Comments Add Comment

छोराले एसएलसीमा ९० प्रतिशत ल्याएपछि रवीन्द्रलाई बधाइको ओइरो

फेसबुकमा कमेन्टः छात्रवृत्तिका लागि भारतीय दूतावास नधाउनू

Rabindra-Adhakari-with-son

३ असार, काठमाडौं । एमाले सांसद रवीन्द्र अधिकारी हिजोदेखि बधाइ खाएको खाएकै छन् । छोरो एसएलसीमा उच्च नतिजाका साथ पास भएकोमा उनलाई बधाइ ओइरिएको हो ।

अधिकारीका अनुसार उनका छोरा बिराजले एसएलसीमा करिब ९० प्रतिशत अंक (३.६ जीआरपी) पाए । उनले मध्यवानेश्वरस्थित भ्याली भ्यु स्कुलबाट एसएलसी दिएका थिए । छोराको नतिजामा आफू सन्तुष्ट रहेको अधिकारीले अनलाइनखबरलाई बताए ।

‘मैले छोराको पढाइमा समय दिन सकेको थिइनँ, मध्यमखालको निजी स्कुलमा पढाएको थिएँ । त्यसमाथि, राजनीतिक व्यक्तिको परिवारमा पढाइको वातावरण कमजोर हुन्छ । भेटघाट गर्न मान्छेहरु आइरहने भएकाले पढाइ डिस्टर्व हुन्छ । मेरो छोराको पढाइ स्कुलकै शिक्षक-शिक्षिकाको जिम्मामा थियो,’ उनले भने ।

उतिबेलाको एसएलसी

अधिकारीले आफ्नो पालाको एसएलसी सम्झे । उनले पोखराको शान्ति उदय स्कुलबाट ०४० सालमा एसएलसी दिएका रहेछन् । ‘हाम्रो पालाको र अहिलेको एसएलसीमा आकाश-जमीनको फरक छ,’ अधिकारी भन्छन्, ‘त्यतिबेला पास हुनु नै ठूलो कुरा थियो, आजकाल ८०-९० प्रतिशत पनि सामान्य मानिन्छ ।’

आफ्नो एसएलसी रिजल्टका बेला ४-५ दिन अगाडिदेखि नै खान रुच्न छाडेको उनी सम्झन्छन् । त्यतिबेला रिजल्ट गोरखापत्रमा मात्रै आउँथ्यो । पोखरा एयरपोर्टमा जहाजबाट एउटा गोरखापत्र आउँथ्यो । रिजल्ट हुनासाथ एयरपोर्टमा भीड लागिसक्थ्यो । उनी पनि रिजल्ट आएको थाहा पाएपछि घरबाट दुई घण्टा पैदल हिँडेर एयरपोर्टमा पुगेका थिए ।

‘गोरखापत्र आएपछि सबैले आ-आफ्नो सिम्बोल नम्बर टिपाउनुपथ्र्यो र टावरबाटै पास-फेल तथा डिभिजनको घोषणा हुन्थ्यो,’ अधिकारी सम्झन्छन् ।

फर्स्ट डिभिजनको आशा राखेका अधिकारीले त्यसबेला सेकेन्ड डिभिजन ल्याए । तैपनि खुशी भए । उनी पढ्ने विद्यालयबाट एकजनाले फस्र्ट डिभिजन ल्याए भने ६ जना पास भए । मार्कसीट हेर्दा ३ नम्बरले फस्र्ट डिभिजनबाट वञ्चित भएको थाहा पाएपछि उनी खिसि्रक्क परेका थिए ।

एसएलसीमा बाबुको भन्दा छोराले ३० प्रतिशत बढी ल्याएका छन् । अधिकारी भन्छन्, ‘तर, छोराको नतिजामा म जति खुशी छु, मेरो नतिजामा मेरो बुबाआमा त्यत्तिकै खुशी हुनुहुन्थ्यो । उहाँहरु छोराको रिजल्टमा जति खुशी हुनुहुन्थ्यो, नातिकोमा पनि त्यत्ति नै खुशी हुनुहुन्छ ।’

यद्यपि, छोराको रिजल्ट भएपछि आमालाई कुरो बुझाउन अधिकारीलाई समस्या पर्‍यो । ‘सुरुमा त आफैं अलिकति कन्फ्युजनमा परियो । आफू क्लियर भएपछि आमालाई छोरो सबैभन्दा राम्रो श्रेणीमा पास भयो भनेर बुझाएँ,’ उनले भने ।

भर्ना गर्न भनसुन गर्दिँन

छोरालाई कुन विषय पढाउने त अब भन्ने प्रश्नमा उनले भने, ‘यो आधारभूत रुपमा छोराले नै निर्णय लिने कुरा हो । मैलेचाहिँ पहिलेदेखि नै मेडिकल साइन्सको पछि नदौडिन सल्लाह दिँदै आएको छु । उसको रुची इन्जिनियरिङपट्ट िछ । एमबीबीएसको भन्दा इन्जिनियरिङको पढाइ सस्तो पनि छ । सायद इञ्जिनियरिङ नै पढ्ला ।’

पढ्ने कलेजको छनोट नगरिसके पनि छोराले ३-४ वटा कलेज प्राथमिकतामा राखेको अधिकारीले बताए । ‘तीमध्ये जुनमा नाम निस्किन्छ, त्यहीँ पढ्छ,’ उनले भने ।
छोरालाई राम्रो कलेजमा भर्ना गराउनका लागि आफूले कुनै भनसुन नगर्ने अधिकारीको भनाइ छ । अधिकारीका दुई छोरा छन् । कान्छा छोरा भर्खर कक्षा २ मा पढ्छन् ।

फेसबुकमा बधाइ र कटाक्ष

अधिकारीले छोराको रिजल्टबारे अरुको सिको गर्दै फेसबुकमा पोष्ट गरेपछि १६ सय भन्दा बढीले कमेन्ट गरेका छन् । कमेन्ट बक्समा बधाइ मात्र छैन, विभिन्न सल्लाह, सुझाव र कटाक्षहरु पनि छन् ।

छविलाल सापकोटा लेख्छन्- ‘बधाइ छ बाबुलाई, तर अब छात्रवृत्तिका लागि भारतीय दुतावास नधाउनुहोला ।’

डुकहरी जीवनले लेखेका छन्- ‘खै नेता कामरेडहरुका छोरा त एसएलसी पास गरेर नेपालमै केही गर्छन् । बाँकी सर्वसाधारणका छोरालाई त चार कक्षादेखि अरबी भाषा पढाइदिए हुने थियो, किनकि खाडी मुलुकमा भाषाका कारणले नेपालीले पाउनु सास्ती पाउँछन् ।’

रुद्र तिम्सिनाले लेखेका छन्, ‘बधाइ … अनि अब तपाईंको छोरा विदेश पढ्न जाने भए है । नेतालाई नेपालको राजनीतिबाहेक अरु त यहाँको राम्रो लाग्दैन नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment