३१ जेठ, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरहरुमा आक्रमण गरेको भन्दै प्रहरीले विप्लव माओवादीका पाँच कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । दाङबाट तीन र म्याग्दीबाट दुई जना जिल्लास्तरीय कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले एनसेलका टावरहरुमा आक्रमण गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।
दाङ जिल्ला सेक्रेटरी शितलका अनुसार प्रहरीले यमलाल पूँजाली, पूर्ण खनाल र ज्वाला खतिवडालाई पक्राउ गरेको छ । सोमबार खतिवडालाई तथा आइतबार बेलुकी खनाल र पूँजालीलाई प्रहरीले पक्राउ गरेको हो । एनसेलको टावरमा आगजनी गरिएको आरोपमा आफ्ना कार्यकर्ताहरुलाई अन्धाधुन्द पक्राउ गरिएको भन्दै शितलले विनासर्त रिहाइको माग गरे ।
‘एनसेलको टावरमा आगजनी गरिएको आरोप लगाएर अन्धाधुन्द पक्राउ गरिएको छ,’ दाङ जिल्ला सेक्रेटरी शितलले भने, ‘निर्दोष व्यक्तिहरुलाई अन्यायपूर्वक फसाउने काम भइरहेको छ । यसलाई हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ र उनीहरुलाई तत्काल बिनाशर्त रिहाइको माग गर्दछ ।’
म्याग्दीबाट २ पक्राउ
यसैगरी म्याग्दी सदरमुकाम बेनीको जिल्ला प्रशासन कार्यालय अगाडि व्यापार गर्दै आएका जिल्लास्तरीय माओवादी नेता लालु किसान (आकाश) र पदम पुन (फिल्टर)लाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।
एनसेलको टावरमा आगजनी भएको घटना छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुङले जानकारी दिए ।
विप्लव माओवादीका म्याग्दीका अर्का नेता गोपाल शर्मालाई पनि प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको थियो ।
सरकारलाई कर नबुझाएको आरोपमा विप्लव माओवादीले देशभरका एनसेल टावरमा क्षति पुर्याउँदै आएको छ । आइतबार राति काठमाडौंको बौद्ध र जरसिंहपौवामा पनि आगजनी गरी क्षति पुर्याइएको छ ।
प्रतिक्रिया 4