+
+
Shares

गोप्चे हिमतालको आकार बढ्यो, फुट्नसक्ने चेतावनी

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ असार २५ गते १८:५७

Krishna-KC

२५ असार, पोखरा । कास्कीको पार्चे गाविसको सिरानमा रहेको गोप्चे (क्हपुचे) हिमतालको आकार बढ्दै गएको छ । अन्नपूर्ण हिमाल र लमजुङ हिमालको काख र मादी नदीमाथि रहेको हिमताल समुद्री सतहदेखि सवै भन्दा कम २ हजार ४ सय ३५ मिटर उचाईमा छ ।

कास्कीका दुई संस्थाले हिमतालको आकार बढ्दै गएको र फुट्ने सम्भावना बढ्दै गएको दाबी गरेका छन् । पृथ्वीनारायण क्याम्पस पोखराको भुगोल विभाग र जिओनेट कनेक्सन प्रालीले दुई महिनाको अध्ययन पश्चात हिमतालको अवस्थाबारे जानकारी गराएको हुन् ।

अन्नपुर्ण दोश्रो र लमजुङ हिमालको फेदमा पर्ने गोप्चे हिमताल १६ वर्ष अगाडि उत्पति भएको हो । हिमताल करिब २ सय १० रोपनीमा फैलिएको अध्ययन टोलीका सदस्य भूगोलविद् प्रा.डा. कृष्ण केसीले बताए ।

उनका अनुसार हिमतालमा १८ लाख क्यूसेक पानी रहेको अनुमान गरिएको छ । शुरुमा ४२-४५ रोपनीमा रहेको हिमताल हाल आएर हृवात्तै बढेको टोलीको निश्कर्ष छ ।

तालको आकार बढ्दै गएसँगै फुट्ने सम्भावना पनि बढ्दै गएको टोलीको भनाइ छ । केसीले भने, ‘तत्कालै फुटिहाल्नै सम्भावना त छैन, तर यसरी नै बढ्दै गएमा भने कुनपनि बेला फुट्न सक्छ ।’

हिमताल फुटेको खण्डमा हिम सुनामी आउने र त्यसले हिमताल मुनी पर्ने गाउँहरु जोखिममा पर्ने अध्ययन टोलीले जनाएको छ ।

टोलीका अनुसार गोप्चे हिमताल फुटेमा क्हपुचेे, हुँगु, चत्क्यु, सिक्लेस हाइृड्रोपावर, सवि, मुङलेवेसी, करापुटार, पिप्ले, सिसाघा हुँदै दमौलीसम्मको क्षेत्रमा वसोवास गरेका मानव वस्तीदेखि मादी नदी किनारका २ सय मिटरसम्मका घर तथा गोठलाई क्षती पुग्नसक्छ ।

प्रा.डा.केसीले गोप्चे तालसँगै कास्कीमा तालसंख्या १० पुगेको बताए । उनले गोप्चे ताल फेवाताल पछिको सबैभन्दा राम्रो र सम्भावना बोकेको ताल भएको बताउँदै यसको सदुपयोग गर्नुपर्ने धारणा राखे । उनले भने, ‘संसारकै सबैभन्दा होंचो भूभागमा रहेको यो ताल पर्यटनको लागि उर्वर भूमि हो, सुन्दर र मनमोहक त छ नै, शहरबाट पनि नजिक छ । अनि सिक्लेश सँगको बाटोले पनि छोएको हुँदा आवतजावतमा पनि सहज हुन्छ ।’

तालको बढ्दो आकार, मादीको वहाव, त्यसको गति, ड्यामको स्थिति, मानिसहरुको बसाई, भौतिक पूर्वाधारको अवस्था लगायतको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको अध्ययन टोलीका प्रमुख पृथ्वीनारायण क्याम्पस भुगोल विभागका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

उनले जोखिमबाट बच्न तालको सन्तुलन मिलाई राख्नुपर्ने, पूर्व सतर्कताका लागि साइरन जडान गर्नुपर्ने र जोखिमयुक्त क्षेत्रमा बस्ती बसाल्न नदिने लगायतका कार्य गर्नुपर्ने सुझाव दिए ।

अध्ययन टोलीमा पृथ्बीनारायण क्याम्पसको भूगोल विभाग प्रमुख विष्णुप्रसाद अधिकारी, जिओनेट कनेक्सन प्रालिका खगेन्द्र पौडेल लगायत ८ जना सदस्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?