Comments Add Comment

भेरी प्रहरीको अपरेसनमा विप्लव र सिके राउतका कार्यकर्ता पक्राउ

श्रृङ्खलावद्ध अपहरणकाण्डका नाइके पनि फन्दामा

Bheri-Zonal-Police-Banke२३ असार, काठमाडौं । अञ्चल प्रहरी कार्यालय भेरीले आफ्ना मातहतका जिल्लाहरुमा आपराधिक क्रियाकलाप रोक्न विशेष अपरेसन चलाइरहेको छ । तीन महिनादेखि जारी अपरेसनका क्रममा विप्लव माओवादीका कार्यकर्तादेखि सिके राउतका समर्थकहरुसम्म निशानामा परेका छन् ।

केही समयअघि सिके राउतको समूहका केन्द्रीय प्रवक्ता अब्दुल खान, बाँके-बर्दियाका इन्चार्ज इरफान शेषसहित १५ जना समर्थकहरु पक्राउ परे । बाँकेको महेन्द्र पार्कभित्र भेला भएर शंकास्पद गतिविधि गरिरहेको अवस्थामा पक्राउ परेका कार्यकर्ताहरुको साथबाट माइन्युटिङ रजिष्टर १ थान, पर्चा २ सय ८५ थान र घोषणापत्र १ थान बरामद भएको भेरी अञ्चलका एसएसपी धिरु बस्न्यातले जानकारी दिए ।

त्यस्तै गत जेठ २० गते राती करिब १ बजे बाँकेको चम्पालाल बोथराको घरमा राखिएको डोजरमा आगो लगाएको आरोपमा बिप्लव माओवादीका कार्यकर्ताहरु अंकित भट्टराई, भरत रावल र चक्र बिसी पनि पक्राउ परेका छन् ।

Dhiru-Basnet-Final
एसएसपी धिरू बस्न्यात

गत जेठ ३० गते बाँकेकै शम्सेरगञ्जमा रहेको एनसेलको टावरमा आगो लगाएको आरोपमा बिप्लव समूहका विद्यार्थी नेता कर्णबहादुर शाहीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेर कार्बाही अगाडि बढाएको छ ।

११३ जना महिला तथा बालबालिकाको उद्धार

खुल्ला सिमानाकोे दुरुपयोग गर्दै भारत लैजान लागिएका २४ जना महिला र ८९ जना बालवालिकाको उद्धार गरिएको अञ्चल प्रहरी कार्यालय भेरीले जनाएको छ ।

बालकहरुलाई घरेलु कामदारको रुपमा प्रयोग गर्न तथा कतिपय बालिकाहरुलाई यौन धन्दामा प्रयोग गर्न समेत लैजान आँटिएको थाहा भएपछि प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको एसएसपी बस्न्यात बताउँछन् ।

उनले भने, ‘खुल्ला सीमानाकाको दुरुपयोग गरेर महिला तथा बालबालिकाको ओसारपसार गर्ने गिरोह सक्रिय भैरहेका छन् र त्यसलाई निस्तेज पार्न भेरी अञ्चल प्रहरीले कारबाही चलाइरहेको छ ।’

खतरनाक अपहरणकारी पक्राउ

नेपालगञ्जका ३२ वर्षिय रिजवान साइ स्थानीयवासीका लागि आतंकको पर्याय र प्रहरीका लागि टाउको दुखाइको पात्र बनिरहेका थिए । उनलाई गत चैत १३ गते प्रहरीले पक्राउ गर्‍यो ।

संगठितरुपमै आपराधिक समूह चलाएर बसेका रिजवानलाई प्रहरीले कुख्यात अपहरणकारीको सूचीमा राखेर खोजी गरिरहेको थियो । ०६७ सालदेखि नेपालगञ्जमा लगातार अपहरणकाण्ड मच्चाएपछि रिजवान प्रहरीको खोजीमा परेका हुन् ।

२०६७ साल असोज १४ गते साँझ करिब ६ बजे नेपालगञ्जमा एकसाथ दुई बालक अपहरणमा परेका थिए । बैतडी बाराकोट घर भई नेपालगञ्जमा अध्ययन गरिरहेका १६ वर्षीय लिलाधर भट्ट र बाँके भट्टटिोलका १६ वर्षीय कपिल द्विवेदीको एकसाथ अपहरण भएको थियो ।

Rijwan Sai, Kidnapper
रिजवान साइ

अपहरणकारीले बालकका परिवारहरुसँग ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए तर समयमा फिरौती नपाएको भन्दै उनीहरुले बालकको हत्या गरिदिए । सो अपहरणकाण्डका नाइके थिए उनै रिजवान ।

त्यसको २ वर्षपछि ०६९ साल असार २९ गते मन्नु भन्ने आमिर अन्सारीको अपहरण र २०७० सालको वैशाख ३० गते महेन्द्र शाहीको अपहरणका मुख्य अभियुक्त रिजवान भारतमा बस्दै आएका थिए ।

भेरी अञ्चलका एसएसपी बस्न्यातका अनुसार रिजवान निकै खतरनाक अपहरणकारी हुन् । उनी पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ ।

‘विशेषगरी तराईमा क्रियाशिल सशस्त्र समूहसँग उनको साँठगाँठ रहेको थियो र त्यसैको आडमा अपहरण गरेर आतंक मच्चाउने गर्थे,’ एसएसपी बस्न्यातले भने, ‘उनी पक्राउ परेपछि यस क्षत्रको शान्तिसुरक्षामा सुधार आउने हाम्रो आशा छ ।’

रिजवानसँगै विभिन्न अपराधमा मुछिएका ३६ जना फरार अभियुक्त पछिल्लो तीन महिनामा पक्राउ परेको उनले जानकारी दिए ।

‘कुनै पनि अपराधका फरार अभियुक्तहरु अब उम्किन पाउँदैनन्,’ एसएसपी बस्न्यातले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment