१० असार, भैरहवा । उद्योग कलकारखानाले प्रदुषित भएको डण्डा नदीको संरक्षणका लागि भैरहवाबासीबाट अभियान सुरु भएको छ ।
भैरहवाको बेलहिया क्षेत्रमा रहेको डण्डा नदी बचाउन स्वास्थ्य शिक्षा अध्यापनमा क्रियाशील प्रतिमान निमा स्मृति प्रतिष्ठानले अभियान सञ्चालन गरेको छ ।
नेपालमा पैदलमार्ग हुँदै बेलहिया नाकाबाट आउने पर्यटकहरु प्रदुषित डण्डा नदीका कारण मुख छोपेर नेपाल भित्रन बाध्य छन् । अहिले उक्त नदी स्थानीयको फोहोर फाल्ने स्थान बनेको छ । नदीको सौन्दर्यता फोहोर र झाडीले ढाकिएको छ ।
‘डण्डा नदी बचाऔं’ अभियान अन्तर्गत शुक्रबार भैरहवामा आयोजित एक कार्यक्रममा अभियानका लागि सुदिप चन्द बोहरा र सुजताको बोहराले व्यक्तिगत ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उक्त रकम कार्यक्रमकी प्रमुख अतिथि सुजता बोहराले प्रतिष्ठानका प्रवन्ध निर्देशक धर्म केसीलाई हस्तान्तरण गरिन् ।
कार्यक्रममा संस्थाका संरक्षक डा. आलोक बोहराले उद्योग कलकारखानाले डण्डा नदीको अस्तित्व संकटमा परेको र भैरहवाको वातावरणमा नकारात्मक असर परेको बताए । उनले नदी संरक्षण अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रतिमान निमा स्मृति प्रतिष्ठानका प्रवन्धक निर्देशक धर्म केसीले प्राप्त आर्थिक सहयोगले गरिने खोज अनुसन्धानबाट आउने तथ्यांकलाई आधार मानेर डण्डा नदीलाई स्वच्छ, सफा र पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताए ।
उनले डण्डा नदी निकै प्रदुषित भएको कारण यस क्षेत्रबाट चराचुरुङ्गीहरु पनि विस्थापित भइरहेकोमा चिन्ता व्यक्त गर्दै डण्डा बचाऔँ अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए ।
२०६५ सालमा सञ्चालनमा आएको प्रतिमान निमा प्रतिष्ठानमा ल्याव टेक्निसियन र ल्याव असिस्टेन्टमा १ सय २० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
उक्त कार्यक्रम रमिता मगर केसीले सञ्चालन गरेकी थिइन् ।
प्रतिक्रिया 4