Comments Add Comment

यी हुन् लुम्बिनीमा खुल्न लागेका दर्जन तारे होटल

तीन वर्षभित्र चारवटा पाँचतारे होटल

Hotel-Pawan-Palace,-Five-Star,-Lumbini
होटल पवन प्यालेस

३१ असार, काठमाडौं । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा एक दर्जन नयाँ तारे होटल सञ्चालनमा आउँदैछन् । विश्वभरका पर्यटकको आकर्षण बन्न थालेपछि लुम्बिनीमा तारे होटल खोल्ने होडबाजी चल्न थालेको हो ।

लुम्बिनी र भैरहवामा तीन वर्षभित्र चारवटा पाँचतारे होटलहरु सञ्चालनमा आउँदैछन् । अहिलेसम्म पाँचतारे होटल सञ्चालनमा छैनन् । तर, पर्यटकस्तरीय सुविधा सम्पन्न होटलको संख्या एक दर्जनको हाराहारीमा छ ।

बौद्ध धर्मको उद्गमस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै होटलमा लगानीकर्ताको आकर्षण देखिएको हो । सन् २०१८ देखि भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने छ । विमानस्थल सञ्चालनमा आएपछि विश्वका करीव सवा अर्ब बौद्ध धर्मालम्बीका लागि लुम्बिनी आवागमन सहज हुनेछ ।

Hotel-red-sun
होटल बोधि रेडसन

अहिले भैरहवामा बोधि रेडसन र नान्स, कोटिहवामा टाइगर प्यालेस र लुम्बिनी नजिकै पवन प्यालेस गरी चारवटा पाँचतारे होटल निर्माण भइरहेका छन् । भैरहवाको बालापुरमा सञ्चालित बोधी रेडसन होटललाई स्तरोन्नती गरी पाँचतारे बनाउन लागिएको हो । बोधी रेडसनको स्तरोन्नती गर्ने काम भइरहेको छ ।

बोधि रेडसनमा अहिले ६४ रुमहरु रहेका छन् । स्तरोन्नती भएपछि होटलमा १०६ वटा रुमहरु पुग्ने बताइएको छ । अहिले होटलमा नयाँ बिल्डिङ बनाउने काम भइरहेको छ । आगामी पर्यटकीय सिजनसम्म निर्माण सम्पन्न गरेर पाँचतारेमा सूचीकृत गराई होटल सञ्चालनमा ल्याइसक्ने व्यवस्थापन पक्षले जनाएको छ ।

Hotel-Pawan-Palace,-Five-Star,-Lumbini-1
होटल पवन प्यालेस

चारवटा निर्माणाधिन पाँचतारे होटलमध्ये तीनवटा नयाँ बन्न लागेका हुन् । भैरहवामा पवनको पेडाबाट प्रख्याती कमाएका पवनकुमार हलुवाईले लुम्बिनीको पर्साचोक नजिकै पाँचतारे पवन प्यालेस बनाइरहेका छन् । करीव १ अर्ब ३५ करोड लगानी हुने यो होटलमा सुविधा सम्पन्न १४७ रुमहरु हुनेछन् । यो होटल सन् २०१७ को अक्टोबरसम्म सञ्चालनमा ल्याइसक्ने हलुवाईले बताए ।

भैरहवामा तीनतारे होटल सञ्चालन गरिरहेका सिपी श्रेष्ठले नेपाल–भारत सिमाना बेलहियामा पाँचतारे होटल ‘नान्स टु’ बनाइरहेका छन् । करीव ७० करोड लगानीमा बनिरहेको यो होटल सन् २०१७ को सेप्टेम्बरसम्म सञ्चालनमा ल्याइसक्ने बताइएको छ ।

Hotel Nans
होटल नान्स २

रुपन्देहीको कोटिहवामा हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले तीन अर्ब लगानीमा पाँचतारे लक्जरी होटल निर्माण गरिरहेको छ । करीव १५ विगाहा क्षेत्रफलमा फैलिने रिसोर्टको नाम ‘टाइगर प्यालेस’ राखिएको छ । रिसोर्टमा चार सय रुमहरु रहने सिल्भर हेरिटेजका नेपाल प्रमुख राजेन्द्र बजगाईंले बताए ।

पहिलो चरणमा सयवटा रुमहरु बनाउने र दुई वर्षभित्र रिसोर्टमा तीन सय रुमहरु थप्ने योजना रहेको बजगाईंले बताए । रिसोर्टका कोठाहरु डिलक्स, सुपर डिलक्स र स्वीट गरी ३ प्रकृतिका हुनेछन् ।

Tiger-Palace-Reshort-Lumbin
टाइगर प्यालेस रिसोर्ट

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बुद्धिष्ट पर्यटकको ओइरो लाग्ने अनुमान गरिएको छ । त्यसो त पछिल्लो सयम भैरहवा मुलुककै औद्योगिक व्यवसायिक शहका रुपमा विकास भइरहेको छ । छिट्टै भैरहवा मुलुककै नमुना शहर बन्दैछ । अहिले बनिरहेका होटलहरुमा पनि बुद्धिष्ट पर्यटकलाई लक्षित गरिएको छ । त्यसो त यो क्षेत्रमा अन्य पर्यटकको आगामन पनि बढ्ने निश्चित छ ।

यतिबेला ठूला व्यवसायिक घरानाको आकर्षण लुम्बिनीमा देखिएको छ । होटलमा लगानी गर्नेहरुले लुम्बिनीलाई पहिलो रोजाई बनाउन थालेका छन् । स्वदेश विदेशमा लक्जरी होटल सञ्चालन गरिरहेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले लुम्बिनीमा होटल खोल्न जग्गा खोजिरहेका छन् ।

राजधानीमा सञ्चालित पाँचतारे होटल सोल्टीले पनि लुम्बिनीमा चारतारे होटल खोल्ने घोषणा गरिसकेको छ । अहिले सोल्टी होटलले नेपालगञ्जमा चारतारे होटल निर्माण गरिरहेको छ ।

BhairwaAirport (4)
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको स्केच

पाँचतारे सांग्रिला होटललको पनि लुम्बिनीमा लक्जरी होटल खोल्ने योजना छ । त्यस्तै, काठमाडौंको लक्जरी बुटिक होटल द्धारिकाजले पनि लुम्बिनीको ८ नम्बर गेट अगाडि होटल खोल्नका लागि जग्गा लिइसकेको स्थानिय होटल व्यवासीले जानकारी दिए ।

पोखरा र चीतवनमा ल्यान्डमार्क होटल तथा रिसोर्ट सञ्चालन गरिरहेका सिएन पाण्डेले पनि लुम्बिनीमा होटल खोल्नका लागि जग्गा लिइसकेका छन् । उनले लुम्बिनीमा स्तरीय होटल खोल्न लागेको हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले लुम्बिनीमा पाँचतारे रिसोर्ट खोल्ने घोषणा गरिसकेका छन् । त्यस्तै, भैरहवामा लक्जरी होटल सञ्चालन गरिरहेका स्थानिय राम थापाले लुम्बिनी क्षेत्रमा पाँचतारे होटल निर्माण गर्दैछन् ।

Bhairahawa 6 Lane Sadak (3)
भैरहवा शहर

राजधानीको चर्चित होटल तिब्बत काठमाडौंले लुम्बिनीको पर्सा चोक नजिकै पाँचतारे होटल निर्माण गर्न लागेको बताइएको छ । पाँचतारे होटल बनाउन होटल तिब्बतले पाँच विगाहा जग्गा लिइसकेको छ ।

एशियन फर्मास्यूटिकल्स कम्पनीले भैरहवाको बर्मेली टोलमा चारतारे होटल बनाउँदै छ । यो समूह औषधि उद्योग लगायतमा रहेको लगानी विविधिकरण गरी होटल क्षेत्रमा आउन लागेको हो ।

Lumbini (17)
लुम्बिनी मायादेवी मन्दिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment