७ असार, काठमाडौं । सोमबार बिहान अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी आक्रमणमा परी १४ जनाको मृत्यु भयो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले १४ जना नै नेपाली नागरिक रहेको बताए । त्यसैका आधारमा नेपाली मिडियाले पनि १४ नेपालीको निधन भएको समाचार सम्प्रेषण गरे । अफगान सरकारले पनि १४ नेपाली नागरिकको मृत्यु भएको बताएको थियो ।
तर, सोमबार अपरान्ह नेपालको परराष्ट्र मन्त्रालयले औपचारिकरुपमा पत्रकार सम्मेलन आयोजना गरेर घटनामा १२ जना नेपालीको मृत्यु भएको बतायो ।
आखिर सो हमलामा मृत्यु भएका मध्ये थप दुईजना को थिए त ? सोमबार रातिमात्रै यसको रहस्य खुलेको छ । १२ नेपालीबाहेक अन्य दुई मृतकहरु भारतीय नागरिक रहेको क्यानेडिन दूताबासले स्पष्ट पारेको छ ।
अफगानिस्तानका लागि क्यानेडियाली राजदूत डेबोरा ए लियोन्सले सोमबार राति जारी गरेको विज्ञप्तिमा १२ नेपाली र दुई भारतीयको मृत्यु भएको जनाएका छन् । उनले ६ जना नेपालीसहित केही व्यक्तिहरु घाइते रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरेका छन् ।
भारतीय विदेश मन्त्रालयले समेत काबुलमा मारिएका दूई जना भारतीय नागरिक रहेको पुष्टि गरेको छ । मृत्यु हुने भारतीय नागरिकमध्ये एकजना नेपाली मूलका छन् । उनी देहरादूनका गणेश थापा हुन् । यस्तै अर्का मृतक देहरादूनकै गोविन्द सिंह रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार विहान घटनामा ज्यान गुमाएका नेपालीप्रति सामाजिक सञ्जाल ट्वीटर मार्फत श्रद्धाञ्जली दिएका थिए । त्यतिबेलासम्म भारतीय नागरिकको मृत्यु भएको खुलिसकेको थिएन ।
अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा सर्वे इन्टरनेसनल मार्फत सुरक्षा गार्डका रुपमा खटिएका नेपालीहरु मिनीबस चढेर बिहान ५ः४० मा काबुलतर्फ जाँदै गर्दा आतंकवादी आक्रमणको शिकार भएका थिए ।
काबुलमा आत्मघाती बम हमला भएको केही घन्टापछि सोमबार नै केसम जिल्लामा अर्को बम विस्फोट भएको थियो । जसमा १० अफगानी सर्वसाधारणको ज्यान गएको थियो ।
प्रतिक्रिया 4