Comments Add Comment

हुनेखाने समेत गरिबको सूचीमा परेपछि ‘छानबिन’

१५ असार, खोटाङ। जिल्लामा यसअघि सङ्कलन गरिएका गरिब घरपरिवारको प्रारम्भिक तथ्याङ्कमाथि ‘छानबिन’ सुरु गरिएको छ ।

Baglung-Garibआर्थिक वर्ष २०६९ / ७० मा सङ्कलन गरिएको गरिब घरपरिवारको तथ्याङ्कमा समावेश हुनबाट छुटेका गरिब घरपरिवारलाई तथ्याङ्कमा समेट्न र मापदण्ड विपरीतका घरपरिवारलाई सूचीबाट हटाउन सुरु गरिएको हो ।

यसअघि पहिचान गरिएका गरिब घरपरिवारको तथ्याङ्कमा भएको त्रुटि सच्याउन जिल्लाको एक नगरपालिका र ७२ गाविसमा सार्वजनिक सूचना टाँस गरेर उजुरी आह्वान गरिएको छ ।

गरिब घरपरिवारको सूचीमा ‘पर्नुपर्ने परिवार’ छुटेका भए समेट्न र ‘नपर्नु पर्ने परिवार’ परेका भए सच्याउन पुनरावलोकन र छानबिन सुरु गरिएको जिल्ला विकास समितिअन्तर्गत गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिका सूचना प्रविधि अधिकृत प्रवीण पोखरेलले जानकारी दिए ।

गुनासो सुनुवाइका लागि जिविसमा समेत उजुरी दिन सकिने जनाइएको छ । प्राप्त उजुरीका आधारमा गुनासो सुनुवाइ गर्दै गरिब घरपरिवारको तथ्याङ्कलाई चुस्तदुरुस्त बनाइने अधिकृत पोखरेलले बताए ।

यसअघि सङ्कलन गर्ने क्रममा अधुरो रहेको गरिब घरको सूचनालाई समेत यस क्रममा ‘अपडेट’ गरिने जनाइएको छ । गरिब घर परिवारको तथ्याङ्कमा भएका कमीकमजोरीलाई आगामी असार २५ गतेसम्म पारदर्शी तरिकाले सच्याइने जनाइएको छ ।

जिल्लामा आठ हजार ६६४ गरिब घरपरिवारको पहिचान भएको छ । यस्तै, पाँच हजार ३४ परिवारको भने तथ्याङ्क अधुरो रहेकाले पुनः सच्याउनुपर्ने देखिएको छ । स्रोतका अनुसार शिक्षक, कर्मचारीलगायत हुनेखानेले समेत आफ्नो परिवारलाई गरिबको सूचीमा समावेश गरेको पाइएको छ ।

मापदण्डअनुसार पहिचान भएका गरिब घरपरिवारले सरकारबाट अति गरिब, गरिब र सिमान्त गरी तीन वर्गको परिचयपत्र प्राप्त गर्नेछन् ।

२०६९ साल वैशाख २८ गतेदेखि दिक्तेल–५ का प्यारीमायाँ सर्किनीको घरबाट गरिब घरपरिवार पहिचानका लागि विवरण सङ्कलनका काम थालेको सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिविसले जेठ २५ गतेसम्म तथ्याङ्क सङ्कलन गरेको थियो । यसका लागि तालिम प्राप्त ८० गणक तथा ११ जना सुपरीवेक्षक खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment