Comments Add Comment

एसएलसी ‘आइरन गेट’ रहेन, रिजल्ट बुझ्नै कष्ट

SLC-Result

२ असार काठमाडौं । यस वर्षको एसएलसी रिजल्टले धेरैलाई रणभुल्लमा पारेको छ । पहिलोपटक लागू गरिएको ग्रेडिङ प्रणाली सहजै बुझ्न सकिने खालको छैन ।

विगतको एसएलसी रिजल्टमा पास फेल र डिभिजन हेरिन्थ्यो । मार्कसिटमा हरेक विषयको प्राप्तांक हेर्न पाइन्थ्यो । यसपाली परिक्षा नियन्त्रण कार्यालयले नयाँ प्रयोग गर्दै प्रत्येक विषयलाई नौ तहमा वर्गिकरण गरेर रिजल्ट निकाल्यो । यसमा परिक्षार्थीले आफ्नो प्राप्ताङ्क भेट्दैनन् ।

रिजल्टमा परिक्षार्थीको प्रत्येक विषयको अंकको साटो ग्रेड दिइएको छ भने समग्र ग्रेड प्वाइन्ट एभरेज (जीपीए) उल्लेख गरिएको छ । जीपीए भनेको सबै विषयमा आएको ग्रेडका आधारमा दिइएको औसत अंक हो । ग्रेड प्वाइन्ट शून्यदेखि चारसम्म हुन्छ । जीपीएका आधारमा परिक्षार्थीले आफ्नो समग्र ग्रेड अनुमान गर्न त सक्छन् तर, त्यसको खासै अर्थ हुँदैन । किनकी ११ कक्षा पढ्नलाई समग्र होइन कि विषयगत ग्रेडले अर्थ राख्छ ।

उदाहरणका लागि मानौं कसैको रिजल्टमा ग्रेड प्वाइन्ट ३.४ छ । सोझो हिसाबमा यो भनेको ए ग्रेड हो । अर्थात ८० देखि ९० प्रतिशतसम्मको अंक हो । तर, उक्त परिक्षार्थीले यदि साइन्स र गणितमा सि प्लस भन्दा तल वा अंग्रेजीमा सि भन्दा तल वा नेपाली र सामाजिकमा डि प्लसभन्दा तल ग्रेड ल्याएको छ भने उसले साइन्स पढ्न पाउँदैन ।

परिक्षा नियन्त्रण कार्यालय उपलब्ध गराएको सूचिमा कति बिद्यार्थीले कुन ग्रेड पाए भए भनेर छुट्याइएको छैन । जीपीएका आधारमा उसले परिक्षार्थीहरुलाई वर्गिकरण गरेको छ ।

यस आधारमा सबैभन्दा बढी विद्यार्थीले १.६ देखि २ सम्म जीपीपए पाएका छन् । यो भनेको ४० देखि ५० प्रतिशत बीचको अंक हो । यति जीपीए हासिल गर्ने विद्यार्थीको संख्या १ लाख चार हजार २ सय ७८ छ जुन कुल परिक्षार्थीको -४ लाख ३७ हजार ३ सय २६) को लगभग २४ प्रतिशत हुन आउँछ ।

सबैभन्दा उच्च श्रेणी अर्थात ३.६ देखि ४ को बीचमा अंक ल्याउने विद्यार्थीको संख्या १६ हजार ४ सय ५४ छ । यो भनेको ९० प्रतिशतभन्दा माथिको अंक हो । यसलाई ए प्लस नतिजा मान्न सकिन्छ ।

पनिकाले गरेको नयाँ अभ्यास विशेषगरी कमजोर विद्यार्थीहरुका लागि अनुकुल छ, किनले यसले कसैलाई पनि ‘फेल’ करार दिँदैन । तर, व्यवहारीक रुपमा भने १.६ भन्दा कम जीपीए भएका विद्यार्थी फेल बराबर मानिन्छन् । यस्ता विद्यार्थीको संख्या ८ हजार ११ मात्रै छ । उनीहरुले ११ कक्षामा भर्ना हुन पाउँदैनन्, बरु दुई विषयमा मौका परिक्षा दिएर आफ्नो जीपीए सुधार्न सक्छन् ।

यो नतिजा अब्बल विद्यार्थीको हौसला बढाउने खालको भने छैन । मार्कसिटमा आफ्नो प्राप्तांक नभेट्नु र समग्र ग्रेड पनि उल्लेख नहुनुले अब्बल विद्यार्थीलाई निरुत्साहित बनाउँछ । उदाहरणका लागि गणितमा ९१ अंक ल्याउने र ९९ अंक ल्याउने दुई विद्यार्थीलाई यसले एउटै ग्रेड दिन्छ ।

नयाँ गरिएको प्रयोग कति सफल र प्रभावकारी हुन्छ भनेर आंकलन तत्कालै गर्न सकिँदैन, तर यति भन्न सकिन्छ यो प्रणालीले एसएलसी अब पहिलेजस्तो ‘आइरन गेट’ रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment