+
+

काबुल आक्रमणमा ज्यान गुमाएकाको परिवारलाई १० लाख क्षतिपूर्ति

इच्छुक नेपाली फिर्ता ल्याउन विशेष व्यवस्था गरिने

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते १४:४८
Kabul attack, Nepalese Deadbody in Airport (3)
काबुल आक्रमणमा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली

९ असार, काठमाडौं । सरकारले अफगानिस्तानको काबुलमा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षागार्डको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने तयारी गरेको छ ।

क्षतिपूर्तिबारे वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत छिट्टै निर्णय लिइने श्रममन्त्री दीपक बोहोराले अनलाइनखबरलाई बताए । ‘हामीले विदेशमा ज्यान गमाएकाको शव जतिसक्दो छिटो नेपाल ल्याएर परिवारको जिम्मा लगायौं । क्षतिपूर्ति सकेसम्म पनि छिट्ट्टै दिलाउँछौं,’ मन्त्री बोहोराले भने ।

उनका अनुसार ५ लाख बिमा, कल्याणकारी कोषमार्फत ३ लाख र थप २ लाख गरेर १० लााख दिने तयारी छ ।

काबुल घटनामा ज्यान गुमाएका सबैका परिवारप्रति सरकार संदेशनशील रहेको भन्दै उनले घटनामा मारिएका कामदार अवैधानिक भएपनि बीमाबापतको १० लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ ।

यसका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले विशेष निर्णय गरेर मन्त्रिपरिषद्ले अनुमोदन गर्नु पर्नेहुन्छ । अहिलेको बीमा नियम र क्षतिपूर्ति दिने सम्बन्धी कार्यविधिले अवैधानिक रुपमा विदेश गएका नेपालीको मृत्यु भएमा पीडित परिवारलाई रकम उपलब्ध गराउने अधिकार बोर्डलाई दिएको छैन ।

काबुलमा ज्यान गुमाएका अंकुर तामाङ अवैधानिक रुपमा त्यहाँ पुगेको वैदेशिक रोजगार विभागले यसअघि नै जनाएको थियो । तर, मन्त्री बोहोराले अवैधानिक भनेर आतंकवादी आक्रमणमा परेका कामदारको परिवारलाई क्षतिपूर्ति रोक्न मानवीयताको हिसावले पनि नमिल्ने बताए ।

सोमबार काबुलमा भएको आतंकवादी आक्रमणमा १३ नेपालीको मृत्यु भएको छ । १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकको उपचारका क्रममा बुधबार निधन भएको छ ।

घटनामा घाइते भएका पाँच जनाको भारतमा र एकको अफगानिस्तानकै अस्पतालमा उपचार भइरहेको छ ।

फर्कन चाहनेलाई उद्धार गरिने

श्रममन्त्री बोहोराले अफगानिस्तानबाट फर्किन चाहनेहरुलाई उद्धारको व्यवस्था पनि गर्ने भएको छ । ‘त्यहाँ असुरक्षित महसुस गरेर फर्किन चाहानेका लागि विशेष व्यवस्था गरिनेछ,’ बोहोराले अनलाइनखबरसँग भने, ‘हामी छलफल गरिरहेका छौं । उद्धारको प्रतिक्षामा रहेकालाई छिट्टै फर्किने वातावरण बनाइने छ ।’

काबुलमा मारिएकाको शव लिन गएको चार्टर विमान मै बुधबार २४ नेपाली कामदार पनि स्वदेश फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?