१ साउन, बागलुङ । जिल्लाको भकुण्डे–२ का युवा मनोज थापाले बाख्रापालनलाई व्यावसायिक बनाएका छन् । थापाको ‘फार्म’मा अहिले १५ वटा बाख्रा छन् । अघिल्लो वर्षसम्म थापाकोमा एक÷दुई बाख्रा मात्र हुने गर्थे । विदेश जाने सपना त्यागेर थापाले कृषि र पशुपालनलाई पेसाको रुपमा अँगालेका छन् । “बाख्रापालनलाई मुख्य पेसाका रुपमा अघि बढाउने सोचमा छु, एक वर्षभित्र ५०÷६० वटा बाख्रा पर्याउने लक्ष्य छ” थापाले भने ।
छ महिनाको अवधिमा बाख्रा बेचेर ५५ हजार आम्दानी गरेको उनको भनाइ छ । ६÷७ महिनाको बोका १२ देखि १५ हजारसम्ममा बिक्री हुने गरेको छ । “बाख्रा बिक्रीको लागि कुनै समस्या छैन, घरबाटै बिक्री हुन्छ” थापाले भने “बाख्रापालनमा राम्रो आम्दानी छ ।” थापाले स्थानीय जातको बाख्रा पाल्दै अाएका छन् । बाख्रापालनमा कुनै ठूलो लगानी नगरी पहिले भएका बाख्राबाट सङ्ख्या बढाउँदै लगेको थापाले बताए । बाख्रापालनको लागि व्यवस्थित ‘फार्म’ बनाउने तयारीमा थापा छन् ।
पाँच वर्षअघिदेखि कुखुरापालन, सुँगुरपालन र तरकारी खेती सुरु गरेका थापा पछिल्लो समय बाख्रापालनतिर आकर्षित भएका हुन्। एक्लो प्रयासमा थापाले सुरु गरेको व्यावसायिक पशुपालन र कृषि गाउँमै नमुना बनेको छ । थापाले भने, “विदेशमा जति कमाउने पैसा मैले घरमै बसेर कमाउन सफल भएको छु ।”
थापाको अहिले सम्पूर्ण खर्च कटाएर मासिक आम्दानी ४० हजारभन्दा बढी छ । उनको कुखुरा फार्ममा अहिले ब्रोइलर, कोइलर र स्थानीय गेरर करिब एक हजार २०० जति कुखुरा रहेका छन् । त्यस्तै स्थानीय जातका सुँगुर छ वटा छन् । थापाले सुँगुर र कुखुरा पालनको लागि स्थानीय विद्यालयको जग्गामा भाडामा लिएका छन्। तरकारी खेतीको लागि पनि व्यक्तिको जग्गा ५० हजारमा भाडामा लिएको थापाले जानकारी दिए।
करिब पाँच रोपनी क्षेत्रफलमा आलुखेती पनि गरेको थापाले जानकारी दिए । वार्षिक ५० देखि ७० मुरीसम्म आलु फल्ने गरेको उनको भनाइ छ । व्यावसायिक कृषि पेसा सञ्चालनको लागि थापाले साना किसान सहकारी संस्थाबाट दुई लाख र सिवाइसी बचत तथा ऋण सहकारीबाट रु एक लाख ऋण लिएका छन्। बहुसरोकारवाला वन कार्यक्रमले पनि थापालाई आर्थिक सहायता दिएको छ ।
प्रतिक्रिया 4