविधि घटाउँछ ।

‘पश्चिम क्षेत्रका लागि मात्र होइन, पूर्वी नेपाल सिराहा सप्तरीबाट बाहिर जानेलाई पनि काठमाडौं आउन भन्दा भैरहवा जान नजिक पर्छ’ पूर्वसचिव खनालले भने- ‘कामदार ओसार्ने विमान कम्पनीलाई पनि काठमाडौं आउन भन्दा भैरहवा उडान गर्न धेरै सहज हुन्छ ।’

काठमाडौं अग्लो ठाउँमा भएको हुँदा विमानको लोड पेनाल्टी बढि हुन्छ । भैरहवा होँचो ठाउँमा रहेको हुँदा उडान खर्च केही कम पर्न जान्छ । त्यसमाथि काठमाडौंमा उडान अवतरण गर्न नसक्ने विमानहरु भैरहवामा अवतरण गर्न सक्ने भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजना प्रमुख ओम शर्मा बताउँछन् ।

भैरहवा उडान भर्दा विमानले फुल फ्लेजमा लोड बोक्न सक्ने शर्माले बताए । भैरहवा उडान काठमाडौं उडानभन्दा धेरै सुरक्षित पनि हुने उनको भनाई छ । यसले विमान कम्पनीलाई भैरहवामा आकषिर्त गर्ने निश्चित छ । जसले काठमाडौंमा हुने आर्थिक गतिविधीमा असर पार्ने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment