Comments Add Comment

रामवरण बाबा ! अहाँ के जनकपुर मे स्वागत अछि !

भूपू राष्ट्रपतिको बिजोग ! चंगा अन्ततः भूइँमा खस्यो !

Rambaran-Yadavभूपू राष्ट्रपति श्री रामवरण यादवज्युको जीवनी बड़ो रोमाञ्चक एवं गंभीर प्रकारको छ । कोइराला परिवारको निजी डाक्टरबाट शुरु भएको उनको राजनीतिक यात्रा राष्ट्रपतिसम्म पुगेर अब उत्कर्षमा पुगेको छ ।

माओवादी जनयुद्ध, जनआन्दोलन र मधेस विद्रोहको उत्कर्ष पश्चात अनाहकमै कसैले कल्पनासम्म नगरेको राजनीतिक उलटफेरबीच देशको सर्वोच्च पदमा पुग्दासम्म उनले नेपाली कांग्रेसमा कोइराला परिवारको वफादारकै रुपमा आफ्नो परिचय बनाएका थिए ।

एकातिर हिन्दी भाषा सपथ प्रकरणमा भूपू उप-राष्ट्रपतिलाई घोक्राएर नेपाली भाषामा सपथ खुवाउन लगाइँदा उनी मैथिली भाषाको सम्मेलनमा पनि पागको साटो ढाकाटोपीमै सजिएर आउने गर्थे । मधेसी एवंम् जनजातिसँगको भेटमा आफु ‘सम्पूर्ण नेपालकै राष्ट्रपति हो’ भन्न नछुटाउने उनमा आलंकारिक रुपमा ‘मसँग कुनै निश्चित समुदायको मागबारे केही बोल्ने अपेक्षा नगर है’ भन्ने भान सजिलै हुन्थ्यो ।

आफ्नो बोली, व्यवहार र कर्मले कुनैबेला स्थायी संरचनाका प्रिय बनेका उनीसँग यति धेरै अधिकार थियो कि सेनापति कटवाल प्रकरणमा जनयुद्धको रापताप बोकेको र देशकै सबभन्दा शक्तिशाली नेता कार्यकारी प्रधानमंत्री हुँदा गरेको निर्णयसम्म पल्टाउन सक्षम भए उनी। निश्चितरूपमै उनको जीवनको भनौं वा राष्ट्रपति कार्यकालको त्यो उत्कर्ष समय थियो।

परिवर्तनको सिद्धान्त अनुसार समय परिवर्तन हुने नै भयो, उपयोगिताको सिद्धान्त अनुसार उपयोगिता परिवर्तन हुने नै भयो। भगवान विष्णुको अवतार नभएका कारणले भूपू राष्ट्रपति अपवाद बन्न सकेनन् र अन्ततः यी दुईटै सिद्धान्त उनीमाथि पनि लागु भयो।

कटवाल काण्डका बेला राष्ट्रपतिलाई उनको अपार शक्ति आभाष गराइदिने प्रभावशाली समूह मध्येका एक प्रभावशाली नेताले संसदको रोस्टमबाटै राष्ट्रपतिको मानमर्दन गरिरहँदा सभासदहरुले टेबल ठोकेको दृश्य देखेपछि उनलाई आफ्नो शक्तिहीनताको आभाष पक्कै भएको हुनुपर्छ।

Manoj saha
मनोज साह

पहिलो संविधानताका शेर, दोस्रो संविधानसभापछि भिजेको बिरालोमा परिणत भएका रामवरणको नियति बडो अत्यासलाग्दो छ । ‘सहमति बिनाको संविधानमा म हस्ताक्षर गर्दिँन है’ भनी पटक-पटक घुर्की लाउने गरेका उनले दोस्रो संविधानसभा पश्चात ‘दलहरुलाई मिल्न आग्रह’ गरिरहे । घुर्की लाउने बेलामा राष्ट्रवादी कहलिएका उनी आग्रह गर्दा चाहिँ कहिले सुर्इ घोच्ने ‘डागडर’ त कहिले पदलोलुप त कहिले शंकास्पद ठहरिए ।

दौरा सुरुवाल लगाएर शीतलनिवास छिरेका रामवरण बाहिर निस्किँदै गर्दा हुन त दौरासुरुवालमै थिए । तर, सुरुवालभित्र लुकेको धोती स्पष्ट देखिन सकिन्थ्यो ।

संविधान घोषणा हुनुपूर्व असन्तुष्ट पक्षलाई समेट्नका लागि केही दिन पर्खन आग्रह गर्दा उनीमाथि संवैधानिक जिम्मेवारीबाट पन्छिने शंका-उपशंका गरियो। ती सबै शंका-उपशंकालाई चिर्दै उनी झन एक कदम अगाडि बढे। र, मधेसमा तेत्तीस जनाको स्मसान बल्दै गर्दा, झिलिमिली संविधानसभा भवनमा देशको एक भागले अस्वीकार गरेको संविधानलाई ललाटमा टाँसेर बडो पीडासहितको हर्षमा संविधान घोषणा गरे।

गर्नुपर्थ्यो, अलंकारिक राष्ट्रपतिका रुपमा उनी सार्वभौम संविधानको बहुमतीय निर्णय मानेर आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्न बाध्य थिए। जस्तोसुकै अवस्थामा त्यो जिम्मेवारीबाट पन्छिन मिल्दैनथ्यो। र, पन्छिन सक्ने उनको लियाकत पनि थिएन। तर, काठमाडौँमा हर्षोल्लासका साथ दिपावली मनाइँदै गर्दा उनको पुर्ख्यौली घरमा मैनबत्ती पनि नबालिएको अवस्थामा उनी संविधान ढोग्न किन बाध्य भए ? त्यो बुझ्न अझैसम्म बाकीँ छ। अन्तिम अवस्थासम्म पनि आफ्नो समर्पण देखाउने अवसर खेर जान नदिने उनको मजबुरी बुझिनसक्नु छ।

भूपू बनेपश्चात गैरआवासी नेपालीहरुको सम्मेलन उदघाटनमा मन्तव्य व्यक्त गर्दै उनले भने—‘धोती, टोपी, लंगौटी, लुंगी, बख्खु, कछाड सबै हामी नेपाली छौं । तपाईहरुलाई याद छ, मैले ७ वर्ष पहिले कूर्ता पाइजामा, बण्डी र गम्छी र टोपी लगाएर मैले देशभरि घुमें । हामी नेपाली मधेसी र पहाडी भाइभाइ छौं । राष्ट्रियताको कुरामा वीपी कोइरालाको नीति थियो कि धोती, टोपी, लंगौटी, लुंगी, बख्खु, कछाड सबै हामी नेपाली छौं । मैले सम्पूर्ण हिमाल राष्ट्रिय पोशाक लगाएर, दौरा सुरुवाल लगाएर मैले देशलाई जोड्ने काम गरेको छु । भोलि पनि मेरो यही काम हुन्छ’ ।

त्यस्तै राष्ट्रपतिकी सुपुत्री अनिता यादवले केही दिन अगाडि आफ्नो फेसबुकको पर्खालमा लेखिन्  -“म मेरो बुबाप्रति गर्व गर्छु, वहाँले टोपी र धोती कहिल्यै छोड्नुभएन चाहे देशमा होस् या विदेशमा ।

भूपू राष्ट्रपतिको यो सिद्धान्तमा कतिको खोट छ, त्यो आठ वर्षसम्म देशको सर्वोच्च पदमा आसीन हुदाँ पनि बुझ्न नसक्नु एकदम विडम्बनापूर्ण छ ।

कुनै इतिहास नभएको, कुनै अस्तित्व नभएको धोती र टोपी मिश्रित वस्त्र जोकरको जस्तो प्रतीत हुन्छ । यो देशमा विभिन्न जातजातिका आ-आफ्नो भेषभुषा र पहिरन छ । आफ्नै गौरवमय इतिहास छ । एउटा निश्चित जाति, जसको राज्यसत्तामा हालीमुहाली रहँदै आएको छ । जो शासक थिए/छन, उनीहरुको पहिचान बोकेको पहिरन बाँकी पहिरन भन्दा विशेष हुने ! र, राष्ट्रको पहिचान झल्काउने कुन तर्कले जायज छ !

टोपीको सहारामा धोतीको स्वीकार्यता खोज्नु आफैसँग धोखा गर्नु हो । समभाव बिना सदभावको सेतु निर्माण गर्न खोज्नु बगिरहेको नदीमा कागजको नाउमा तैरिनु सरह हो

सेतु त्यतिबेला निर्माण हुन्छ, जतिबेला धोती, कुर्ता र गम्छाको सम्मानपूर्वक स्वीकार्यतामाथि हुन्छ। र,  दौरा सुरुवाल टोपीको तल ।  सह-अस्तित्व स्वीकारेर, एकअर्काको इतिहास र पहिचानलाई सम्मान गरेर हुन्छ । यो ध्रुवीकरण जहाँ टोपी मात्रको अस्तित्व स्वीकारिँदैन । धोती मात्रको स्वीकारिँदैन । त्यहाँ शीरमा टोपी र कम्मरमा धोतीको फर्मूला नांगो भएका बेला लाज छोप्नलाई आफ्नै आँखा बन्द गर्नु सरह छ ।

दौरा सुरुवाल र ढाकाटोपी त हाम्र लागि शासकको पहिरन हो । हामीले पूर्ण रुपमा नभए पनि स्वीकारेकै छौं । राष्ट्रिय पोशाक भएका कारणले जानेको र चिनेको पहिरन नै हो । महत्वपूर्ण प्रश्न राष्ट्रिय पोशाक बाहेकको पोशाकको स्वीकार्यता हो । टोपीको सहारामा धोतीको स्वीकार्यता खोज्नु आफैसँग धोखा गर्नु हो । समभाव बिना सदभावको सेतु निर्माण गर्न खोज्नु बगिरहेको नदीमा कागजको नाउमा तैरिनु सरह हो ।

सदभाव र समभाव एकअर्का बिना अपूर्ण हुन्छन् । समभावविनाको सदभाव सुगन्धबिनाको प्लास्टिकको फूलसरह हुन्छ। हेर्नमा राम्रो, तर प्राणविहीन । दबिएको र दबदबा कायम राखेको वीचको समभावबिनाको सदभाव त्यतिबेलासम्म मात्र सम्भव छ, जतिबेला सम्म दबिएकोमा प्रयाप्त मात्रामा शक्ति सञ्चय हुँदैन ।

दबाबको एउटा निश्चित बिन्दु पश्चात विष्फोट हुनु त विज्ञानको नियम हो । दबिएको दबेरै रहेको बेला चुइसम्म नगर्नेहरु विष्फोटपश्चात सद्भावको गीत गाउन थाल्नु अस्वाभाविक हैन । किनकि, आफ्नो दबदबामा संकट आइपरेको आभास हुँदा त्यो स्वाभाविक नै हो । प्रतिगामीहरु सदभाव भनेकै शासितले शासकको आज्ञा बिना प्रश्न निसंकोच भएर मान्नु हो ।

प्रतिक्रियावादीहरुको लागि सदभाव मात्र भए पुग्छ । कायम रहेको सदभावमाथि प्रश्न चिन्हखडा गर्ने समभाव उनीहरुको शब्द कोषमा अटाउदैनन ।

कुनै पनि व्यवस्था संस्थागत हुनलाई नजीरको सबैभन्दा बढी महत्व हुन्छ । भर्खरै अगाडि सर्न लागेको गणतन्त्रलाई अहिले स्थापित हुँदै गएका नजीरहरुले नै दिशानिर्देश गर्नेछ । बिरालोलाई काँचो दूधको निगरानी गर्न छोडेसरह अहिले गणतन्त्र संस्थागत गर्ने जिम्मेवारी यसका विरोधी एवंम् भित्री मनले अहिलेसम्म गणतन्त्र स्वीकार गर्न नसकेको हातहरुमा छ ।

भूतपूर्वहरुलाई संस्थागतरूपमा अकूत सुविधा वितरण हुँदै गर्दा, गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको आवास लगायत अन्य सुविधालाई लिएर भएको विवाद होस् वा गणतन्त्र दिवसको दिन ‘व्यास्थापकीय कमजोरी’को कारणले उप-राष्ट्रपतिका लागि बस्ने व्यवस्था नमिलाइएको होस् । हामीले सबै टिपोट गरेर राखेका छौं । उनी अन्तिम भूपू हैनन् । उनीपछि पनि कोही भूपू हुनेछन् । भविष्यको भूपूसँग कस्तो व्यवहार गरिन्छ त्यो हामी हेर्छौ । र, अहिलेको नजिर पक्कै सम्झाइदिनेछौं ।

मधेसमा एउटा भनाइ छ- ‘गुड्डी आकाशमे, धागा हमर साथमे’- मतलब चंगा जति माथि गगन चुमे पनि चंगाको अस्तित्व तल भुइँमा हुन्छ । धागो चुँडिएपछि हावाको वेग जति तेज भए पनि धेरैबेरसम्म चंगा उडिरहन सक्दैन ।

आफ्नो आधार छोडेर स्थायी सत्ताको बेगमा उड्न खोजेका भूपू राष्ट्रपति रामवरण आज नभए भोलि भुइँमा लड्नु निश्चित प्राय: थियो ।

राज्यको व्यवहारबाट आजित भएर रामवरण जनकपुर बस्ने विचार गर्दैछन् रे !  अहिलेलाई यति मात्र भन्न चाहन्छु “बाबा अहाँ के जनकपुर मे स्वागत अछि ।”

अनन्त भक्ति पश्चात पनि सम्भवत: एउटा निश्चित समुदायको भएकै कारणले सर्व-स्वीकार्यता नपाउनु र अपमानित महसुस गर्नु परेपछि उनलाई जिन्दगीभरको तपस्या खेर गएको अनुभूति पक्कै भएको हुनुपर्छ ।

विभेदकारी राज्यले गर्ने व्यवहार उनलाई पनि नछुटाई गरिएकोमा आम सीमान्तिकृत जनतालाई त पक्कै आश्चर्य लाग्दैन । आशा गरौं उनले जीवनको उतरार्धमा यो सत्य बुझेको हुनुपर्छ । कार्यकालको अन्त्यतिर भूपू राष्ट्रपतिले सबैलाई मिलाएर लैजाने गर्नुभएको असफल प्रयासको सराहना गर्नैपर्छ । भन्नले त “ उनी आफै राजनीति गर्न सक्ने अवस्था नरहेकोमा छोराका लागि आधार तयार गर्नका निम्ति त्यस्तो प्रयास गरेका हुन्, आखिर भोट दिने जनता त मधेसी नै हो” भन्छन् । तर, देशको सर्वोच्च पदमा यतिका दिनसम्म आसीन एक व्यक्तिले यस्तो सोचेर राष्ट्रहितको कुरा गरेका होलान् भनी अनुमान लगाउनु उनको र राष्ट्रपति पदको अपमानसरह हुनेछ ।

विजयकुमार दाइको एउटा कुरा सम्झिँदै छु-“नेपाल आधुनिक अर्थको ‘देश’ त अझै बनिसकेकै छैन, बन्दै छ। मुलुक ‘देश’ मा पूर्णत: रूपान्तरित भइसकेको छैन” भन्नाले रूपान्तरित हुने ‘ट्रांजिट’ चरणमा छ । यस हिसाबले रामवरणज्यु नेपाल देशको नभएर नेपाल मुलुकको प्रथम राष्ट्रपति हुँदै बाहिरिए ।

उहाँको पुरानो विचार, सिद्धान्त वा विगतमा प्रथम मधेस आन्दोलनताका कुरा सम्झेर उनीमाथि सहानुभूति राख्ने थोरै होलान् । तर, उनी मुलुकका लागि भूपू राष्ट्रपति भए पनि, हाम्रा लागि त पहिले हाम्रा हजुरबुवा हुनुहुन्छ । उहाँको सम्मानमा हामी कुनै कसर बाँकी राख्ने छैनौं ।

राज्यको व्यवहारबाट आजित भएर रामवरण जनकपुर बस्ने विचार गर्दैछन् रे !  अहिलेलाई यति मात्र भन्न चाहन्छु “बाबा अहाँ के जनकपुर मे स्वागत अछि ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment