२ साउन, काठमाडौं । सरकारका एक जना मन्त्रीले संसद् विघटन हुन सक्ने चेतावनी दिएका छन् ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले संविधानको धारा २ सय ९८ ले नयाँ सरकार गठनको कल्पना नै नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्र वहुमतको आडमा नयाँ सरकार गठनको प्रक्रियामा गए प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्न सक्ने बताए ।
रिपोर्टस क्लबले गरेको साक्षात्कारमा उद्योगमन्त्री पाण्डेलेसंसद् विघटनका बारे प्रधानमन्त्री ओलीले अहिले नै केही नसोचेको तर संविधानको आफू अनुकुल व्याख्या गर्ने क्रम नरोकिए नसोचेको स्थिति निम्तिने सम्भावनालाई नकार्न नसकिने बताए ।
कार्यक्रममा माओवादी नेता वर्षमान पुनले संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नरहेको दाबी गरे । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने हल्ला चलेका कारण माओवादी केन्द्रले राजनीतिकरुपले सतर्क भइ अविश्वासको प्रस्तावमाथि छलफल भएपछि मात्र बजेट पारित गर्न सहयोग गर्ने निर्णय लिएको उनाले बताए ।
माओवादी केन्द्रका नेता पुनले अल्पमतमा परेका प्रधानमन्त्री ओलीलाई सचेत युवाका नाममा कार्यकर्तालाई सडकमा उतारेर माओवादी केन्द्रमाथि दलालको आरोप लगाउन नसुहाउने टिप्पणी गरे ।
उनले सरकारमा रहेर साथ दिँदा देशभक्त हुने अनि सरकारबाट वाहिरिंदा दलाल हुने परिभाषा कहाँबाट आयो ? भनेर प्रश्न गरे । नेता पुनले हिम्मत भए अविश्वासको प्रस्तावविरुद्ध वहुमत जुटाएर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौति दिएका छन् ।
प्रतिक्रिया 4