Comments Add Comment

प्रतिक्षाको घडी सकियो-वेल्स वा इंग्ल्याण्ड कसले बाजी मार्ला ?

england-v-wales

लामो प्रतीक्षाको घडि समाप्त भएको छ । गत डिसेम्बरमा घोषणा भएको युरो २०१६ को फाइनल ड्र पछि सुरु भएको यो प्रतीक्षाको इंग्ल्याण्ड र वेल्सले बिहीबार लेन्समा हुने खेलसँगै अन्त्य हुनेछ ।

यो दिनका लागि समर्थकले क्यालेण्डरमा रातो मसीले घेरा लगाएर राखेका थिए । अव यसबारे बहस सकिएको छ । बाँकी छ त ‘एक्सन’, जुन स्टेड बोलर्टमा आज साँझ पौने सात बजेदेखि सुरु हुनेछ ।

समूहको पहिलो चरणको खेलमा स्लोभाकियाबिरुद्ध २-१ को जीत निकालेको वेल्स आजको खेलमा आत्मबिश्वासी देखिन्छ । यता रसियासँग अन्तिम मिनेटमा गोल खाएपछि अंक बाँडेको इंग्ल्याण्ड भने दोस्रो चरण प्रवेश सहज बनाउन आजको खेल जित्नैपर्ने हुन्छ ।

यस खेलका लागि वेल्सले इंग्ल्याण्डमाथि मनोवैज्ञानिक युद्ध छेडेको छ । र यदि उसले खेल सुरु हुनु केहि समयअघि मात्रै रणनीति तय गर्छ भने धेरै हदसम्म उ सफल हुनेछ ।

ग्यारेथ बेलको नामले मात्र पनि विपक्षी टोलीमाथि प्रभूत्व कायम गर्न सक्छ । उनी युरोपेली च्याम्पियन रियल मडि्रडका स्ट्राइकर मात्र होइनन्, साच्चै एक उत्कृष्ट स्ट्राइकर हुन् । र उनी राष्ट्रिय टोलीबाट इंग्ल्याण्डलाई टार्गेट गरिरहेका छन् ।

वेल्सबिरुद्धको खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा इंग्लिस प्रशिक्षक रोय हट्सन प्रस्तुत हुँदा उनको अनुहार र घाँटीमा चिट चिट पसिना देखिन्थ्यो । पत्रकार सम्मेलनमा उनी बसिरहँदा पनि उनको अनुहारमा तनाव प्रष्ट झल्कन्थ्यो र ग्यारेथ बेल लाई कसरी रोक्ने भन्नेबारे सोचिरहेको जस्तो देखिन्थ्यो ।

पत्रकार सम्मेलनमा हट्सनले बारम्बार भनिरहेका थिए कि ‘टिप्पणी गर्न लायक केहि छैन ।’ तर पनि उनले केहि टिप्पणी गरे, ‘यसलाई गम्भीर रुपमा लिइएको छ कि मानिसहरु कथित रुपमा के कुरा गरिरहेका छन् वा के भनिरहेका छन् ।’

६८ बर्षीय प्रशिक्षक रोयले भनेका छन् कि आपसी बहस एक ठाउँमा छ, मुख्य कुरा भनेको मैदानमा हुने ‘एक्सन’ नै हो ।

यता वेल्स प्रशिक्षक क्रिस कोलेम्यान भने निक्कै आत्मविश्वासी रुपमा पत्रकार सम्मेलनमा प्रस्तुत भए । नहुन् पनि किन उनको टोलीले उत्कृष्ट नतिजा पहिलो खेलमा दिइसकेको थियो ।

उनले वेल्स टोलीलाई चेतावनी दिइसकेका छन् की लेन्समा हुने इंग्ल्याण्डबिरुद्धको खेलमा भावनात्मक खेलले केहि हुनेवाला छैन । उनले अगाडि थपे, ‘हामीले अहिलेसम्म अन्तरांष्ट्रिय प्रतियोगितामा इंग्ल्याण्डको खेल हेरेका छौं, अव खेल देखाउने पालो हाम्रो हो ।’

‘हामीलाई केहि उत्कृष्ट देखाउने मौका मिलेको छ’ ४६ बर्षीय प्रशिक्षकले, भने ‘इंग्ल्याण्ड हाम्रो बाटोमा छ र हामी हाम्रो कामबारे जानकार छौं । मैले कुनै माइन्ड गेम खेलिरहेको छैन । आफ्नो लक्ष्यमा हामी अडिग छौं ।’

इंग्ल्याण्ड र वेल्सका समर्थकहरु लेन्स पुग्ने क्रम जारी छ । अधिकांश समर्थकहरु लिली शहरबाट २४ माइल यात्रा गर्दै लेन्स पुग्ने क्रममा छन् ।

युरो २०१६ को पूर्वसन्ध्यामा भएका हिंसात्मक झडपका कारण बहुप्रतीक्षित खेलहरुमा पनि समर्थकको सङ्ख्या उल्लेख्य देखिएको छैन । समूहको पहिलो खेलमा इंग्ल्याण्ड र रुसबीचको खेलपछि समर्थकहरुले हिंसात्मक झडप गरेका थिए ।

इंग्ल्याण्ड र वेल्स चीर प्रतिद्धन्दी हुन् । उनीहरु सबै प्रतियोगितामा गरेर अहिलेसम्म १०३ पटक आमने सामने भइसकेका छन् । जसमा इंग्ल्याण्डकै पल्ला भारी छ ।

इंग्ल्याण्डले ६८ पटक बाजी मारेको छ भने वेल्स १४ पटक बिजयी भएको छ । बाँकी खेलमा स्पष्ट नतिजा निस्किएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment