Comments Add Comment

किर्ते गरी नक्सा पास गर्ने दुई कर्मचारी बर्खास्त

३२ जेठ, मोरङ। विराटनगर उपमहानगरपालिका–२ का टीका उप्रेतीको घरको किर्ते फाइल खडा गरेर नक्सा पास गराउने विराटनगर उपमहानगरपालिकाका दुई कर्मचारीको नोकरी गएको छ । त्यसैगरी दुई जना निलम्बनमा परेका छन् ।

Biratnagar-Sub-Metropoliton-Officeविराटनगर उपमहानगरपालिका, प्रशासन शाखा प्रमुख नन्दीकेशर भण्डारीका अनुसार इन्जिनियर रेवन्त भण्डारी र २०६३ सालमा नियुक्ति भएका विनोदप्रकाश गौतमको करार भङ्ग गर्दै उपमहानगरपालिकाले बर्खास्त गरेको हो । उनीहरुसँगै खरिदार निरञ्जन भनिने निराला प्रसाईं र नासु सुनिलवीर पाण्डेलाई पनि निलम्बन गरिएको भण्डारीले जानकारी दिए।

प्रसार्इं र पाण्डे स्थायी कर्मचारी भएकाले हाललाई निलम्बन गरिएको हो । देवकोटा बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका उप्रेती घर जग्गाको राजस्व नतिर्नेमध्येका कालो सूचीमा परेका व्यक्ति हुन् । उप्रेतीलाई दसौँ वर्षदेखिको घरजग्गा तिर्न नगरपालिकाले पत्राचार गरे पनि उनले अटेर गर्दै आएका थिए ।

प्रशासन शाखा प्रमुख भण्डारीका अनुसार जेठ ३१ गते बेलुकाको निर्णय अनुसार उनीहरुलाई कारबाही गरिएको छ । निलम्बित प्रसार्इं मुखियाबाट नगरपालिकाको कर्मचारीका रुपमा तथा पाण्डे २०५७ सालमा गाउँ नगर साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकामा प्रवेश गरेका हुन् । बर्खास्तमा परेका गौतम भने विभिन्न क्षेत्रमा काम गर्दै उपमहानगरपालिकामा करारमा थिए ।

उपमहानगरपालिकाका अनुसार लामो समयदेखि देवकोटा बोर्डिङ सञ्चालन गर्दै आएका उप्रेतीको बोर्डिङ स्कुल रहेको घरको नक्सा पास नभएको र उपमहानगरपालिकासँग मुद्दा लड्दै उनले घरलाई जोगाइराखेका थिए । चार कट्ठा १६ धुर र चार कट्ठा १३ धुरका भिन्दाभिन्दै प्लटमा उनका स्कुल चलेका घर थिए ।

उनी केही समय अमेरिका र केही समय नेपाल बस्दै आएका छन् । उनलार्ई सो घर जग्गा बेच्न अनिवार्य नक्सा पास चाहिएको थियो तर नगरपालिकासँग मुद्दा लड्दै आएकाले नक्सा पास नहुने देखिएपछि नक्कली फाइल खडा गरी नक्सा पास गरेपछि कर्मचारी फन्दामा परेका हुन् । कर्मचारीले मुद्दाको पुरानो फाइल लुकाएर अमेरिकामा रहेका उप्रेतीको नामको निवेदन पुनः पारेर नयाँ फाइल खडा गरी घर नक्सा पास गरेपछि कर्मचारीको किर्ते काम त्यहीँबाट सार्वजनिक भएको थियो ।

जेठ ४ गते फाँटका कर्मचारीले नक्सा पासको रिपोर्ट बनाए पनि प्रमुख इन्जिनियरले जेठ ११ गते हस्ताक्षर गरेका थिए । यही कुरालाई आधार मानेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले जेठ १७ गते १५ दिनभित्र उप्रेतीसम्बन्धी सम्पूर्ण फाइल र किर्ते कामका विषयमा विवरण दिन उपमहानगरपालिकालाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment