Comments Add Comment

भानुभक्त कस्ता कवि हुन् ? ‘आदिकवि’ वा ‘अप्रगतिशील’ ?

Bhanubhakta-Acharya

२९ असार, काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्ती आज देश-विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रामायणको सरल नेपाली अनुवादलाई भानुभक्तको मुख्य योगदान मानिन्छ ।

रामायणले नेपालीहरूलाई भाषामार्फत जोडेको भन्दै उनलाई त्यसैको आधारमा राष्ट्रवादको हिरो बनाइएकोमा कतिपय आलोचकहरूले कडा टिप्पणी गरेका छन् ।

भानुभक्तका अन्य रचनाहरू केलाउँदा पनि उनको चिन्तन तत्कालीन समाजभन्दा निकै पछाडि रहेको औंल्याउनेहरू पनि छन् ।

भानुभक्तलाई दिइएको आदिकविको उपाधि कति उचित भन्नेबारे विवाद कायम छ । भानुभक्तको योगदान, आदिकवि उपाधि, उनका रचनामा भएको प्रगतिशीलताबारे बेलाबेला कोठे गोष्ठी हुँदै आए पनि पर्याप्त मात्रामा खुला बहस हुन सकेको छैन । यसै क्रममा नेपाली भाषा-साहित्यमा भानुभक्तको स्थानबारे दुई फरक विचार हामीले प्रस्तुत गरेका छौं ।

भानुभक्त बलिया कवि हुन्
– विष्णुविभु घिमिरे, कवि एवं उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान

भानुभक्त बलशाली कवि हुन् भन्ने उनले अनुवाद गरेको रामायणबाट प्रस्ट हुन्छ । नेपाली साहित्यको सग्लो र मौलिक रूप नदेखिएको बेलामा भानुभक्तीय रामायण आयो ।

हुन त भानुभक्तभन्दा अगाडि पनि नेपाली भाषामा लेख्ने कविहरू थिए । तर, उनले जत्ति नेपाली भाषाको मौलिक स्वरूप ल्याउन सकेका थिएनन् । उनीहरूको साहित्यमा प्रशस्त मात्रामा हिन्दी र संस्कृत शब्द पाइन्छ । नेपाली भाषा भए पनि त्यसलाई पूरा छुट्याउन सकिने अवस्था थिएन । भानुभक्तको भाषा चाहिँ त्यति बेलाको गाउँघरमा बोलिने शैली र स्वभावअनुसारको थियो ।

Bishnubivu-Ghimire
विष्णुविभु घिमिरे

सबैलाई हुने रामायण जस्तो गहकिलो कृति भानुभक्तले दिए । निरक्षरहरूले सुनेर आनन्द लिन सक्छन्, बौद्धिक वर्ग पनि भाका हालेर रमाउन सक्छ । हुन त वाल्मीकी रामायणको अनुवाद हो यो । तर, भानुभक्तले सोझो अनुवाद नगरी आफ्नो मौलिकतामा ढालेर नयाँ सिर्जना जत्तिकै स्वाद भरेका छन् । सबै जातजातिलाई त्यो बेलादेखि अहिलेसम्म भानुभक्तीय रामायण प्रिय नै छ जस्तो मलाई लाग्छ । जबर्जस्ती कसैले कसैलाई पढाएको त हैन । दुई सय वर्षअघि त्यो कोटिको कृति लेखिनु चानचुने कुरा हैन ।

भानुभक्तलाई किन आज दार्जीलिङ, सिक्किम, बर्माले यति इज्जत गर्छन् ? जहाँ-जहाँ नेपालीहरू जान्छन्, त्यहाँ किन लिएर गइराखेका छन् ? त्यसको आधार रामायणसहित उनका रचनाहरूको शक्ति नै हो ।

कुनै राजनीतिक र धार्मिक दबाबले त्यसमा काम गरेको छ जस्तो लाग्दैन । भानुभक्तले रामायणमार्फत नेपालीहरूलाई भाषामार्फत जोडे भन्नेमा पनि केही आधार छ । सुगौली सन्धिपछि नेपालीहरू सिमानाका कारण यता र उता परेका थिए । यो पीडा रहिरहेको बेला भानुभक्तीय रामायण आउँदा जातीय रूपमा नेपालीहरूले आफ्नोपन भेटे ।

विगतका शासकहरूले भानुभक्तलाई मात्रै उठाए, सँगैका अरु कविलाई बेवास्ता गरे भन्ने कुरा होला । अरु मातृभाषाका कवि हुँदाहुँदै नेपाली भाषाका सर्जकलाई मात्रै जोड दिए भन्ने पनि होला ।

तर, ०४६ सालपछि राजनीतिक र सामाजिक खुलापन आइसक्दा पनि अरु राम्रा सर्जक थिए भने त अहिलेसम्म देखिनुपर्थ्यो नि ! अध्ययन र खोजबिन गर्न कसैले छेकेको त छैन ।

लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा जस्ता लेखकहरूले पनि भानुभक्तलाई किन माने त ? उनीहरू त पढेका र बुझेका विद्वान् थिए । तर, भानुभक्तलाई कम आँकेर त गएनन् । अहिले पनि भानुभक्तको रामायण एकातिर र अरु सम्पूर्ण कविताकृति अर्कोतिर राखिदिने हो भने पनि रामायणले नै तल खिच्छ । भानुभक्तको योगदानलाई वस्तुगत रुपले नभई भावनात्मक रूपमा बढी हेरियो कि भन्ने कुरा पनि हुन सक्ला ।

तर, वस्तुगत रूपले नै हेर्दा पनि त्यो बेलामा लेखिएको रामायण जत्तिको कृति हामीले अर्को पाउन सकेका छैनौं । साझा प्रकाशनबाट प्रकाशित कृतिहरूमा पनि सबैभन्दा बढी भानुभक्तकै रामायण बिक्री हुँदै आएको छ । त्यो तथ्यले नै देखाउँछ ।

भानुभक्त नेपाली भाषाका आदिकवि हुन् कि हैनन् भन्ने पनि विवाद छ । आदिकवि भनेको आरम्भको कवि भए पनि भानुभक्त अगाडि पनि सुवानन्ददास, इन्दिरस, विद्यारण्य केशरी, रघुनाथ पोखर्‍याल लगायत नेपालीमा लेख्ने कवि थिए । रामायण खोजेर जब मोतीराम भट्टले छपाए, त्यसपछि भाषाको निक्खर र मौलिक रूप त्यसमा मात्र पाइयो । यही देखेर मोतीरामले नै पहिलो चोटि हाम्रो आदिकवि यही हुन सक्छ भनेर उनलाई लाग्यो होला । उनी बनारसमा पढेकोले भारतीय साहित्यको अध्ययन गरिरहँदा हाम्रो नेपाली साहित्यमा पनि यस्तो भइदिए हुन्थ्यो भन्ने भावना जागेको हुनुपर्छ । त्यति बेला भानुभक्तलाई पाउँदा मोतीराम ज्यादै गदगद भए । ठूलो कवि पाएको र त्यसले देशकै गौरव बढेको भावनाले उनले भानुभक्तलाई आदिकवि भनिदिए । समय क्रममा त्यसले व्यापकता पायो ।

भानुभक्तको सालिक विभिन्न ठाउँमा राखिएको छ । नेपाली भाषाको विम्बका रुपमा सालिक राखिएको मान्छु म । यसलाई देवत्वकरण गरियो भन्ने हो भने सालिक स्थापना गर्ने काम भाषाको अध्ययन र सोचविचार नगरी त पक्कै गरिएन । पहिलेका मान्छे पनि विद्वान् थिए ।

धार्मिक गुरु र नेताहरूलाई जस्तो देवत्वकरण गर्ने कुरा त साहित्यमा हुँदैन । किनभने साहित्यले प्रमाण खोज्छ र प्रमाण साहित्यकारको रचनाशक्तिमा निर्भर हुन्छ । बिना आधार जबर्जस्ती देवत्वकरण गरिएको रैछ भने एउटा समयमा त्यो हराएर जान्छ । तर, जन्मिएको दुई वर्ष नाघिसक्दा पनि भानुभक्तको प्रभाव त उस्तै छ । भानुभक्तको साहित्य पढ्ने मान्छेले यो त खत्तम कवि रैछ, यस्तो कविको पनि के सालिक राखेको भनेको आजसम्म सुनिएको छैन । भोलि भानुभक्तकै समयको उनीभन्दा राम्रो कवि खोजी गरेर ल्याइयो भने उनी विस्थापित हुन सक्लान् । तर, अहिलेसम्मको सत्य भानुभक्त नै हो ।

भानुभक्तमा समय र समकालीन चेत छ । रामायणमा पनि गहन तरिकाले खोज्यो भने त्यतिखेरको समय भेटिन्छ । १९१९ मा लिखित ‘बधूशिक्षा’ बाट नारीहरूलाई होच्याउने, अनुशासनको नाममा पुरुषप्रधान समाजको चंगुलमा राख्ने भनेर भानुभक्तलाई अलि आलोचनात्मक रूपमा हेरिन्छ । तर, हामीले सकारात्मक पक्षबाट सोच्ने हो भने भानुभक्तको युगमा समाज जस्तो थियो, कविले त्यही लेख्यो भन्न पनि त सकिन्छ । त्यो त नारीको अवस्था अध्ययन गर्ने एउटा इतिहास हो ।

दुई सय वर्षअघि नारीको अवस्थाबारे भानुभक्तले बधूशिक्षामा लेखेका छन् भनेर अध्ययनको विषयवस्तु हुन सक्छ । समाजको परम्परालाई चुनौती दिएर ‘नारी उठ, जाग’ भन्दै उनले लेखेनन् । आजको समयबाट हेर्दा त्यति बेलाको लेखाइमा धेरै कुरा अपुग हुनु स्वाभाविकै हो । उनले आजको समाजको लागि नभई त्यतिखेरकै समाजको लागि लेखे । पुराना कृतिमा खोट देखाइरहँदा भानुभक्तले आजका दिनमा ब्यूँतिएर सच्याउने पनि हैन ।

आजको कुरा पहिलेको कविले लेखेन भनेर हामीले कविलाई नै बिर्सने कुरा आउँदैन । त्यो कवि त अब इतिहास भइसक्यो । इतिहासभित्रको साहित्यिक स्रोतका रूपमा हेरिनुपर्छ कवि र उसका सिर्जनालाई । मुलुकलाई थोरतिनो सेवा गर्ने पुर्खाहरूप्रति हामी आभारी र सकारात्मक हुनुपर्छ । भानुभक्तलाई पुनर्मूल्यांकन गरिनुपर्छ भनेर कुरा उठाउनेहरूले आफ्नो घरमा कसैले भानुभक्तीय रामायण पढ्दै गरेको देख्दा त विश्वस्त पार्न सक्नुभएको छैन, बाहिर के पार्न सक्नुहोला ? पुराना कुरा भनेर ध्वंश गर्न सजिलो छ, तर निर्माण गर्न गाह्रो ।

भानु अप्रगतिशील कवि हुन्
– निनु चापागाईं, मार्क्सवादी समालोचक

भानुभक्त (वि.संं. १८७१-१९२५) मूलतः शासक वर्गको संस्कृतिलाई समर्थन गर्ने कवि हुन् । त्यतिखेरको संस्कृतिको मूल रूप शासक वर्गीय र सामन्ती संस्कृति नै हो । अहिले पनि शासकवर्गले जे भन्छन्, अधिकांशले त्यही मान्ने हुन् । त्यतिबेला शासक वर्गकै चिन्तन अनुकूल भानुभक्त अगाडि बढेका थिए । उनी आफ्नो समयको सामाजिक चिन्तनभन्दा पछि परेका कवि हुन् ।

Ninu-Chapagain
निनु चापागाईं

समाजमा धेरै पहिलेदेखि रहेको बुद्ध दर्शनलाई भानुभक्तसहित त्यस बेलाका धेरै कविले समात्न सकेनन् । बुद्ध दर्शन शासक वर्गको संस्कृति र चिन्तनसँग लडेको दर्शन हो । त्यसको छाप नेपाली समाजमा धेरै छ । तर, भानुभक्त त्यसभन्दा टाढै रहे । त्यति बेला जातपात र सामाजिक विभेदको विरुद्धमा वैष्णवहरू अरुभन्दा अगाडि थिए । सबै चिन्तनसँग परिचित नभएर हो या मन नपरेर हो, भानुभक्तलेे त्यसतर्फ सोचेनन् ।

अर्कोतिर, भानुभक्तकै समयमा जोसमनी सन्त परम्परा पनि थियो, जसले जाति प्रथा, छुवाछुत र कर्मकाण्डको विरोध गर्‍यो । जोसमनी सन्त परम्पराको उदय पृथ्वीनारायण शाहभन्दा केही पहिले नै भएको थियो । तर, यसको विकास भने पृथ्वीनारायणको राज्य विस्तारपछि मात्र भएको देखिन्छ ।

जोसमनी मतको प्रचार गर्ने प्रारम्भका प्रभावशाली व्यक्तित्वमा पृथ्वीनारायणका समकालीन सन्त शशिधर (वि. सं. १८०४-१९०६) देखिन्छन्, जो भानुभक्तभन्दा अगाडिका हुन् । शशिधरले ब्राह्मणवाद, कर्मकाण्ड, छुवाछुत, जातिभेद र आडम्बरको कडा आलोचना गरेका छन् । सतिप्रथा नहटाउँदै शशिधरले हटाउनुपर्छ भन्ने दृष्टिकोण अघि सारिसक्दा भानुभक्त भने अझै पनि सतिप्रथाको समर्थक देखिए ।

हुन त जोसमनीका सन्तहरू पूरै प्रगतिशील थिएनन् । उनीहरू ईश्वर मान्थे । यति हुँदाहुँदै पनि तिनले जातीय विभेद र छुवाछुतको विरोध गरे । त्यतिखेरको समाजलाई हेर्ने हो भने सन्तहरू प्रगतिशील थिए । भानुभक्तकै समकालीन सन्त ज्ञान दिलदास (वि. सं. १८७८-१९४०) ले आफ्नो कृति ‘उदय लहरी’ (१९३४ साल) मा नेपालमा किसानहरू कामधन्दा गर्छन्, तर खान नपाएर उनीहरू नै मर्छन् भनेर प्रगतिशील चेतले लेखेका छन् ।

ज्ञान दिलदाससँग तुलना गर्दा भानुभक्तको पछौटेपन अझ प्रस्ट हुन्छ । दिलदास भानुभक्त जस्तो तत्कालीन व्यवस्थाका समर्थक, कर्मकाण्डी, ब्राह्मणवादको पक्षधर, जातिभेदका रक्षक र लिंगभेदको पक्षपोषक थिएनन् । उनी ब्राह्मण भए पनि कर्मकाण्डका विरोधी भएकाले ब्राह्मणहरू रुष्ट थिए । उदय लहरीमा समाजका अनेकौं कुरीतिको चर्चा गर्दै तिनको आलोचना गरिएको छ ।

सन्त कविहरूले समाजका निम्न वर्गलाई जागरुक बनाउन प्रयास गरे । नेपाली जनता र समाजको हितमा विचार प्रवाहित गरे । तर, भानुभक्त त्यसको ठीक विपरीतमा छन् । साहित्यलाई हामी समाजको चित्र भन्छौं । भानुभक्त नेपाली राजनीतिको ठूला घटना कोतपर्व, भण्डारखाल पर्व भएपछिका र राणाहरूको एकछत्र राज्य व्यवस्था भएको बेलाका मान्छे हुन् । तर, उनी त्यसबारेमा केही पनि बोल्दैनन् । बरु उनी ‘अलकापुरी कान्तिपुरी नगरी’ कविता लेख्दै यहाँ केही पनि समस्या छैन, स्वर्ग छ भनेर बखान गर्छन् । यसमा पनि उनी गलत छन् ।

भानुभक्तले जनताको हितका निम्ति भन्दै रामायणमा लोकको गरौं हित भनी भनेका छन् । वास्तवमा लोकको हित गर्ने हो भने पहिलो कुरो त भानुभक्तकै खण्डन गरेर सुरुवात गर्नुपर्छ भनेर गोविन्द भट्टले विचार राख्नुभएको छ । किनभने भानुभक्तका रचनाले लोकको अहित गर्ने संस्कृतिको पक्षमा वकालत गर्छ । स्वर्ग-नर्क, रामराज्यको कुरा गर्ने उनी बधूशिक्षामा नारीहरूलाई हाँस्नु हुन्न भनेर बन्देज लगाउँछन् ।

रामायणको अनुवाद गर्ने पहिलो व्यक्ति पनि नेपाली साहित्यमा भानुभक्त हैनन् । उनीभन्दा पहिले रघुनाथ पोखर्‍याल (वि. सं. १८६८) ले गरेका थिए । त्यसैले भानुभक्तको अतिरञ्जनापूर्ण प्रशंसाको औचित्य देखिँदैन । यद्यपि भानुभक्तमा सानोतिनो सकारात्मक कुरा नपाइने हैन । भानुभक्तले नेपाली साहित्यको सेवा गरेका छन् । उनले रामायणको अनुवाद गरेर नेपाली भाषाको समृद्धि र विकासमा ठूलो योगदान गरेका छन् । हामीले मान्ने यत्ति हो । उनलाई साहित्यमा निषेध गर्ने कुरा पनि हैन ।

भानुभक्तमा केही प्रगतिशीलता पाइन्छ । उनमा केही राष्ट्रियताको पक्ष पनि छ । प्रशासनको ढिलासुस्तीको विरोध गरे । त्यो पनि उनको आफ्नो स्वार्थ जोडिएका कारण आफूसम्बन्धी कुरा गरेका हुन् भन्ने मलाई लाग्छ । उनी अरुका विषयमा बोल्दैनन् । जेलमा भएको नराम्रो अवस्थाको केही उद्घाटन गरेका छन् । त्यो भन्दा बाहेक भानुभक्तलाई अर्को तरिकाले धेरै मूल्यांकन गरेर धेरै बढाइचढाइँ गर्नुपर्छ भन्ने पक्षमा म छुइनँ । भानुभक्तले जे गरे, ठीक गरे भनेर शासक वर्गको संस्कृतिलाई ग्रहण गरी अन्ध राष्ट्रवादको पिछलग्गु हुने हो भने अर्कै कुरा हो । हैन भने पुर्खा र अग्रजको नकारात्मक पक्षमा पनि प्रश्न गर्नुपर्छ । पुनर्मूल्यांकन भनेको निरन्तर चलिरहने प्रक्रिया हो । विषालु चिज पचाउन सकिन्न ।

जुद्ध शमशेरले रामराज्यको प्रचार गर्ने भानुभक्तलाई आदिकवि मानिदिए हुन्छ भनिदिए । त्यसरी आदिकविको सुरुवात भएको हो । त्यतिखेरैदेखि भानुलाई मान्नुपर्छ र मान्नु हुन्न भन्नेहरू छन्

भानुभक्त आदिकवि हुन् कि हैनन् भन्नेमा पनि अहिलेसम्म बहस चलेकै छ । राणाहरूले आदिकवि भनिदिएकाले सबैले भन्दै आए । पहिले लेखेकामध्ये सबभन्दा राम्रो लेखेको हुनाले आदिकवि मानियो भनेर तर्क गरिन्छ । त्यो त कुनै तर्क भएन । अहिलेसम्म लेखिएको आधारमा सुवानन्ददासलाई आदिकवि मान्न सकिन्छ भन्ने कुरा पनि छ । भानुभक्तभन्दा एक सय वर्षअघिका कवि हुन् उनी । तर, नेपाली भाषा-साहित्यको पुख्र्यौली अहिलेसम्म राम्रोसँग खोजीनीति नभइसकेको अवस्थामा आदिकवि यो हुन् भनेर पगरी गुथाउनु नै गलत हुन्छ । खोजीनीति गरे यो भन्दा अर्को छैन भन्ने निष्कर्षमा पुग्नु जरुरी छ ।

नेपाली साहित्यको इतिहासमा दार्जिलिङले आदिकवि भनाउन धेरै ठूलो भूमिका खेलेको छ । नेपाल बाहिर दार्जिलिङ, देहरादुन, भाक्सो लगायत ठाउँमा बस्ने मान्छेहरूको समस्या के छ भने उनीहरू नेपाली भएर बाँच्नुपर्ने हुन्छ । त्यही भएर उनीहरूले हामी यस्ता हौं भन्दै नेपाली पहिचानको कुरा गर्न जरुरी छ । खासगरी दार्जिलिङ क्षेत्रमा त्यति बेला सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान नेपाली भाषाको निम्ति लडिरहेका थिए । उनीहरूले दार्जिलिङबाट भानु स्मारक ग्रन्थ निकाल्न खोजे । त्यसका निम्ति राणा प्रधानमन्त्री जुद्ध शमशेरलाई निवेदन लेख्दै भानुभक्तलाई आदिकविको पगरी दिए धेरै ठूलो कुरा हुन्थ्यो भन्ने कुरा राखे ।

जुद्ध शमशेरले रामराज्यको प्रचार गर्ने भानुभक्तलाई आदिकवि मानिदिए हुन्छ भनिदिए । त्यसरी आदिकविको सुरुवात भएको हो । त्यतिखेरैदेखि भानुलाई मान्नुपर्छ र मान्नु हुन्न भन्नेहरू छन् ।

भानुभक्तलाई आदिकवि मान्ने दृष्टिकोणको बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, वासुदेव त्रिपाठी, बालकृष्ण पोखरेल, आनन्ददेव भट्ट, ताना शर्मा लगायत साहित्यकारहरुले खण्डन गरिसकेका छन् । र, पनि मानिसहरूले आदिकवि मानिरहेका छन् ।

हामीकहाँ के सही र के गलत भनेर छुट्याउने सोच छैन । साहित्य क्षेत्रका अहिलेकै व्यक्तित्वहरूले तथ्य बाहिरका कुरा फैलाउँदा मानिसहरूमा गलत मान्यता कायम छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment