२९ बर्षीय फ्रान्सेली मिडफिल्डर दिमित्री पायेटलाई युरोकप सुरु हुनुअघि कमैले चिन्थे । फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले पनि उनलाई त्यति भाउ दिएका थिएनन्, जति एन्टोनियो गि्रजम्यान र पाउल पोग्बालाई दिएका थिए । तर, प्रतियोगिताको समूह चरणका दुई खेल सकिँदा उनै पायेट फ्रान्सेली टोलीबाट निक्कै चम्किएका छन् र उनैको एक्लो प्रदर्शनले टोलीका अन्य खेलाडीको कमजोर प्रदर्शन छायाँमा पारिदिएको छ ।
उनी फ्रान्सेली टोलीबाट दुबै खेलमा गोल गर्ने खेलाडी हुन् । उद्घाटन खेलको अन्तिम मिनेटमा उनैको गोलले फ्रान्स विजयी भएको थियो ।
दोस्रो खेलमा पनि अल्वानियाबिरुद्ध उनले दोस्रो गोल गरेका थिए । प्रतियोगिताको पहिलो साता प्लेमेकर पायेट निक्कै ‘लाईट’ मा आए ।
यो भन्दा अत्युक्ति हुँदैन कि पहिलो दुई खेलमा यी अण्डर डग स्ट्राइकरको उत्कृष्टताले अन्य फ्रान्सेली स्टारहरु निक्कै दबावमा परेका छन् । प्रतियोगिताको सुरुवाती दुई खेलमा गोल गरेपछि उनलाई फ्रान्सेली फुटबलका लागि ‘भगवानको बरदान’ मान्न थालिएको छ । उनी बिना कसरी फ्रानसेली टोली पूरा हुन सक्छ ? यस्तो भावना जाग्न थालेको छ । उनको उत्कृष्टताले फ्रान्सेली टोलीको कमजोरीलाई पूर्ण छायाँमा पारिदिएको छ ।
यस प्रतियोगितामा मुख्य खेलाडीको रुपमा पेश गरिएका गि्रजम्यान र पाउल पोग्बा दुवैले अल्वानिया बिरुद्धको खेल बेन्चबाट सुरु गरेका थिए । दोस्रो हाफमा सब्सिच्युड गरिएका गि्रजम्यानले सुरुवाती गोल गरेर आफुलाई केहि हदसम्म प्रमाणित गरे ।
तर, पोग्वाले पनि आफूलाई प्रमाणित गरे, पायेटको दोस्रो गोलको सेलिव्रेसनमा मिडिया सेन्टरतर्फ फर्केर ‘अस्लिल हाउभाउ’ गरेर ।
यो स्पष्ट हुन सकेको छैन कि उनको त्यस्तो हाउभाउको मतलव के थियो । उनको यस्तो हर्कतको समर्थकहरुले निक्कै आलोचना गरे र उनलाई टिमबाट ड्रप गर्नुपर्ने सुझावसमेत दिए ।
तर, खेलपछिको पत्रकार सम्मेलनमा भने पोग्वाले आफ्नो कुनै नराम्रो नियत नरहेको प्रष्ट पार्दै आफूले सँधै गर्ने नृत्यको एक पार्ट भएको प्रष्ट्याए । फ्रान्सेली प्रशिक्षक डेसच्याम्पले पनि उनको स्पष्टिकरणप्रति सन्तुष्टि जाहेर गर्दै भने, ‘म उनलाई बिश्वास गर्छु र उनको इमान्दारिताको सम्मान गर्छु ।’
पोग्बा आज आइतबार हुने स्वीट्जरल्याण्डबिरुद्ध उत्कृष्ट पुनरागमन गर्ने तयारीमा छन् । लगातार दुई पहेँलो कार्डको भयबाट मुक्त गर्न प्रशिक्षक डेसच्याम्पले आजको खेलमा कान्टे र जिरोर्डलाई आराम दिन सक्नेछन् ।
उनीहरुको स्थानमा योहान कावाये र आन्द्रे पियर्रेलाई टिममा ल्याइने सम्भावना छ । ‘हाम्रा खेलाडीहरु व्यक्तिगत रुपमा प्रतिस्पर्धी छन् र हाम्रो महत्वपूर्ण लक्ष्य भनेको समूहको विजेता बन्नु हो’ खेलअघिको पत्रकार सम्मेलनमा फ्रान्सेली कप्तान हृयुगो लोरिसले भने, ‘जुन टोलीबिरुद्ध खेलेपनि हाम्रा लागि कठीन हुनेछ, किनभने हामी प्रतियोगिताको दावेदार टोली हौं र हामीमाथि ठूलो आशा राखिएको छ ।’
जहाँ पोग्बा आफ्नो उत्कृष्ट लयको खोजीमा रहेका छन्, उनको स्थान पायेटले परिपुर्ती गरिरहेका छन् । जसले वेष्टहृयामबाट गत सिजनको लयलाई यस युरोमा निरन्तरता दिएका छन् ।
गत समरदेखि फ्रान्सेली टोलीमा नअटाएका वायेटलाई गत मार्चदेखि प्रशिक्षक डेसच्याम्पले सुरुवाती टोलीमा राखेका थिए । यद्यपी उनी बेन्चमा भने थिए । तर, फ्रान्सेली प्रशिक्षकले उनलाई मूख्य चुनौति सुम्पेका छन् र उनलाई दबावरहित रहेर खेल्न हौसला दिएका छन् ।
प्रशिक्षक डेसच्याम्पले भनेका छन् कि उनले गर्न नसक्ने केहि छैन । उनले थपे, ‘एक उद्धारकर्ताको रुपमा पायेटले जे गरिरहेका छन् त्यो हामीले सोचेकै थिएनौं ।’ प्रशिक्षकले भनेका छन् कि ‘खेलका क्रममा उनको व्यक्तिगत प्रदर्शन एट्याकिङ खेलाडीको रुपमा निक्कै फरक र मौलिक छ । गत सिजनमा गरेको उत्कृष्ट प्रदर्शनपछि उनको खेलस्तर सुधारिएको छ ।’
पत्रकार सम्मेलनमा डेसच्याम्पले पायेलको आत्मविश्वासी खेल, टेक्निकल क्षमता र दुवै खुट्टाको उत्तिकै प्रयोग अतुलनीय भएको बताए । भने, ‘शीर्ष स्तरका खेलाडीका लागि यस्तो क्षमता आवश्यक पर्छ, त्यो उनले पनि बुझेका छन् ।’
२९ बर्षको उमेरमा पनि उनको निरन्तरको लयका कारण लिलीका समर्थकहरुपनि आश्चर्यमा परेका छन्, जहाँ उनले दुई बर्ष बिताएका थिए । ‘मलाई एक पटक प्याटि्रक एभ्राले भनेका थिए कि तिम्रो खेलस्तर नयाँ लेभलमा पुर्याउनु छ भने इंग्ल्याण्डबाट खेल, र उनले राम्रो सल्लाह दिएका रहेछन्’, पायेटले भने, ‘त्यो विश्वकै उत्कृष्ट फुटबल लिग हो ।’
एनले भनेका छन्, ‘मलाई थाहा छ, म वेष्टहृयामको उत्कृष्ट खेलाडी हुँ, र यतिबेला म मेरा प्रशिक्षक र टिममेटलाई धन्यबाद दिन चाहन्छु किनकने करिअरको उत्कृष्ट फुटबल मैले यहीँबाट खेलेँ ।’ उनले थपे, ‘अव म आफुलाई म्याचुर्ड भएको मान्न सक्छु, र मेरो बिचारमा म साँचो छु, किनकि म आत्मविश्वासपूर्वक खेल्छु र जहिले पनि यो अत्यावस्यक हुन्छ ।’
अहिले इंग्लिस क्लव चेल्सी र स्पेनिस जायन्ट रियल मडि्रड उनीसँग सम्झौता गर्न लागिपरेका छन् । रियलले जेम्स रोडि्रगुइ्जको विकल्पको रुपमा पायेटलाई हेरिरहेको छ । जेम्सलाई रियलले दुई बर्षअघि विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा अनुबन्ध गरेको थियो ।
प्ायेटकै गोलका कारण फ्रान्सले युरोकपको अन्तिम १६ मा स्थान बनाइसकेको छ । आयोजक टोली हुनुका नाताले अव उसको लक्ष्य प्रतियोगिताको उपाधितर्फ छ । ‘दबाव निक्कै छ, तर हामी ठीक छौं’, पायेटले भने ‘हामी एउटा उत्कृष्ट टोली हौं र मुख्य कुरा हामी घरैमा खेलिरहेका छौं । हामीलाई दबाव पक्कै छ तर, समर्थकको जस्तै हाम्रो पनि लक्ष्य उपाधि मै हो ।’
प्रतिक्रिया 4