
३ साउन, ताप्लेजुङ । शनिवार विहानको वर्षापछिको पहिरोले ताप्लेजुङको तापेथोकमा अलपत्र परेकाहरुको उद्धार गरिएको छ ।
तापेथोक प्रहरी चौकिका असई प्रदिप राईको नेतृत्वमा गएको प्रहरी र लेलेप र तापेथोकबाट गएका स्थानीयबासिको सकृयतामा लामाटार, जौवारी र हेक्कुलेमा रहेका ७ परिवार मध्ये चार परिवारलाई हिजो साँझ सोत्लिमाको सुरक्षित स्थानमा सारिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।
तीन परिवार शनिवार दिउसो सरिसकेको उनले बताए । पहिरोमा हराएकी भनिएकी चन्द्रमाया राई भेटिएपनि मनिता राईको अवस्था भने अज्ञात रहेको पाण्डेले बताए ।
बाढीले त्यो क्षेत्रमा धेरैवटा पहिरो गएकोे र कञ्चनजंघाको आधार शिविर घुन्साजाने बाटो समेत अवरुद्ध बनाएको स्थानीयले बताएका छन् । तर खाद्यान्न लगायतको समस्या नरहेको प्रशासनले जनाएको छ ।